✍️ सोमराज पोखरेल
नेपाली राजनीतिमा त्याग विरलै हुन्छ । शक्तिमा पुग्ने अवसर आउँदा त त्याग भन्ने शब्द नेतामा छैन कि जस्तो लाग्छ । तर, नेताको परिचय यत्तिले पुग्दैन । कारण हो राजनीतिले समाजसेवा सिकाउँछ र त्यही समाजसेवा गर्ने उद्देश्यले जो राजनीतिमा होमियो उसले कहिल्यै स्वार्थीपन देखाउँदैन । राजनीति बुझेकाले त्याग र कर्ममा जोड दिन्छ । ठ्याक्कै त्यही चरित्रका राजनीतिज्ञ हुन् नन्दप्रसाद शिवाकोटी । २००७ सालमा नेपालमा प्रजातन्त्र ल्याउने क्रममा सक्रिय सहभागिता जनाएका शिवाकोटीले २०१४ सालको भद्र अवज्ञामा अगुवाको भूमिका निर्वाह गरे । उनी २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सांसदको उम्मेदवारका दाबेदार थिए । उनी सांसद बन्न छाडेर राजनीतिक अभिभावक बन्दै स्कुल चलाउनतिर लागे ।
त्यसभित्रको रहस्य भने गहिरो छ । किनकि उनले शिक्षाको महत्व बुझेका थिए । दूरदृष्टि राखेका थिए । ‘तिमी सय वर्षको लागि सोच्छौ भने शिक्षा देऊ’ भन्ने भनाइलाई चरितार्थ गर्न उनी राजनीतिको व्यक्तिगत स्वार्थलाई कम तर शिक्षाको स्वार्थलाई बढी प्राथमिकता दिएर अघि बढे । राणा प्रधानमन्त्री पद्म शमशेरले आफ्नो कार्यकालमा करिब आधा दर्जन विद्यालयको स्थापना गरे । तीन वर्षको उनको प्रधानमन्त्रीकालमा स्थापना भएका सबैजसो विद्यालयहरू अहिलेसम्म पनि उनकै नाममा चलिरहेका छन् । करिब ७५ वर्षअघि प्रधानमन्त्रीको हैसियतमा गरेको यही कामले उनलाई समाज सुधारकको परिचय दिलाएको छ ।
प्रधानमन्त्रीजस्तो व्यक्तिले काठमाडौंको सुगम ठाउँमा स्कुल खोल्ने पहल लिँदा यस्तो परिचय पाएको त्यो अवस्थाले प्रष्ट्याउँछ, त्यतिबेला विद्यालयको महत्व कति थियो भनेर । यस्तो अवस्थामा ग्रामीण दूरदराजमा सबैका लागि शिक्षाको कुरा कल्पनाभन्दा पनि बाहिर थियो । तर, स्वप्नद्रष्टाले सपना देख्छन्, कर्मयोगीले त्यसलाई यथार्थमा परिणत गर्छन् । जब एउटै व्यक्ति स्वप्नदष्टा र कर्मयोगी हुन्छन्, त्यहाँको सपना यथार्थ बन्छ । त्यस्तै स्वप्नद्रष्टामध्येका एक व्यक्ति थिए दोलखा क्षमावतीका नन्दप्रसाद ।
काठमाडौंमा पद्मोदय, पद्मकन्या, त्रिपद्म जस्ता विद्यालयहरू खुल्दै गर्दा राजधानीबाट ७-८ दिन पैदल हिँडेर जानुपर्ने दोलखाको विकट क्षेत्रमा विद्यालय खोल्ने योजनालाई पूरा गर्ने तिनै व्यक्तित्व नन्दप्रसादको योगदानलाई बाहिर ल्याउने प्रयास गरिएको छ पुस्तकमार्फत । उनको संस्मरणमा छापिएको पुस्तकाकार कृति हो ‘कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ’ । नन्दप्रसादको जीवन र योगदानको खोजी गर्न निधनको ४५ वर्षपछि स्थापित नन्दप्रसाद-जानुका फाउन्डेसनले प्रकाशन गरेको उक्त कृति असारको दोस्रो साता काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममार्फत लोकार्पण गरिएको थियो । नन्दप्रसाद शिवाकोटीसँग संगत गरेका, उनलाई चिनेका एवं उनको योगदानको अनुभव र अनुभूति गरेका ३३ जना व्यक्तित्वहरूको आलेख समेटेर तयार पारिएको यो पुस्तक तीन खण्डमा विभाजित छ ।
पहिलो राजनीतिक खण्डमा नन्दप्रसादको राजनीतिक जीवन र योगदानको बारेमा चर्चा गरिएको छ । उक्त खण्डमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, बीपीपुत्र एवं कांग्रेस नेता डा.शशांक कोइराला, नेत्रबहादुर बस्नेत, दुर्गाप्रसाद उप्रेती र जीतवीर लामाको आलेख समेटिएको छ ।
त्यस्तै दोस्रो व्यक्तित्व र योगदान खण्डमा आफन्त समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूको आलेख समेटिएको छ । यसमा नन्दप्रसादको पारिवारिक एवं सामाजिक जीवन, समाजसेवाका कर्महरू आदिको बारेमा उल्लेख गरिएको छ । तेस्रो खण्डमा नन्दप्रसादसँग सम्बन्धित विषयमा प्रकाशित सामग्री तथा उनीसँग सम्बन्धित तस्बिरहरू समेटिएको छ ।
नन्दप्रसाद आफैँमा राजनीतिक व्यक्तित्व थिए । उनी साविक क्षेत्र नम्बर ११ (हालको दोलखा) मा नेपाली कांग्रेसका एक जना चर्चित नेता थिए । केन्द्रीय नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेतासँग राम्रो संगत भएका उनले कांग्रेसले थालेको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा उल्लेख्य योगदान गरेका थिए । यो पुस्तकमा संग्रहित लेखहरूमा २००७ साल अगाडि कांग्रेसको सशस्त्र विद्रोहको बारेमासमेत एकसरो जानकारी पाइन्छ, त्यस क्रममा नन्दप्रसादहरूको योगदानको चर्चा पुस्तकमा विशेष रूपमा गरिएको छ ।
२००७ सालमा प्रजातन्त्र प्राप्तिपछि भने नन्दप्रसादले गाउँको विकासकै लागि ध्यान दिए । उनले ग्रामीण क्षेत्रको दीर्घकालीन विकासको आधार शिक्षालाई नै माने र आफूले स्थापना गरेको विद्यालयलाई स्थायित्व दिन प्रयास गरे । तर, यो निकै चुनौतीपूर्ण थियो । तत्कालीन समयमा सडक सञ्जाल नभएको बेलामा दार्जिलिङसम्म पुगेर शिक्षक खोजेर ल्याउनुपर्ने, उनीहरूलाई लिने पारिश्रमिक र खानेबस्ने व्यवस्था गर्नुपर्ने, विद्यार्थीहरूसमेत टाढा टाढाबाट आउन सम्भव नभएकाले उनीहरूको खाने बस्ने व्यवस्था गर्नुपर्नेलगायत अवस्थाबीच नन्दप्रसादले विद्यालयको निरन्तरताका लागि आफ्नै घरलाई सार्वजनिक छात्रावासजस्तो बनाउनसमेत तयार भएका थिए ।
हिउँदमा दार्जिलिङबाट आउने शिक्षकहरू बर्खा लागेपछि छोडेर हिँड्ने र फेरि फर्केर नआउने अवस्थाबीच अर्को शिक्षक खोज्न हिँड्दाका प्रसंग समेटिएका लेखहरूले पाठकलाई त्यतिबेलाको अवस्थाको सचित्र अनुभव गराएको महसुस हुन्छ । शिक्षासेवाका लागि नन्दप्रसादको योगदान प्रयासमा मात्रै सीमित थिएन, यसमा निष्ठा र उदारताको प्रशस्ती पनि थियो भन्ने कुरा पुस्तकमा उल्लेखित प्रसंगहरूबाट प्रष्ट्याउँछ । २०१५ सालमा भएको आम निर्वाचनमा क्षेत्र नम्बर ११ बाट उनी सांसदको बलियो आकांक्षी थिए । तर, सांसदको आकांक्षा राख्दा उनलाई विकल्प रोज्न लगाइयो । सांसद पद कि विद्यालयलाई स्थायी दरबन्दी ।
गाउँको शिक्षाको सुनिश्चितताका लागि उनले त्यतिबेला सांसदको आकांक्षासमेत त्यागेका थिए । उनले राजनीति भने छाडेनन् । जिल्लाको अभिभावकत्व ग्रहण गरे । २०१६ सालदेखि २०३५ सालसम्म उनी जिल्ला सभापति भएर पार्टीको नेतृत्व गरिरहे । यही प्रसंगलाई सम्झिँदै कांग्रेस महामन्त्री गगन थापा नन्दप्रसादको त्यागबाट सबैले सिक्नु र गर्व गर्नुपर्ने बताउँछन् । नन्दप्रसादको जस्तो सफा व्यक्तित्व र योगदान लुप्त हुँदा नयाँ पुस्ताले आफ्नो इतिहास भुलिसकेको बताउँदै यो पुस्तकले नयाँ आफ्नो इतिहास पुर्खाप्रति गर्व गर्नसक्ने आधार दिने थापाको टिप्पणी थियो । उनले कांग्रेस निर्माणको जग हाल्ने यस्तो व्यक्तित्वको खोजीका लागि अभियान नै चलाउने उद्घोषसमेत गरे ।
नन्दप्रसादलाई शिक्षाको मार्गमा डोहोर्याउन कास्मिरी बाबाको योगदानबारेसमेत पुस्तकमा चर्चा भएको पाइन्छ । खप्तड बाबाको नाममा चर्चित कास्मिरी बाबा सन् २००० तिर दोलखाको क्षमावतीमै गएर बस्दा उनको सान्निध्य भएको थियो । तत्कालीन समाजमा भएका केही गलत व्यक्तित्वका कारण कास्मिरी बाबाले उक्त क्षेत्र छोडेर गएको प्रसंगसमेत पुस्तकले समेटेको छ । उनै कास्मिरी बाबा खप्तडमा गएर तपस्या गरेका थिए । पुस्तकको विमोचन समारोहमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलेसमेत कास्मिरी बाबासँगको भेटको विषयलाई स्मरण गरेका थिए ।
उल्लेख्य विषय समेटेर गहिराइसम्म पुग्ने प्रयास गरेको भए पनि उक्त पुस्तक नन्दप्रसादको बारेमा आफैँमा सम्पूर्ण पुस्तक चाहिँ होइन । जुन संघर्ष र सफलताको अनुभव नन्दप्रसादले गरेका थिए उनको प्रत्यक्ष अनुभवको सान्निध्यमा पुगेर पुस्तकमा वर्णन हुन सकेको जस्तो लाग्दैन । दिवंगत भएको ४५ वर्षपछि व्यक्तिहरूले दिएको जानकारीको आधारहरू संग्रहित पुस्तकले उनको जीवनका आयामलाई कति समेट्न सक्यो होला भन्ने प्रश्न स्वभाविक रूपमा उठ्छ नै । यद्यपि अझै ढिला भएको भए यो गहिराइमासमेत पुग्न नसक्ने अवस्थालाई भने यो प्रयासले जोगाएको छ ।
पुस्तकले नन्दप्रसादको जीवन र व्यक्तित्वका सकारात्मक पक्षलाई बढी ध्यान दिएको देखिन्छ । यसले पुस्तकलाई एकपक्षीय बनाएको आभाषसमेत समालोचनात्मक रूपमा हेर्दा देख्न सकिन्छ । त्यही कुराहरूलाई मनन गरेर पनि हुन सक्छ, पुस्तकका सम्पादक एवं नन्दप्रसाद जानुका फाउण्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटी (नन्दप्रसादका नाति) ले हजुरबुबाको योगदानबारे खोजीको पहिलो प्रयास भएको र यो जारी नै रहने उल्लेखसमेत गरेका छन् । यी पक्षहरूबीच पुस्तकले भूइँतहमा बसेर समाजका लागि योगदान गर्ने कर्मयोगीहरूका योगदानलाई उत्खनन् गर्ने महत्वपूर्ण प्रयासको रूपमा बुझ्न सकिन्छ जसबाट अरूले सिक्न र पछ्याउन सक्ने प्रशस्त आधार देखिन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच