
काठमाडौं । मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते मध्यरातमा भएको सत्ता साझेदारी सहितको समझदारीले मुलुकको राजनीतिकमा आएको कम्पन अझै साम्य भएको छैन । नयाँ राजनीतिक समीकरण बनेसँगै संसद्मा आरोप प्रत्यारोप चलिरहेको छ । कांग्रेस र एमालेबीच बनेको नयाँ समीकरणपछि पहिलोपटक आइतबार बसेको प्रतिनिधि सभाको बैठकदेखि संसद् निरन्तर सांसदहरू बीचको आरोप प्रत्यारोपमै रुमल्लिएको छ । असार १७ गते अघिसम्म सत्ता सहकार्यमा रहेको नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरू आमनेसामने भएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि दुई दलका सांसदहरूको आरोप प्रत्यारोपको शृंखलाले निरन्तरता पायो ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले-माओवादी केन्द्रको समीकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जवाफ माग गर्नुभएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा एमाले–माओवादी केन्द्रको समीकरण बनेको भए पनि बिना कारण समीकरण भत्काइएको आरोप लगाउँदै भन्नुभयो, ‘जुन उद्देश्यसहित सहकार्य सुरु गर्नुभयो । अहिले कुन उद्देश्यले सहकार्य तोड्नुभयो ? जुन उद्देश्यसहित केन्द्रित रहेर सत्ता सहकार्य सुरु गर्यौँ, जतिबेला हामीले सत्ता सहकार्य सुरु गरेका थियौँ प्रचण्डले लिनुभएको सुशासन, समृद्धि र सामाजिक न्यायको केन्द्रीय कार्यभार पूरा गर्ने संकल्प पछि हटेको थिएन । पछिल्लो समय के कारणले हामी बीचको समीकरण तोडियो ? यो त जवाफ दिनैपर्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत नपाए संविधानको धारा ७६(३) मा अनुसार नयाँ सरकार गठन हुने उहाँको जिकिर छ । बैठकको शून्य समयमा बोल्दै सांसद छिरिङ डम्डुल लामा भोटे र छिरिङ लामा तामाङले कुर्सीका लागि माओवादीले संविधानको गलत व्याख्या नगर्ने भन्दै धारा ७६(३) अनुसारको सरकार बन्ने दाबी गर्नुभएको थियो । संविधानको कुन धाराबाट सरकार बनाउने भन्ने विषयलाई लिएर संसद्मा माओवादी र एमाले सांसदहरूबीच जुहारी चलिरहेको छ ।
प्रचण्डले आफूलाई हिरण्यकश्यप ठाने : शाही
नेकपा एमालेका सांसद दयालबहादुर शाहीले प्रधानमन्त्री प्रचण्डले आफूलाई महाभारतको पात्र हिरण्यकश्यप जस्तो ठानेपछि कांग्रेस–एमाले नरसिंह अवतारमा आएको टिप्पणी गर्नुभएको छ । राजनीतिमा प्रचण्ड ब्वाँसोका रूपमा प्रकट भएको आरोप लगाउँदै शाहीले भन्नुभयो, ‘हिरण्यकश्यपको कथा छ, हिरण्यकश्यप आफू जति बाठो कसैलाई नठान्ने, यति बलियो कि सिंहले पनि मार्न नसकोस् भन्ने थियो । विष्णुले नरसिंह अवतार लिनुभयो । अहिले कांग्रेस र एमालेको अवतार त्यही हो । प्रचण्डले आफूलाई कांग्रेस र एमालेले सिध्याउन नसक्ने ठान्नुहुन्थ्यो, अहिलेको गठबन्धन आवश्यकताको उपज हो ।’
अब बन्ने सरकार ७६(२) अनुसारकै हुन्छ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने बताउनुभएको छ । संविधानको कुन धाराअनुसार सरकार बन्छ ? भन्ने अलमलमा नपर्न आग्रह गर्दै डा.कोइरालाले भन्नुभयो, ‘यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६(२) कै सरकार हुन्छ । मैले अस्ति केही कुरा गरेको थिएँ । त्यसलाई बंग्याएर शेखर त ७६(३) को सरकार खोजिराखेको हो कि भन्ने आभास पर्यो । त्यो होइन ।’
नयाँ सरकार बालाजु बाइस धाराबाट बन्दैन : रिजाल
नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले सरकारमा जानकै लागि नभएर निश्चित उद्देश्य लिएर मात्रै एमाले सरकारमा जाने दाबी गर्नुभएको छ । अब बन्ने सरकार संविधानको धाराभित्रैबाट भन्ने उहाँको भनाइ छ । नेकपा माओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ (३) अनुसार नयाँ सरकार बन्ने जिकिर गरिरहेका बेलामा रिजालले त्यसको जवाफ दिँदै भन्नुभयो, ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो । बालाजुको बाइसे धाराबाट बन्दैन । त्यसको चिन्ता तपाईंहरूले गर्नुपर्दैन ।’
रास्वपाप्रति शाहीको टिप्पणी- ‘जिबीको फोहोरमा उम्रेको च्याउले डुब्न लागेको डुंगा थाम्न सक्दैन’
नेकपा एमालेका सांसद दयालबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सहकारी ठगीमा फरार रहेका जिबी राईको फोहोरमा उम्रेको च्याउको संज्ञा दिनुभएको छ । उहाँले नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई एमालेबाट झरेको पातको संज्ञा दिँदै शाहीले भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्डको डुब्न लागेको जहाज एमालेबाट झरेका पात र जिबीको फोहोरमा उम्रेका च्याउले गर्न सक्दैनन् । झार–पात र च्याउले देश थाम्न सक्दैनन् ।’
भ्रष्टाचारका प्रकरण छोप्न कांग्रेस-एमाले गठबन्धन : पाण्डे
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि बन्ने टिप्पणी गर्नुभएको छ । कांग्रेस-एमालेको सरकार गिरीबन्धु, नक्कली भुटानी शरणार्थी लगायतका प्रकरणहरू छोप्नका लागि बन्न लागेको आरोप लगाउँदै सांसद पाण्डेले भन्नुभयो, ‘गिरीबन्धु प्रकरण छोप्नुपर्ने भयो, भुटानी शरणार्थी काण्ड छोप्नुपर्ने भयो । यस्ता कुरा भन्ने आइरहेको छ । त्यो नहोस्, त्यो उहाँहरूमाथि लागेको आरोप गलत ठहरियोस् । तर आमरूपमा संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग सम्बन्धित होइन । प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमै बस्न पुगेपछि हाम्रो रक्षा कसले गर्दछ ? गलत कुरा छोप्न हो कि भन्ने शंका सबैको छ ।’
प्रचण्डप्रति चित्र बहादुरको कटाक्ष : ‘बाठो खान्छ तीन बल्ड्याङ’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डले सत्ताको खेल नबुझेको टिप्पणी गर्नुभएको छ । एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको जिकिर गर्दै केसीले भन्नुभयो, ‘पुस १० गते तपाईं जहाँ पुग्नुभयो, त्यही दिनदेखि दशा सुरु भएको थियो । त्यो बुझ्नुभएन । तपाईंले चाहिँ कतिपटक बालकोट धाउनुभयो, कतिपटक बूढानीलकण्ठ पुग्नुभयो ? यसरी चल्छ राजनीति ? तपाईं ५ वर्ष सरकारमा राख्न संसद् भित्रको दोस्रो पार्टी मिसिएको थिएन । ...खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ भनेजस्तै तपाईंले बल्ल भोग्नुभयो ।’
दुई दलीय सिष्टममा लैजाने कुरा स्वीकार्य छैन : यादव
नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले संविधान संशोधनमार्फत कांग्रेस र एमालेले देशमा दुई दलीय व्यवस्था ल्याउन खोजेको आरोप लगाउनुभएको छ । समानुपातिक समावेशी सिद्धान्त हटाउने गरी संविधान संशोधनको कुरा माओवादीलाई स्वीकार्य नहुने चेतावनी दिँदै उहाँले भन्नुभयो, ‘सबै दललाई सहमतिमा नलिई संविधान संशोधन गर्दा २०६३ सालको अवस्था आउँछ । संविधान संशोधन जटिल विषय हो । निर्वाचन प्रणाली फेरेर दुई दलीय सिष्टममा लैजाने कुरा स्वीकार्य हुँदैन ।’
संसद्मा कांग्रेसले खोज्यो प्रधानमन्त्री र मन्त्री
नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति खोजेको छ । मंगलबार बसेको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशमा बाढी पहिरोका कारण जनधनको क्षति हुँदा पनि प्रधानमन्त्री र मन्त्री संसद्मा आएर जानकारी गराउन माग गर्नुभयो । प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘सरकार विश्वासको मत लिने तयारी गरिरहेको छ, संविधानअनुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठेको छ, त्यसमा कुनै द्विविधा छैन । सरकारले ३० दिन नै लिओस् । त्यसमा आपत्ति छैन तर सरकार रहुन्जेल त जनताप्रति उत्तरदायी भइदिनुप¥यो, सदनमा आइदिनुप¥यो । देशभरिमा अविरल वर्षाका कारण बाढीपहिरो, डुबानका कारणले कति क्षति भयो, कति मानिस घाइते भए, कति मानिसको ज्यान गयो ? कति विस्थापित छन् ? घाइतेहरूको अवस्था के छ ? विस्थापित भएकाहरूलाई कसरी पुनस्र्थापित गर्ने भन्ने सम्मका कुरा सदनमा जानकारी गराउनुप¥यो ।’
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभाका सांसदहरूले बाढी-पहिरोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद अनिता देवीले बाढी-पहिरोले देशका विभिन्न स्थानमा यातायात अवरुद्ध, पठनपाठन ठप्प, खेतीयोग्य जमिन पानीमा डुबानमा परेका बताउँदै यस्तो अवस्थामा सरकारले के गरिरहेको छ ? भनी प्रश्न गर्नुभयो । सांसद अम्बरबहादुर रायमाझीले अविरल वर्षाका कारण उदयपुरका विभिन्न गाउँपालिकामा सडक र विद्युत् सेवा अवरुद्ध, खानेपानी, टेलिफोन सेवा बन्द भएकाबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ईश्वरीदेवी न्यौपानेले बाढी-पहिराले वितण्डा मच्चाएका बेला सरकारको नेतृत्व गरेका दलहरूको ध्यान सरकारको आयु लम्ब्याउनमा केन्द्रित रहेको आरोप लगाउनुभयो । सांसद गंगाप्रसाद यादवले अविरल वर्षाका कारण धेरै जनधनको क्षति भइरहे पनि सरकारले आवश्यकतानुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो । सांसद चन्दा चौधरीले वर्षाका कारण भएको धनजनको क्षतिबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो । सांसद उर्मिला माझीले अहिले संसद्का दुई ठूला दल मिलेर नयाँ सरकार बनाउने सहमति गरेका र संविधान संशोधनमार्फत परिवर्तनलाई नै चुनौती दिनसक्ने आशंका व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरूलाई तत्काल पुनःस्थापना गर्न सरकारसँग माग गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच