काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित (टिआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्य दलले छलफल सुरु गरेको छ । बुधबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयमा प्रारम्भिक छलफल भएको हो ।
विधेयकमा रहेको मानव अधिकारको गम्भीर उल्लंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्याधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा घटी मागदाबी लिएर जानेलगायत चार विषयमा सहमतिको प्रयास खोजिएको कार्यदल सदस्य प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । छलफलका क्रममा केही सकारात्मक संकेत देखिएको र थप छलफल गरिने उहाँको भनाइ छ । त्यस्तै, कार्यदल सदस्य रमेश लेखक र जनार्दन शर्माले पनि सकारात्मक छलफल भएको भन्दै केही दिनमा टुंगो लगाउने बताउनुभयो ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन आइतबार तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले विधेयकमा चार विषयमा सहमति गर्न विभिन्न सुझावहरू दिने बताइएको छ । प्रमुख तीन दलको सो विधेयकमा देखिएको विवाद समाधान गर्नका लागि एमाले बर्तौला, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदल गठन भएपछि पहिलोपटक बैठक बसेको हो ।
सहमति हुन नसकेका चार बुँदा
समझदारीमा पुग्न नसकेको बुँदाको पहिलो नम्बरमा मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक गरिएको हत्या-दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषय छ । यस्तै, दोस्रोमा सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषय रहेको छ ।
तेस्रोमा उपसमितिले बुझाएको प्रतिवेदनमा मानव अधिकारको उल्लंघनको घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने विषय पनि मिलेको छैन । चौथो नमिलेको विषय भनेको घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था वा प्रतिशत नै तोकेर जाने भन्ने विषयमा कुरा मिलेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच