काठमाडाैं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ ।
शनिवार ललितपुरमा आयोजित संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायपालिकालाई लयमा फर्काउन राज्यको चौथो अंगको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै इतिहासमा सुनौलो अक्षरले लेखिने पनि बताउनु भयो । उहाँले नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्दै जाने उल्लेख गर्दै सो समयमा पत्रकारको कलमले समाचार नलेखे मुलुकले ठूलो मूल्य चुकाउने बताउनु भयो ।
उहाँले अहिले सामाजिक सञ्जाल व्यक्तिको चरित्र हत्या गर्ने माध्यम बनेको भन्दै नियमनको आवश्यकता औंल्याउनु भयो । लोकतन्त्रको मर्म मर्नेगरी अदालती रिपोर्टिङ गर्न नहुने पनि न्यायाधीश राउतको भनाइ छ । उहाँले गलतलाई गलत र सहीलाई सही भन्नसक्ने जमात नेपाली समाजमा कम हुँदै गएको बताउनु भयो । उहाँले निहित स्वार्थहरुको लागि अदालतको हुर्मत लिँदै गर्दा अदालतको प्रतिरक्षामा कोही पनि उभिन नसकेको जिकिर गर्नुभयो । न्यायाधीश राउतले अर्कालाई दोषारोपण गर्ने कुरामा नेपाली समाज पोख्त बन्दै गएको पनि बताउनु भयो । उहाँले लिभरल डेमोक्रेसीको कोर भ्याल्युजहरु जोगिएको दिनसम्म मात्रै न्यायपालिका र पत्रकारिता बाँच्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज सामाजिक सञ्जालमा मान्छेलाई खुइल्याउने काम, मान्छेको चरित्र हत्या गर्ने काम पेशा बनेको छ । कसले रोक्छ ? कसरी रोक्ने ? यसमा छलफल हुनुपर्छ । तपाईंहरुको रिपोर्टिङमा तपाईंहरुले हेक्का राख्नुपर्ने कुरा लिभरल डेमोक्रेसीको भ्याल्युजहरु कहिले पनि मर्नेगरी कोर्ट रिपोर्टिङ हुनु हुँदैन । लिभरल डेमोक्रेसीको भ्याल्युज बहुत ठूलो कुरा हो । यो जोगाउन एउटा पत्रकारले हात काटेर दिनुपर्छ । एउटा न्यायाधीशले आफ्नो विवेकलाई कहिल्यै वन्धक राख्नै हुँदैन । त्यसैले आजका दिनमा गलतलाई गलत भन्नसक्ने, सहीलाई सही भन्नसक्ने म आज पनि त्यो जमात देख्दिन । अघि उहाँले भन्नुभयो नि त्यो कुम जोड्ने कुरा त्यहीँ छ । कुम जोड्ने बित्तिकै मोलाइजा जागिहाल्छ, जब मोलाइजा जाग्छ तब ‘बास्’ अब कुरा बुझिहाल्नुस् । त्यति बेला राज्यको चौथो अंगको फ्लेभरहरु त्यसको सुगन्ध तपाईंले फैलाउन सक्नुपर्छ । आज निहित स्वार्थहरुको लागि अदालतको हुर्मत लिँदै गर्दा अदालतको प्रतिरक्षाको लागि को उभिएको छ ? आज न्यायपालिका लयमा फर्काउनमा राज्यको चौथो अंगको योगदान अविष्मरणीय छ र इतिहासमा सुनौलो अक्षरले लेखिन्छ । न्यायालय लयमा फर्किंदाखेरी यो परिवेशलाई आज यो लयमा फर्काउन सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण छ । यदी नेतृत्व भ्रष्ट, घृणित भयो भने कसैको केही लाग्दैन । त्यति बेला कलम लेख्नबाट हटाउनु भयो मुलुकले ठूलो मूल्य चुकाउँछ ।’
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले कानून क्षेत्रको पत्रकारितालाई अरु पत्रकारिता भन्दा विशेष रुपमा हेर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विभिन्न देशहरुले पनि कानून क्षेत्रको पत्रकारितालाई अरु पत्रकारिता भन्दा विशेष रुपमा हेरेको उल्लेख गर्दै अदालत संवेदनशील स्थान भएको बताउनु भयो । उहाँले न्यायाधीशहरु र अदालतका कर्मचारीहरुले प्रतिवाद गर्न नसक्ने भन्दै न्यायालय र सञ्चारकर्मीहरुबीच मर्म बुझ्ने भावना गाँसिन आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय अदालतको रिपोर्टिङ प्रशारणका साधनहरुमा उल्लेख्य परिवर्तन आएको भन्दै ‘न्यु मिडिया’लाई पनि नराम्रो दृष्टिकोणबाट हेर्न नहुने बताउनु भयो । सबैको पहुँचमा सूचना पुग्नेकुरा दुःखको विषय हुन नसक्ने न्यायाधीश फुयाँलको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अरु देशहरुले पनि कुनै न कुनै रुपले कानून क्षेत्रको पत्रकारितालाई अरु पत्रकारिता भन्दा विशेष रुपले हेरेको हुन्छ । यो कोर्ट अलि सेन्सेटिभ ठाउँ हो । आदलती प्रक्रियाको बारेमा कन्ट्याप्टप कोर्टको बारेमा पनि छ । न्यायाधीशहरु र अदालतका कर्मचारीहरु यस्तो ठाउँका हुन्, जसले प्रतिवाद गर्न सक्दैनन् । पाल्र्यामेण्टका व्यक्तिको बारेमा समाचार आयो भने प्रतिवाद गर्न सक्नुहुन्छ । उहाँहरुले प्रेस नै बोलाउनु हुन्छ, छलफल गर्नुहुन्छ । हामी त्यो प्रतिवाद गर्न सक्दैनौँ । कि त कोर्ट प्रशासनले गर्दछ, बुझेर गरे गर्छ नत्र कर्मचारी र न्यायाधीशको हातमा केही हुँदैन । यसमा त्यो बुझ बुझारथ हुनुपर्छ । हामी कानून क्षेत्रमा काम गर्ने पत्रकार र अदालतको बीचमा यो समन्वय हुनुपर्छ । पछिल्लो समय अदालतको रिपोर्टिङ प्रशारणका साधनहरुमा परिवर्तन आएको छ । प्रिन्ट मिडिया मात्रै थियो, एक जमानामा, अहिले इलेक्ट्रोनिक मिडियाहरु आएका छन् । अहिले सबैका हातहातमा मिडिया छ । यो एक खालको खुशीको कुरा हो । यसमा वास्तवमा दुःख मान्नुपर्ने कुरा छैन ।’
नेपाल बार एशोसिएशनकी महासचिव अञ्जिता खनालले अदालती भाषालाई ठिक ढंगबाट संप्रेषण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अरुको नक्कल गरेर समाचार प्रकाशन गर्दा र अदालती भाषा नबुझ्दा अनर्थ लाग्ने भएकाले अदालती भाषाको बारेमा सही ज्ञान लिन आवश्यक रहेको बताउनु भयो । उहाँले सञ्चारमाध्यमले सत्यतथ्य समाचार नागरिकहरुसमक्ष पुर्याउँदा नै समाज सही बाटोमा जाने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘अदालतको रिपोर्टिङ कतै न कतैबाट तानेर पोष्ट गरिरहँदा भाषामा असंकुचित भएको जस्तो देखियो । भाषालाई नबुझेको जस्तो देखियो । भाषालाई बुझ्न नसकेको जस्तो देखियो । त्यस कारणले गर्दा कानून मञ्चसँग जोडिएका पत्रकारहरु जसले अदालतको रिपोर्टिङ गर्नुहुन्छ, कानूनको रिपोर्टिङ गर्नुहुन्छ, उहाँहरुसँग बसेर कार्यक्रम गर्ने छलफल भइरहेको थियो । अहिले कार्यक्रम भयो । राम्रो भएको छ । पत्रकारले समाचार कभर गर्दा फेसबुक, अरु अनलाइनबाट कभर गर्दा त्यो समाचार अलिकति टुक्रिँदै जान्छ । यसले अलमल पार्दछ । जस्ताको त्यस्तै पत्रकारिता गर्न सक्नुपर्छ । नागरिकलाई सत्यतथ्य देखाउने काम गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अदालतको चरित्र, अदालतको संरचना, अदालतको प्रकृति र काम बुझेर पत्रकारिता भएमात्रै देशका लागि फाइदा हुने बताउनु भयो । उहाँले अदालतले आफैँ आफ्नो बारेमा बोल्न नसक्ने भएकाले सञ्चारमाध्यमले अदालतको मर्म बुझेर समाचार प्रकाशन एवं प्रशारण गर्नुपर्ने बताउनु भयो । उहाँले अदालतले फैसला र आदेशमार्फत मात्रै बोल्नसक्ने र अदालतको स्वतन्त्रता बचाउनको लागि प्रेसको अहं दायित्व हुने बताउनु भयो । सञ्चारमाध्यमले स्वच्छ रुपमा अदालतका कुराहरु बाहिर ल्याउन आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ । उहाँले स्वतन्त्र र सक्षम न्यायपालिकाका लागि प्रेस सहयात्री रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अदालतको चरित्र, अदालतको संरचना, अदालतको प्रकृति र काम बुझेर पत्रकारिता हुनसक्यो भने देशका लागि फाइदा छ । समाजका लागि फाइदा छ । अदालतको लागि मात्रै फाइदा हुँदैन । अदालतले आफैँ आफ्नो बारेमा बोल्दैन । बोल्ने चरित्र र नेचर होइन । अदालतले फैसला र आदेशमार्फत बोल्ने हो । त्यो फैसला र आदेश आफ्नो बारेमा हुँदैन । अदालतको स्वतन्त्रता बचाउनको लागि प्रेसको अहं दायित्व हुन्छ । अरु मानिसहरुको झुण्ड आएर पनि अदालतको बारेमा बोलिदिने होइन । मिडियाले स्वच्छ तरिकाले रिपोर्टिङ गरेर अदालतका कुरा ल्याउनुपर्छ । स्वतन्त्र र सक्षम न्यायपालिकाका लागि प्रेस सहयात्री हो ।’
कार्यक्रममा बोल्दै अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले पत्रकारको जिम्मेवारी आम नागरिक, पाठक, दर्शक र श्रोताप्रति उत्तरदायी हुनु रहेको बताउनु भयो । उहाँले टेलिफोन निर्भर पत्रकारिताले आत्मविश्वासका साथ समाचार लेख्न नसकिरहेको अहिलेको परिवेशलाई अन्त्य गर्न आवश्यक भएको बताउनु भयो । उहाँले पत्रकारहरु डिजिटल माध्यमका कारण बढी सुविधाभोगी भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पत्रकारहरुले मान्य न्यायाधीशहरुसँग कुम जोडेर बसेको बेलामा आफूलाई पनि अलिअलि न्यायाधीश भन्दा ठिक, अलिअलि तलतिरको म पनि त्यही वरिपरीकै मान्छे हुँ जस्तो लाग्छ । तर होइन । प्रत्येक पटक हाम्रो काम भनेको प्रश्न गर्ने हो । पत्रकार र अरु सार्वजनिक पदमा बसेका व्यक्तिहरुको बीचको जिम्मेवारीमा के फरक हुन्छ र ? त्यही फरक हुन्छ, सम्बन्धित पदाधिकारीहरुको जिम्मेवारी आफ्नो संस्था वा आफू भन्दा माथिल्लो पदाधिकारीप्रति जवाफदेही हुनु । तर पत्रकारको जिम्मेवारी आम नागरिक, पाठक, दर्शक र श्रोताप्रति उत्तरदायी हुनु हो । टेलिफोन निर्भर भएका कारण आत्मविश्वासका साथ समाचार लेख्न सकेको छैन । डिजिटल प्ल्याटफर्मका कारण सुविधाभोगी भएका छौँ ।’
उहाँले न्यायलयमा धेरै हदसम्म परिवर्तन आएको पनि बताउनु भयो । प्रेस, विपक्षी दल र न्यायालय कमजोर भएको समयमा लोकतन्त्र धरापमा पर्ने बताउनु भयो । उहाँले अहिले झन्डै दुई तिहाईको सरकार बन्न लागेको उल्लेख गर्दै अदालत र पत्रकार एक ठाउँमा बसेर छलफल गर्नेकुरा सुखद् भएको पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच