युरोकप : पोर्चुगल र फ्रान्स क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

बर्लिन । पोर्चुगल र फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । मंगलबार बिहान सम्पन्न खेलमा स्लोभेनियालाई हराउँदै पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । यस्तै, अर्को खेलमा फ्रान्सले बेल्जियमलाई १-० ले हराएर क्वाटरफाइनलमा पुगेको हो ।

गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३-० ले विजयी भयो ।

निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डो पेनाल्टीमा गोल गर्न चुक्नुभएको थियो । रोनाल्डोको प्रहारलाई विपक्षी कप्तान यान ओब्लाकले विफल पार्नुभएको थियो । त्यसपछि स्लोभेनियाका बेन्जामिन सेस्कोले स्लोभेनियालाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाल्नुभयो । टाइब्रेकरमा स्लोभेनियाका जोसिप इलिचिचको पहिलो प्रहार डिओगो कोस्टाले विफल पार्नुभयो । पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

यस्तै, डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा आत्मघाती गोलको मद्दतमा १-० को जित दर्ता गर्दै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो । खेलको एकमात्र गोल ८५औँ मिनेटमा आत्मघाती गोलका रूपमा आएको थियो । रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेण्डर यान भर्टङ्गनलाई लागेर गोलमा परिणत भएको थियो । सोही गोलको मद्दतले फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

दुई दावेदार टोलीबीच आँकलन गरेभन्दा केही फितलो प्रदर्शन प्रस्तुत भएको थियो । दुवै टोलीले मौका सिर्जना गर्न संघर्ष गर्नुपरेको थियो । फ्रान्सबाहेक अहिलेसम्म क्वाटरफाइनलमा पुग्ने टोलीहरू जर्मनी, स्पेन, स्विटजरल्याण्ड र इंग्ल्याण्ड रहेका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *