काठमाडौं । नेकपा एमालेसँग सत्ता साझेदारीमा रहुन्जेल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई खासै वास्ता गर्नुभएन । मोर्चाका बैठकहरू नियमित हुन सकेनन् र कार्यक्रम पनि केही भएन । मोर्चामै रहेको महत्वपूर्ण दल जसपा नेपालको विभाजनकै आरोप प्रचण्डलाई लागेको थियो । सत्तामा हुँदा नखोजेको समाजवादी मोर्चा प्रमुख प्रतिपक्षी दलको नेता बनेपछि प्रचण्डलाई फेरि चाहिएको छ ।
२०८० असार ४ गते प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्मिलित समाजवादी मोर्चाको घोषणा भएको थियो । मोर्चा गठनको बेला माओवादीसँग नेपाली कांग्रेसले सत्ता सहकार्य गरिरहेको थियो । गत फागुनमा कांग्रेस प्रचण्ड सरकारबाट बाहिरिएपछि एमाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी बन्यो । त्यसयता प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय बनाउन कुनै पहल गर्नुभएको थिएन । एमाले अध्यक्ष केपी शर्मा ओली समाजवादी मोर्चाप्रति सकरात्मक नभएकै कारण प्रचण्डकै डिजाइनमा मोर्चा निष्क्रिय भएको थियो ।
सत्ताबाट बहिर्गमन भएलगत्तै प्रचण्डले मोर्चालाई सक्रिय बनाउन खोज्नुभएको छ । मोर्चाको बैठक मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्यो । बैठकमा माओवादी, नेकपा एस, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीका नेताहरू सहभागी थिए । बैठकले संविधानले सुनिश्चित गरेका राजनीतिक अधिकारहरू हनन हुन नदिन खबरदारी गर्ने निर्णय लिएको छ । संसद्को सबैभन्दा ठूला दुई दल मिलेर सरकार बनाउँदा निरंकुशता बढ्नसक्ने, संविधान संशोधनको चर्चाले उपलब्धिमाथि प्रहार हुनसक्ने लगायतका विषयमा छलफल भएको बताइएको छ । बैठकले समाजवादी मोर्चालाई प्रतिपक्षी शक्तिका रूपमा सक्रिय गराउने निर्णय पनि लिएको छ ।
प्रमुख दुई दल मिलेर ओली नेतृत्वमा सरकार बनाएपछि संसद्मा प्रचण्डको भूमिका विपक्षी नेतामा सीमित भएको छ । नेकपा एस पनि प्रतिपक्षमा छ । यस्तो अवस्थामा समाजवादी मोर्चालाई सक्रिय बनाउने तयारी प्रचण्डले गर्नुभएको हो । ‘सरकारमा हुँदा अन्य व्यस्तताले पनि बैठक बसेन होला तर समाजवादी मोर्चाको आवश्यकता अझ बढेर गएको छ । अध्यक्ष कमरेडले मोर्चालाई सक्रिय बनाउने पहल गर्नुभएको हो । यसलाई अन्यथा लिनुहुन्न’, एक माओवादी नेताले भन्नुभयो ।
उपेन्द्रको कुर्सी खाली
समाजवादी मोर्चाको बैठक कक्षको पहिलो लहरमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महेन्द्र राय यादव बस्नुभएको थियो । चन्दको छेउमा एक कुर्सी खाली राखिएको थियो । सहभागी नेताहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका लागि कुर्सी खाली रािखएको बताउनुभएको छ । ‘समाजवादी मोर्चाको प्रमुख घटक उपेन्द्र यादव नेतृत्वको जसपा पनि हो । त्यसैले उहाँका लागि कुर्सी खाली राखेका छौँ’, मोर्चाका एक नेताले बताउनुभयो । जसपा नेपाल विभाजनपछि यादवले आफ्नो पार्टी विभाजनमा प्रचण्डको भूमिका रहेको आरोप लगाउनुभएको थियो । जसपा विभाजनको मुद्दा अदालतमा विचाराधीन छ ।
मोर्चा बैठकमा जाँदैनौँ : यादव
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाको बैठकबारे आफूलाई थाहा नभएको बताउनुभएको छ । हिमालय टाइम्ससँग कुराकानी गर्दै उहाँले समाजवादी मोर्चाको बैठकको जानकारी आफूलाई नआएको बताउनुभयो । जानकारी आएकै भए पनि यथास्थितिमा मोर्चाको बैठकमा आफू नजाने उहाँको भनाइ छ । ‘मोर्चाको बैठकको मलाई खबरसमेत आएको छैन । कुर्सी खाली राखेका छौँ भनेर हल्ला गर्दैमा केही हुँदैन’, यादवले भन्नुभयो । उहाँले समाजवादी मोर्चाको औचित्य, पछिल्ला राजनीतिक घटनाक्रम र अन्य धेरै विषयमा स्पष्टता जरुरी भएकाले यथास्थितिमा मोर्चामा जसपा नेपाल सहभागी नहुने बताउनुभयो । ‘धेरै कुराहरू हुन बाँकी छ । मोर्चाको विषयमा धेरै कुरा टुंगो नलागेसम्म हामी सहभागी हुँदैनौँ’, उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच