केही हप्ता पहिला देशको तरल राजनीति र त्यसका विकृतिहरूलाई विषय बनाएर अलि कठोर किसिमको लेख लेखेँ । देशका धेरैजसो नागरिकले मनुभूत गरेका कुराहरूको पुलिन्दा खोलेँ । तर विगत चार वर्षदेखि विचार र साहित्यको स्तम्भअन्तर्गत केही नियमित पाठकहरूले हौस्याउँदै आएको म त्यस हप्ता अलि निराश भएँ । आहा ! क्या राम्रो लेख्नुभयो भन्दै आएका पाठकहरू पनि त्यस हप्ता मौन बसिदिए । मेरो लेखमा सामेल नहुनुका धेरै कारण हुन सक्छन् तर मलाई त्यसको अर्थ आफ्नै किसिमको लाग्यो । मैले बुझेँ या त मबाट राजनीतिक लेखहरू त्यति चित्तबुझ्दा लेखिँदैनन् वा राजनीतिक लेखहरूप्रति मेरा पाठकको अभिरुचि छैन अथवा मेरो उक्त लेखमा सामेल हुन धेरै पाठकलाई मन भएन ।
देशमा धमिलिइरहेको राजनीतिकाकुरा थिए अनि केही नेतृत्वको असमर्थताका कुरा थिए । हामी जति नै निश्पक्ष छौँ भने पनि आफूले स्वीकार्दै आएका राजनीतिक पार्टी, व्यक्ति वा प्रवृत्तिका विपक्षमा जान सक्दैनौँ । भित्रदेखि मन नपरेका कुरा पनि भन्न सक्दैनौँ । त्यसका धेरै कारण हुन्छन् पहिलो त हामीभित्र अमुक पार्टीको आदर्शका बारेमा थाहा छ अनि पवित्र आस्था छ । जति नै धोका खाए पनि आस्थामाथि अविश्वास गर्न हामीलाई मन हुँदैन । धेरै सिद्धान्तनिष्ठ मानिसहरू अहिले निराश छन्, विद्यमान गतिविधि कत्ति मन परेको छैन तर उनीहरू मौन छन् ।
कुनै दिन त्यस्तो घडी आउला भन्नेमै आशावादी छन् । एकथरीले शिष्ट असहमति प्रकट गरेका छन् तर धैर्य टुटाएका छैनन् । अर्को हामीभित्र कुनै न कुनै प्रकारको लोभ छ, लोभले निम्त्याएको भय छ । कसैबाट केही लिने अभिलाषा छ र त्यसमा घुनपुत्ला लाग्ने आशङ्का छ । यस्तै केही बाध्यताले पनि हामी चाम्रिएका छौँ । तर, जीवनलाई साहित्यमा उतार्न जानेकाहरूलाई बाँच्न सजिलो छ । साहित्यिक चेतना र अभिव्यक्तिको कला भए मनमा कुण्ठाको पिलो बोकेर हिँड्न पर्दैन । राजनीतिले गिजोलेको हिलाम्मे सडकमा पनि सुरुवालमाथि सुर्किएर मुस्कुराएरै हिँड्ने कला साहित्यले सिकाउँछ ।
साहित्य पनि जीवन पनि मन, बुद्धि र हृदयले लेख्ने अभ्यास गर्नुपर्छ । निर्बाध जीवन र निर्बन्ध लेखन हाम्रो लक्ष्य भइरहँदा धेरै कुरा सहज हुन्छन् । तैपनि सिद्धान्तहरू हाम्रा विचारका बीचमा बार बनेर आइरहन्छन् ।
देशको राजनीति जुनसुकै बाटो हिँडोस् हामी हाम्रै बाटोमा हिँडेर परिस्थितिलाई सहज पार्न जानेका छौँ भन्ने कुरा साहित्यले नै सिकाउँछ । यसको अर्थ हामी राजनीतिसाजनीति जान्दैनौँ । हामीलाई देशको पटक्कै चासो छैन भनेको पनि होइन । हामी देशको राजनीति जानेर, राजनीतिले हाम्रा समस्या समाधान गर्दैन भन्ने बुझेर नै राजनीतिदेखि निस्पृह बस्न सक्ने भएका हुन्छौँ त्यसैले हामीलाई सजिलो हुन्छ । लेख्ने किन ? पढ्नेहरूको कमी छ भन्नेहरू पनि धेरै छन् । तर पाठक कमाउन पनि लेखेरै विचार गर्नुपर्छ ।
पाठक नभए पनि आफ्नै निम्ति स्वान्तः सुखाय लेख्ने अभ्यास गर्नाले मनका घाउहरू निचोरिइरहन्छन् पिप जम्न पाउँदैन । परम्परित भौतिक कलम त केवल साधनमात्र हो । साहित्य पनि जीवन पनि मन, बुद्धि र हृदयले लेख्ने अभ्यास गर्नुपर्छ । निर्बाध जीवन र निर्बन्ध लेखन हाम्रो लक्ष्य भइरहँदा धेरै कुरा सहज हुन्छन् । तैपनि सिद्धान्तहरू हाम्रा विचारका बीचमा बार बनेर आइरहन्छन् । जीवन जगत् लेख्ने त मनकै कलमले हो र मनमाथि कुनै शासनको नियम लाग्नुहुँदैन । स्वच्छ अनि स्वच्छन्द तर आत्मानुशासनको लयमा जीवन लेख्न कसैलाई सोधिराख्न पर्दैन । त्यो विशिष्ट सामथ्र्य हो जुन सहजै कसैले प्राप्त गर्न सक्दैन । अनि कलममै मन, बुद्धि वा हृदय हुँदो हो त सायद सबैको हातबाट जीवन लेखिन्थ्यो ।
त्यसैले कलम, बुद्धि, हृदय र मन मिल्नुपर्छ जीवन लेख्न । मनमात्रै, बुद्धिमात्रै, हृदयमात्रै वा जीवनमात्रै पनि पूर्ण होइन मनोयोग पनि चाहिन्छ । धेरैसँग इच्छा होला, मन पनि होला तर मनोयोग नहुनाले धेरैका जीवन लेखिएका छैनन् । सामान्य अवस्थामा लेखनको यति सारो महत्व यसै कारणले पनि हुँदैनथ्यो सायद । सबैले आफ्नो परिवेशको जगत् र जीवन लेख्ने हो । आफू जोडिएको जगत्कै विषय र कुराहरूबाट आर्जन गरेको ज्ञान र अनुभूति साहित्य बनेर आएको हो । बृहदारण्यकोपनिषद् (२.४.५) मा एउटा भनाइ छ– नवा अरे भूतानां कामाय भूतानि प्रियाणि भवन्ति आत्मनस्तु कामाय भूतानि प्रियाणि भवन्ति ।...आत्मनस्तु कामाय सर्वं प्रियं भवति... ।
कोही आफू जोगिने कोही आफ्नालाई जोगाउने यो सनातनी खेलमा जनता कतै छैनन् तापनि हामी कहिले खुसी भएका छौँ कहिले दुःखी भएका छौँ । आधा ओठमा हाँसो ल्याएर आधा ओठ विषादको निम्ति जगेडामा राखेर पनि हामीले राजनीतिलाई सघाउँदै आएका छौँ ।
अर्थात् मैले संसारको मायाले संसारलाई प्रिय मानेको होइन आफ्नो मायाको स्वार्थले संसारको माया गरेको हुँ । एवम् क्रमले संसारका सबै वस्तुप्रतिको हाम्रो प्रियता हाम्रै स्वार्थले गर्दा भएको हो भन्ने उपनिषद् वचनको सार पाइन्छ । दर्शनको गहिरो सार बोकेको यो भनाइ सबैलाई उस्तै लाग्दैन । झट्ट सुन्दा सन्तानलाई गरेको माया, प्रेमी वा पे्रमिकालाई गरेको माया वा मातापितालाई गरेको माया पनि आफ्नै स्वार्थको माया कसरी हुन्छ र ? भन्न सकिन्छ तर सारमा ती ती व्यक्तिसँग जोडिएको आफ्नो सम्बन्ध र तिनमा हुने सुखदुःखको अवस्थाले आफूलाई प्रभाव पार्ने भएर नै ती व्यक्तिमा हामीले माया गरेको हो ।
यही कुरा बुझ्न पनि तदनुकूलको समय आउनुपर्छ । त्यसैले अरू कसैको हित उपदेश वा ज्ञानको निम्ति पनि लेखिँदैन आफ्नै निम्ति लेखेको कुराले खरो भाषामा भन्दा आफ्नो अहङ्कारको प्रकटीकरणले अरू कसैलाई केही लाभ दियो भने त्यो संयोगमात्र हुनेछ । अर्थात् आत्मप्रकटीकरणको प्राज्ञिक प्रयत्न लेखन हो । लेखनले के विषय बनाउँछ भन्ने कुराको निधो हुँदैन ।
समाजको निम्ति लेखिने लेखन समाजप्रति नै उत्तरदायी हुनुपर्छ । एकजना लेखक निर्माण गर्न धेरै कुराले मदत पु¥याएको हुन्छ । घरपरिवार, समाज, राष्ट्र, परिवेश, वातावरण, झरी, बादल, वर्षा, चिसो, तातो, हिउँ, पहिरोे, सबैले कुनै न कुनै योगदान गरेर निर्माण भएको एकजना स्रष्टा यी सबैकाप्रति उत्तरदायी हुनैपर्छ ।

समाजवादी यथार्थवाद भन्छ एकजना स्रष्टा, उसले समाजबाट के पायो अनि उसले समाजलाई के दियो ? भन्ने मूल्याङ्कनका आधारमा लेखकको मूल्य निर्धारण गरिनुपर्छ । यस अर्थमा परिवारकाप्रति, समाज वा राष्ट्रका प्रति हाम्रो दायित्वको लेखाजोखा नगर्न पाइँदैन र हुँदैन पनि । यसै कारण समाजले हुर्र्काएको एकजना लेखकले देशका बारेमा, राजनीतिका बारेमा, असङ्गतिका बारेमा र राष्ट्रोत्थानका बारेमा चिन्ता गर्छ, चासो राख्छ र केही लेख्छ पनि ।
जब हामी राष्ट्रका हुन्छौँ, राष्ट्र हाम्रो हुन्छ अनि राष्ट्रिय दायित्वले पिरोलिएको सचेत नागरिकले आफ्नो अभिमत आफ्नै योग्यताले प्रकट गर्दछ । हामीलाई कुनै दिन देशको राजनीतिले घाउ लगाउँछ । राजनीतिले लगाएको घाउ राजनीतिकै आगोमा सेक्नुपर्छ । राजनीतिको पिलो निचोर्न राजनीतिक अस्त्रको खाँचो पर्दोरहेछ । त्यसैले बेलाबेलामा साहित्यिक भनिएका अभिव्यक्तिमा राजनीतिको गहिरो छाप परेर आउँछ । र कहिलेकाहीँ राजनीतिक व्यक्तिले साहित्यिक कुरा गरिदिन्छन् । जब राजनीतिले साहित्यको रूप लिन्छ त्यसपछि राजनीति मनोविनोदमा परिणत हुन्छ । भन्न त सबै कुरा भनिएको झैँ लाग्छ तर त्यसको प्रभाव समाजलाई जसरी पर्नुपथ्र्यो त्यसरी पर्दैन । राजनीति ढाँटीछलीको पेसा हो । जे भनिन्छ त्यो गरिँदैन । जे गरिन्छ त्यो भनिँदैन भन्ने भाष्य तयार हुन्छ । साहित्यको आवरणमा रहेको राजनीतिको आभ्यन्तरमा के छ त ?
जसरी साहित्यले राजनीतिका तमाम विकृतिलाई मुटुमा राखेर पनि नेता र नेतृत्वकको सम्मान गर्दै आउन सकेको छ त्यसरी नै नागरिकका अनगिन्ती समस्यालाई राजनीतिले आत्मसात गर्न सकेको छ ? के कुनै बिन्दुमा यसप्रकारको समीकरणमा जनताका यी यी समस्याको सम्बोधन हुनेछ भनेर सम्झौताका कुनै बुँदामा नागरिकका आँसु राख्ने काम भएको छ त ? वा व्यङ्ग्य, कटाक्ष, आरोप र प्रत्यारोपका कुनै वाक्यांशमा नागरिकका अनुहारको प्रतिबिम्ब देखिन्छ त ? सत्तापरिवर्तन र नेतृत्व हडप्ने सत्ताको यस खेलमा नागरिकलाई रेफ्री बनाइएको छ त ? सबैतिर निर्णायक रहेको राजनीति साहित्य हुँदा जब आत्मनस्तु कामाय..भन्ने उपनिषद् बचनको अर्थ लाग्छ त्यो नितान्त आत्मकेन्द्रित भएर आउँछ । राजनीति फगत् आफ्नै स्वार्थको खेलमा परिणत हुन्छ ।

यसपटक राजनीति फेरि आत्मनस्तु कामाय... बनेको छ । यसपटकको सम्झौतामा सामेल भएका नेता र नेतृत्वपंक्तिमा रहेका व्यक्तिहरूको स्वार्थको पोकोमा के छ ? के त्यसमा जनताका समस्या अटाएका छन् त ? सुन्ने गरिएको छ यसपटक पनि त्यस्तै केही भएको छ । केही गर्दैछौँ है भनेर सत्ताले एकप्रकारको डङ्का पिटायो अनि त्यही केही गर्दैछौँ, भित्र लुकेको अन्तर्यले अरू कसैलाई भत्भती पोल्न थाल्यो त्यसकारण सत्ता फेरियो भन्ने सत्ताको स्पष्टीकरण अनि मुलुक नै सङ्कटमा पर्न थालेकाले हामी सत्तापरिवर्तन गर्न बाध्य भयौँ भन्ने अर्को स्पष्टीकरणका बीचमा जनता कहाँनेर छन् त ? भनेर हेर्ने हो भने त्यसको सन्तोषजनक उत्तर कसैसँग छैन ।
कोही आफू जोगिने कोही आफ्नालाई जोगाउने यो सनातनी खेलमा जनता कतै छैनन् तापनि हामी कहिले खुसी भएका छौँ कहिले दुःखी भएका छौँ । आधा ओठमा हाँसो ल्याएर आधा ओठ विषादको निम्ति जगेडामा राखेर पनि हामीले राजनीतिलाई सघाउँदै आएका छौँ । पाँच वर्षमा एकपटक हात जोडे पुग्ने जनतालाई भेडाभन्दा बढी ठानिएको छैन । फेरि पनि हामी राजनीतिका कुरा गर्दा नेताको आलोचना भएको सहन सकेका छैनौँ । नेताले गरेको बेइमानीमा औँला उठाउन सकेका छैनौँ । नेता सामेल भएका काण्डमा नेतालाई अभिनेता बनाएर उम्काउन साक्षी बस्न तयार छौँ हामी ।
रिक्सा चलाएर जम्मा गरेको गरिबको चार पैसा अपचलन गर्ने सहकारीको ठगी धन्दामा होस्, गरिबका छोरा विदेश पठाउने नाममा ठगी गर्ने मेनपावर व्यवसायीका विषयमा होस्, मानव तस्करी गर्ने तस्करका विषयमा होस्, सुनतस्करी गर्ने तस्करका विषयमा होस्, राम्रो पढाउने नाममा महङ्गो शुल्क असुल्ने बोर्डिङ् स्कुल वा कलेजका विषयमा होस्, उपचारका नाममा घरजग्गा रित्याउने अस्पतालका नाममा होस्, मलखाद नदिएर किसान मार्ने ठेकेदारका नाममा होस्, घुस खाएर देशको धुकुटी रित्याउने घुस्याहाका नाममा होस् वा मुलुकमा भएका तमाम बेथितिका बारेमा हामीले लेखेको झरिलो साहित्यको आफ्नै मूल्य छ ।
यस्तै यस्तै अनगिन्ती कथा र व्यथाको भारी बोकेर यात्रारत देशको नागरिकका विषयमा यत्तिकै लेख्न र बोल्न पनि डर मान्नुपर्ने हाम्रो गणतन्त्र लोकहितका निम्ति हो भनेर कति दिन विश्वास गर्ने ? पटक–पटक राजनीतिमा साहित्य घुसाउने हाम्रा नेताले कति दिनसम्म आफ्ना समस्यालाई अघि सारेर देशलाई बन्धक बनाइरहने ? केही मानिस खुसी हुने र केही मानिसको खुसीमा विराम लाग्ने यो खेल आत्मनस्तु कामाय...कै नयाँ संस्करण हो । हिसाब त जे कुराको पनि हुने गरेको छ ढिलोचाँडोको कुरा हो । सबैलाई चेतना भया !!







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र