काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो दिनमै पूर्णता पाएको छ । प्रधानमन्त्री बनेपछि मन्त्री छनोटमै हप्ता/महिना दिन लाग्ने विगतको परम्परा भने यसपटक तोडिएको छ । संसद्मा रहेका दुई ठूला दल कांग्रेस र एमाले बीचको गठबन्धनसँगै सरकारलाई बहुमत पुर्याउन साना दलहरूलाई समेट्नुपर्ने आवश्यकता नभएपछि पहिलो दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
गठबन्धनका सरकार बन्दा यसअघि मन्त्रालयमै भागबण्डामा अन्तरदल किचलो र भागबण्डा भएपछि पार्टी भित्रका आकांक्षी मिलाउँदा मिलाउँदै मन्त्रिपरिषद् विस्तारमै लामो समय बित्ने गरेको थियो । यसपटक गठबन्धनका दलहरूले प्रधानमन्त्रीको शपथअघि नै मन्त्रालयको भागबण्डा र मन्त्रीहरूको नाम टुंगो लगाएका हुन् । २२ वटै मन्त्रालयहरूमा मन्त्री नियुक्त भई सोमबार नै शपथ लिएका छन् । उनीहरूले सोमबार नै कार्यभार सम्हालेका छन् ।
प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले शपथग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गर्नुभएको थियो । सिफारिशअनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका हुन् । ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट आठ, जनता समाजवादी पार्टीबाट दुई र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक गरी २१ मन्त्री समेटिएका छन् । प्रमुख सत्ता साझेदार कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी भएको हो । साना पार्टी जसपा र लोसपाले मात्र सरकारमा स्थान पाएका छन् । नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमतले ओली सरकारमा स्थान पाएनन् । २५ सदस्यीय मन्त्रिपरिषदमा अब तीनजना राज्यमन्त्री मात्र नियुक्त हुन बाँकी छ ।
कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बन्नुभएको छ । सिंहलाई सहरी विकास र पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक-पटक मन्त्री भएका व्यक्ति हुनुहुन्छ । कांग्रेसबाट संसदीय दलका प्रमुख सचेतक रहनुभएका रमेश लेखकले गृह मन्त्रालयको जिम्मा पाउनुभएको छ । नयाँ सरकारमा कांग्रेस नेतृ आरजु राणा परराष्ट्रमन्त्री बन्नुभएको छ । त्यस्तै, दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वन र तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्री बन्नुभएको छ ।
प्रधानमन्त्रीका सारथि
१) प्रकाशमान सिंह- उपप्रधान तथा सहरी विकास
२) विष्णु पौडेल- उपप्रधान तथा अर्थ
३) पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि
४) रमेश लेखक- गृह
५) शरद्सिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
६) आरजु राणा- परराष्ट्र
७) प्रदीप यादव-खानेपानी
८) बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९) दामोदर भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति
१०) नवलकिशोर साह सुडी- महिला, बालबाबालिका तथा ज्येष्ठ नागरिक
११) देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात
१२) तेजुलाल चौधरी- युवा तथा खेलकुद
१३) प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या
१४) अजय चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला
१५) रामनाथ अधिकारी- कृषि
१६) बद्री पाण्डे- संस्कृति पर्यटन तथा नागरिक उड्डयन
१७) विद्या भट्टराई- शिक्षा
१८) मानवीर राई- रक्षा
१९) दीपक खड्का- ऊर्जा जलस्रोत तथा सिँचाइ
२०) राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन
२१) ऐनबहादुर शाही- वन तथा वातावरण
कांग्रेसको शेखर कोइरालाबाट स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीले जिम्मेवारी पाउनुभएको छ । एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्नुभएको छ । राजकुमार गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ । त्यस्तै, मानवीर राई रक्षामन्त्री, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्नुभएको छ । भण्डारी र अधिकारी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि सोही जिम्मेवारीमा हुनुहुन्थ्यो । एमालेबाट शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्नुभएको छ । त्यस्तै, जसपाबाट नवलकिशोर साह सुडी महिला बालबालिका तथा ज्येष्ठ नागरिक र प्रदीप यादव खानेपानी मन्त्री बन्नुभएको छ ।
ओलीद्वारा पदभार ग्रहण
प्रधानमन्त्री ओलीले पदभार ग्रहण गर्नुभएको छ । ओलीले सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार सम्हाल्नुभएको हो । यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट शपथ लिएपछि लैनचौरको शहीद स्मारक र नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर शहीद र पार्टीका संस्थापक नेताहरूको फोटोमा माल्यार्पण गर्नुभएको थियो । प्रधानमन्त्रीको शपथ लिएपछि शहीद स्मारकमा पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने परम्परा रहेको छ । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारी तथा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।
त्यसपछि उहाँ पदभार ग्रहण गर्न सिंहदरबार पुग्नुभएको थियो । प्रधानमन्त्री कार्यालयमा सचिवसहितका कर्मचारीले ओलीलाई स्वागत गरेका थिए । ओलीको स्वागतमा ब्राम्हणहरूले स्वस्ति वाचन मन्त्रोच्चारण गरेका थिए । ओलीलाई प्रधानमन्त्रीको कार्यालयमा निमित्त मुख्य सचिव लीलादेवी गड्तौलाले टीका मालासहित स्वागत गर्नुभएको थियो । ओली यसअघि २०७२, २०७४ र २०७८ मा गरी तीनपटक प्रधानमन्त्री बनिसक्नु भएको छ । ओलीले दोस्रोपटक नेकपाकालीन समयमा झण्डै दुईतिहाइ बहुमतको हाराहारीको सरकारको नेतृत्व गर्नुभएको थियो । यसपटक पहिलो ठूलो दल नेपाली कांग्रेसको समर्थन र सहभागितापछि एमाले अध्यक्ष ओली दुईतिहाइ मतसहितको प्रधानमन्त्री बन्न सफल हुनुभएको छ । राजनीतिक स्थायित्व दिने, अर्थतन्त्रमा सुधार ल्याउने, संविधानका कमजोरी सुधार्ने, नागरिकलाई डेलिभरी दिनेलगायत प्रतिबद्धता जनाउँदै दुई ठूला दलले सरकार बनाएका छन् ।
जनताको चाहनाअनुसार सुविधायुक्त सहर बनाउँछौँ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहनाअनुसार सुविधायुक्त सहर बनाउने बताउनुभएको छ । मन्त्री पदको शपथ ग्रहणपछि सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री सिंहले मन्त्रालयको काम, कर्तव्य र अधिकार तथा सीमाभित्र रहेर सुविधायुक्त सहर बनाउने काम गरिने जानकारी दिँदै भन्नुभयो, ‘जनताको चाहनाअनुरूप सुविधा दिन लायक सहर बनाउनका लागि मन्त्रालयको काम, कर्तव्य र अधिकार तथा सीमाभित्र बसेर कामहरू अघि बढाउँछौँ । जनतामा चाहनाअनुसार काम भएन भन्ने गुनासा पनि छन्, यसलाई सम्बोधन गरेर जानुपर्छ ।’
सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री पौडेल
नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताउनुभएको छ । सोमबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गर्नुभएको हो । बजेट कार्यान्वयनमा कुनै समस्या देखिएमा त्यसलाई प्रक्रियागत रूपमा संशोधन गर्न सकिने धारणा राख्दै मन्त्री पौडेलले भन्नुभयो, ‘सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन । यदि बाधा देखियो भने संशोधन प्रक्रियामा जान्छौँ ।
अहिलेको निराशा चिर्ने र आशा जगाउने गरी सरकार अगाडि बढ्छ । उत्पादन र रोजगारीमा केन्द्रित भएर अघि बढ्नेछौँ, यसका लागि सबै क्षेत्रले परिवर्तित सन्दर्भमा सहयोग गर्ने अपेक्षा गरेको छु । सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा रहेकाले यो क्षेत्र सन्तुलित ढंगले अघि बढोस् भन्ने चाहना छ ।’
सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन : गृहमन्त्री लेखक
नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्ने भएको बताउनुभएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित स्वागत तथा पदबहाली कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नुभएको बताउनुभएको हो । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु र अर्थतन्त्रलाई उकास्ने काम पनि सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, ‘अहिले नेपाल सरकारको प्राथमिकता भनेको राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, अर्थतन्त्रमा जुन शिथिलता, संकुचन देखापरेको छ, अर्थतन्त्रलाई क्रियाशील, चलायमान गरेर अर्थतन्त्र उकास्ने । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण गर्ने लगायतका कामहरू अहिले सरकारको प्राथमिकता हुन् र त्यो उद्देश्यका साथ यो सरकार गठन भएको छ ।’ गृहमन्त्री लेखकले आफूले इमानदारी र निष्ठापूर्वक काम गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कांग्रेसका मन्त्रीहरू पुगे पार्टी कार्यालय सानेपा
नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेकाहरूले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेलगत्तै प्रदीप पौडेल पदभार ग्रहण गर्न मन्त्रालय पुग्नुभएको थियो । पदभार ग्रहणपछि सानेपा पुग्नुभयो । बाँकी मन्त्रीहरूले पद तथा गोपनीयताको शपथपछि सिधै सानेपा पुगेर नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेका थिए । पार्टी कार्यालयमा माल्यार्पण गरेलगत्तै मन्त्रीहरू आ–आफ्नो मन्त्रालयतर्फ लागेका थिए । कांग्रेसबाट उपप्रधानसहित नौजना मन्त्री बनेका छन् ।
यस्तो छ मन्त्रीहरूको वरीयता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ४५औँ प्रधानमन्त्री बन्नुभएको छ । सोमबारै प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार, प्रधानमन्त्री ओलीपछि मन्त्रिपरिषद्को दोस्रो वरीयतामा नेपाली कांग्रेसका तर्फबाट नेतृत्व गरेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह रहनुभएको छ । वरीयताको तेस्रो नम्बरमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल रहनुभएको छ । त्यसपछि क्रमशः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया हुनुहुन्छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही हुनुहुन्छ ।
माधव नेपालद्धारा शपथ समारोह बहिष्कार
प्रधानमन्त्री ओलीको शपथग्रहण समारोह पूर्व-प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बहिष्कार गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथग्रहण समारोहमा प्रायः सबै शीर्ष नेता देखिँदा अध्यक्ष नेपाल भने देखिनुभएन । कार्यक्रममा पूर्व-प्रधानमन्त्रीको हैसियतमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई उपस्थित हुनुभएको थियो । एमालेबाट अलग भएपछि माधव नेपाल अहिलेसम्म ओलीको कार्यक्रममा सहभागी हुनुभएको छैन भने दुई नेताहरू बीचको सम्बन्धमा अझै सुधार आउन सकेको छैन ।
ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उपधारा (७६) २ अनुसार नयाँ सरकार गठन गर्न गरेको आहृवान र प्रधानमन्त्रीमा ओलीलाई गरेको नियुक्ति संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपतिले गरेको सरकार गठनको आहृवान, त्यसअनुसार जारी पत्र र शपथ रोक्न माग गर्दै अधिवक्ता दीपक अधिकारी, खगेन्द्र चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट दिनुभएको हो । उक्त रिट दर्ता भएको र साउन ६ गतेलाई पेसी तोकिएको सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो । रिट निवेदकहरूले धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन पाएर यसअघि प्रधानमन्त्रीमा नियुक्त पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि उपधारा ३ अनुसारको प्रधानमन्त्री नियुक्त हुनुपर्ने जिकिर गरेका छन् । उपधारा ३ मा संसद्को सबैभन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिले नियुक्ति गर्नुपर्ने निवेदकको माग छ ।
कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाइने सरकारको पहिलो निर्णय
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई तीन सय दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गर्नुभएको हो । ‘पहिलो निर्णय कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ । यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको’, सञ्जालमा लेखिएको छ । उहाँले कीर्तिपुर स्टेडियमलाई सुविधासम्पन्न बनाउन १० महिनाको समयसीमा तोकिएको जानकारी दिनुभएको छ ।
यस्तै, सरकारले निमित्त मुख्यसचिव लीलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ ।
सोमबार बसेको ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहनुभएकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको हो । नेपालको इतिहासमा उहाँ पहिलोपटक कार्यकारी अधिकार सहितको पहिलो मुख्यसचिव हुनुहुन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलाले वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाउनुभएको थियो ।
सरकारले बाढी पहिरोजस्ता विपद्मा बेपत्ता भई १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकलाई सरह राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्का घटनामा बेपत्ता भई घटना भएको १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिलाई मृतकलाई सरह राहत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले एक महिनाभित्र केही न केही फरक देखाउन निर्देशन दिएको पनि उहाँले बताउनुभयो ।
‘६ महिनाभित्र यो क्याबिनेटले काम गर्ने भयो भनेर विश्वास दिलाउने र एक वर्षभित्र इण्डिकेटरको हिसाबले पनि सबै भिजिवल परिवर्तन आउनुप¥यो, परिणाम देखिनुपर्यो,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएको भन्दै मन्त्रालयहरूबीच समन्वय गरेर काम गर्न निर्देशन दिएको प्रवक्ता सुब्बाले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच