काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अविलम्ब चाँडो राजीनामा दिनुपर्ने माग राखेको छ । आइतबार बसेको पार्टी संसदीय दलको बैठकले अहिलेको सरकार अल्पमतमा परेको र कुनै निर्णय गर्ने अधिकार नभएको भन्दै तत्काल राजीनामा दिनुपर्ने आफूहरूको माग राखेको हो । बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले भन्नुभयोे, ‘हाम्रो पहिलो माग प्रधानमन्त्रीज्यूलाई अहिले नै, आजै राजीनामा दिनुपर्छ । अविलम्ब राजीनामा दिनुपर्ने हाम्रो माग हो । यदि उहाँले राजीनामा दिनुभएन भने असार २८ गते विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ ।’
त्यस्तै, अहिले प्राकृतिक विपत्तिमा देश रहेको भन्दै अल्पमतमा परेको प्रधानमन्त्री एकमिनेट पनि बस्न नहुने उहाँले बताउनुभयो । ‘आज एकमिनेट पनि देशका लागि महत्वपूर्ण हो । देशलाई के का लागि यतिका दिन कुराइरहनु भएको छ ? जसरी उहाँले अल्झाउन खोज्नुभएको छ, यो अनुचित हो,’ बर्तौलाले भन्नुभयो । साथै, आइतबारको बैठकले नेकपा एमाले र नेपाली कांग्रेसबीच बन्न लागेको राष्ट्रिय सरकारलाई स्वागत गर्ने निर्णय पनि गरेको छ । ‘यस महत्वपूर्ण प्रक्रियामा सहभागी भएर विकास र समृद्धिको सुशासनको पक्षमा बलियो स्थिर सरकार निर्माण गर्ने पक्षमा नेपाली कांग्रेसले जुन भूमिका निर्वाह गर्यो यसमा नेकपा एमालेको संसदीय दलको बैठकले नेपाली कांग्रेसलाई धन्यवाद दिने निर्णय गरेका छौँ,’ उहाँले भन्नुभयो ।
उहाँले बैठकका निर्णय सुनाउँदै अघि भन्नुभयोे, ‘स्पष्ट अल्पमतमा परेको सरकारले अझै पनि राजीनामा दिएको छैन । आजको बैठकबाट लामो समयसम्म राजीनामा नदिई बस्ने कुरा अनुचित कार्य हो । त्यसकारण अविलम्ब नेपाल सरकारका कामचलाउ प्रधानमन्त्रीको रूपमा रहेका प्रधानमन्त्रीलाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणको प्रक्रियालाई मार्गप्रशस्त गर्न बैठकले आहृवान गरेको छ ।’ सरकारले अहिले कुनै पनि महत्वपूर्ण निर्णय गर्ने हैसियत नराखेको भन्दै यदि कुनै निर्णय भए संविधानविपरीत हुने एमालेको ठहर छ । ‘सरकार अहिले अल्पमतमा परेको छ । तथापि पनि विभिन्न प्रकारका निर्णयहरू भएका छन् । कुनै पनि निर्णय नगर्नका लागि यो सरकारले कुनै पनि निर्णय गर्ने हैसियत राख्दैन । मत गुमाएको सरकारले निर्णय गर्नु संविधानविपरीत हुन्छ । कुनै पनि निर्णय नलिन सचेत गराएको छ,’ उहाँले भन्नुभयो ।
एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ती दलका मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेका छन् । नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डले भने पदबाट राजीनामा नदिने बरु संसद् फेस गर्ने बताइरहनु भएको छ । असार २८ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव पेस गर्ने तयारी गर्नुभएको छ ।
संविधान संशोधन पश्चगमन होइन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन पश्चगमन नभएको बताउनुभएको छ । आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राजनीतिक स्थायित्वको आधार तयार पार्ने कुरा देश र जनताको हितमा हुने बताउनुभयो । ‘संविधान जारी भएपछि अहिलेसम्म देखिएको समस्याहरू ध्यानमा राखेका छौँ । ती समस्या हल गर्ने गरी संविधान संशोधन गर्ने भनिएको हो’ ओलीले दलको बैठकमा भन्नुभयोे, ‘राजनीतिक स्थायित्वकै खोजीमा संविधान संशोधन गर्ने कुरा पश्चगमन होइन ।’ संविधान थप बलियो बनाउनकै लागि संशोधन जरुरी रहेकाले सबै दलले साथ दिनुपर्ने ओलीले बताउनुभयो । ‘देशलाई स्थायित्वको दिशामा लैजान ठूला दलहरू सहितको राष्ट्रिय सरकार बनाउँदै छौँ । यो सरकारमा सबैले सहभागी हुनुपर्छ’, ओलीले भन्नुभयो । बैठकले संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेसको समर्थनमा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिको अनुमोदन गरेको छ । सँगै, नयाँ सरकार बनाउने सहमति ठूला दलहरूले गरिसकेकाले विश्वासको मत लिने बाटोतिर नलाग्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच