
हामीले विद्यालय तहमा पढ्ने गरेको कुरा हो-धन गुम्यो भने केही पनि गुम्दैन । स्वास्थ्यमा हानी भयो भने केही हानी हुन्छ । चरित्रमा दाग लाग्यो भने सबैथोक गुम्न पुग्दछ । विश्वास आर्जन गर्ने भनेको चरित्रका माध्यमबाटै हो । असल चरित्र भएकाले आममानिसको विश्वास जितेका हुन्छन् भने निरन्तर खराब चरित्र प्रदर्शन गरिरहनेको विश्वास कसैले गर्दैन । मानिसले विश्वास कमाउन निकै गाह्रो हुन्छ । कमाएको विश्वास धर्मराउन वा गुम्न रत्तिभर नलाग्न पनि सक्दछ । वर्षौं लगाएर अनेकौं राम्रा कामबाट कमाएको विश्वास एउटै खराब कामका कारण जुनिभरका लागि पश्चात्ताप हुनेगरी पुनः आर्जन गर्नै नसकिने भई हराउन कत्ति बेर लाग्दैन ।
धेरै परको इतिहास हेर्न पनि पर्दैन । नेकपा एमाले फुट्ने बेलामा योगेश भट्टराईलगायतका दश भाइले देखाएका व्यवहारले आज उनीहरूलाई यता न उताको बनाएको विश्लेषण गरिँदैछ । भीम रावल र घनश्याम भुसाल आआफ्नै अडानमा रहे तर नेकपा एमालेमा उनीहरूको कुनै स्थान रहेन । अद्यापि भीम रावल एमालेमै रहेको बताइन्छ तर उनी कता छन् पत्तै नभए जस्तो छ । घनश्याम भने एमालेमा टिक्न नसकेर स्वतन्त्र हुँदै एकीकृत समाजवादी पार्टीमा प्रवेश गरे अनि महासचिवसम्म हुन पुगे । योगेशहरू एमालेका विभिन्न पदमै छन् तर पद अनुसारको अधिकार र हैसियत पार्टीभित्र छ कि छैन भन्ने प्रश्नहरू उठिरहन्छन् ।
मिलाएर कुरा गर्न खोजिएको बारम्बार मन्त्री भएकाहरूको नभई पहिलोपल्ट मन्त्री बन्ने सौभाग्य पाएकाहरूको हो । पहिलेदेखि मन्त्रालयमा खाइखेलेकाहरूको कतिको इज्जत छ र कतिले विश्वास गुमाइसकेका छन्, त्यो विश्लेषण गर्न जरुरी छैन तर पहिलोपल्ट मन्त्री भएकाहरूमा रहेको जनताको आशाको त्यान्द्रो नटुटोस् भन्ने हो ।
घनश्याम भुसालले यसपटक एकीकृत समाजवादीको अध्यक्ष पदका लागि प्रत्यासी हुने रहर गरेका थिए । उनको पक्षमा व्यापक लहर पनि सिर्जना भएको थियो तर पार्टी फुटाउन उक्साउने अनि धोका दिएर एमालेमै जाने व्यक्तिलाई यति छिटै विश्वास गर्न सकिन्न भन्नेहरूको मतले व्यापकता पायो । फलतः योग्यता हुँदाहुँदै पनि र पार्टीभित्रका युवाहरूले समर्थन देखाउँदा देखाउँदै पनि पुनः महासचिव पदमै बसेर एक कार्यकाल बिताउनुपर्ने स्थितिमा पुगे । उनले यो पार्टीमा अब धीरता र इमानदारीता प्रदर्शन गर्न सके भने अर्को कार्यकाल कसैले छेक्न सक्दैन तर सानो पार्टीमा बसेर के नै पो हुन्छ भन्दै छट्पटिए भने के हुन्छ उनैले जान्ने कुरा हो ।
उता एमालेमा योगेश भट्टराई पनि धेरैले रुचाइने व्यक्तिभित्र पर्दछन् । उनले कुनै मन्त्रालय हाँक्न पाए भने उनमा रहेको योग्यता र क्षमताले त्यस मन्त्रालयमा केही परिवर्तन ल्याउन सक्दछन् भन्ने धेरैलाई लागिरहेको छ र पनि उनले मन्त्री बन्ने मौका पाएनन् । मन्त्री बाँड्फाँट हुनुभन्दा दुई घण्टाअघिसम्म पनि बधाई थापिरहेका भट्टराई शपथ लिने बेलामा घरमै थन्किएर बस्न बाध्य भए । सिलाएका दौरा सुरुवालसमेत दराजमा थन्क्याउनु पर्यो । यसको कारण केही नभएर माधव नेपाललाई धोका दिनु नै हो भन्ने विश्लेषण भइरहेको छ । माधव नेपाललाई धोका दिँदा एमालेका अध्यक्ष खुसी हुनुपर्ने हो तर एउटालाई धोका दिनेले आफूलाई पनि धोकै दिन्छ भन्ने सोचिएको हुनसक्ने आँकलन गरिएको छ ।
योगेशमात्रै होइन, त्यतिबेला दश भाइ भनेर चिनिएका कोही पनि मन्त्री बन्न पाएनन् । यो उनीहरूले विश्वास गुमाएका कारण नै हो भन्न अब धक मान्नुपर्दैन । यस्तो परिस्थिति आइसक्यो कि अब एकीकृत समाजवादीतिर जाने हो भने पनि त्यताकाले विश्वास नगर्ने र एमालेमै बस्दा पनि अहिले योगेशले भोगेजस्तै पीडा बारम्बार भोगिरहनुपर्ने त होइन भन्ने शंकाले घेर्न थालेको छ । एउटै घटना र सही समयमा सही निर्णय गर्न नसक्दाका कारण आज यस्तो अवस्थाको सामना गर्नुपरेको छ । दश भाइहरूले पुरानै स्थिति र हैसियतमा पुग्न अब सामान्य हिसाबले पापड बेलेर पुग्दैन भन्ने बेलाबेलाका परिस्थितिहरूले देखाएका छन् ।
असार ३१ गते नेपालले नयाँ मन्त्रिमण्डल पाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित २२ सदस्यीय मन्त्रिमण्डलमा १३ जना पुरानै अनुहारहरू हुन् भने नौजना नयाँ अनुहारले मन्त्री बन्ने अवसर पाएका छन् । कांग्रेसबाट पनि र एमालेबाट पनि पहिलोपटक मन्त्री बनाइएकाहरू छन् । यहाँ कुरा गर्न खोजिएको बारम्बार मन्त्री भएकाहरूको नभई पहिलोपल्ट मन्त्री बन्ने सौभाग्य पाएकाहरूको हो । पहिलेदेखि मन्त्रालयमा खाइखेलेकाहरूको कतिको इज्जत छ र कतिले विश्वास गुमाइसकेका छन्, त्यो विश्लेषण गर्न जरुरी छैन तर पहिलोपल्ट मन्त्री भएकाहरूमा रहेको जनताको आशाको त्यान्द्रो नटुटोस् भन्ने हो ।
क्रेनले ताने झैँ विविध कारणले मन्त्री भएकाहरूका बारेमा पनि चर्चा गर्न त्यति जरुरी छैन । पार्टीमा निरन्तरको योगदान, आफ्नै सामथ्र्य र बलबुताले मन्त्री भएकाहरूप्रति रहेको आमनागरिकको विश्वास टुट्नु हुँदैन भन्ने चिन्ता हो । नयाँ अनुहारहरू मध्येका कतिपयमा जनताका अपार आस्था र विश्वास छ, त्यो उनीहरूले कायम गर्न सकून् भन्ने चाहना सर्वसाधारणको छ । विसं २०७२ को भूकम्पमा धरहरा ढले झैँ उनीहरूमाथि गरिएको विश्वास गल्र्यामगुर्लुम्म नढलोस् भन्नका खातिर धेरैले सजग बनाउने काम गरिरहेका छन् र त्यसमा नौला मन्त्रीहरू समर्थ होऊन् भन्ने शुभकामना हो ।
पहिलोपटक मन्त्री बनेका कांग्रेसका बद्री पाण्डे र प्रदीप पौडेल सर्वसाधारणले रुचाइने पात्र हुन् । रामनाथ अधिकारीले उनीहरूको जत्तिको चर्चा पाएको नभए तापनि उनको इमानदारीतामाथि कहिल्यै प्रश्न उठेको छैन । बारम्बार मन्त्री भएका भए पनि रमेश लेखकप्रति जनताको बेग्लै किसिमको मूल्यांकन छ । एमालेकी विद्या भट्टराई, बलराम अधिकारीहरू पनि आजसम्म कुनै दाग नलागेका पात्रहरू हुन् । गठबन्धन सरकार र प्रधानमन्त्री परिवर्तन हुने सम्झौता जस्ता कारणले गर्दा यी मन्त्रीहरूको कार्यकाल धेरै लामो हुन्छ भनेर अनुमान गर्न सकिँदैन । यिनीहरूले छोटो समयका लागि मन्त्री बन्ने मौका पाएका छन् र यही मौकामा जनताबाट प्राप्त आफूमाथिको विश्वासलाई अझ बलियो बनाउने कि धराशायी बनाउने अब यिनीहरूकै हातमा छ ।
यहाँ उल्लेख गरिएका सबैका मन्त्रालयहरू कठिन प्रकृतिका छन् । रमेश लेखकले हाँक्ने गृह मन्त्रालयबाट कोही-कोहीबाहेकका सबैले कुनै न कुनै दाग बोकेरै गएका छन् । बद्री पाण्डेको संस्कृतिको पाटो त त्यति खतरनाक छैन तर पर्यटनतर्फको क्षेत्रबाट अधिकांश मन्त्रीहरूमाथि कतै न कतै प्रश्न उठेकै छ । गगन थापाले गरेका सुधारहरूमाथि थप सुधार गर्ने प्रतिबद्धताका साथ स्वास्थ्य मन्त्रालय पुगेका प्रदीप पौडेललाई त्यहाँको पुरानो जालो तोडेर जनतामा आशाको सञ्चार थप्न त्यति सहज देखिँदैन । शिक्षा मन्त्रालयमा संघसंगठनहरूको दबाब झेल्दै सफल मन्त्री भएर निस्कन विद्यालाई पनि फलामकै चिउरा चपाएसरह हुने नै छ । भूमिसुधार मन्त्रालयबाटै धेरै मन्त्री र कर्मचारीहरू जेल पुग्ने गरेको बलराम अधिकारीले हेक्का राखेकै होलान् ।
नेपालका मन्त्रीहरूका विगत हेर्दा मन्त्रीहरूलाई दुईवटा अवसर प्राप्त भएको देखिन्छ । एकातिरबाट इज्जतको पर्दाले ढाक्न खोज्दो रहेछ भने अर्कोतिर धनको मुस्लोले घेर्ने गरेको पाइन्छ । मन्त्रीलाई इज्जत र धनमध्ये एउटामात्रै छान्ने सुविधा प्राप्त हुने हुँदा नौला मन्त्रीहरूले विशेष ख्याल गर्ने नै छन् ।
पर्यटन मन्त्रीलाई कहिले वाइड बडी जहाज किन्न त कहिले न्यारोबडी जहाज किन्न माथिबाट मात्रै नभएर देशी विदेशी दबाब र प्रलोभन दुबै आउन सक्दछन् । पहिले किनिएका र चलाउन नमिलेर थन्किएका जहाजहरूका बारेमा बुझ्दै नबुझी अरू कसैका स्वार्थको दबाब झेल्न नसकेर बद्री पाण्डे अलमलिए भने उनले आजसम्म आर्जन गरेको विश्वास कहिल्यै फिर्ता गर्न सक्दैनन् । वीरअस्पताल लगायतका सरकारी अस्पतालहरूमा थन्किएका अर्बाैं रुपैयाँका उपकरणहरू प्रयोगमा ल्याउन र प्रयोगमा नआउने उपकरण त्यहाँ रहेछन् भने त्यस्ता सामग्री किन्नेमाथि कारबाही प्रक्रिया बढाउन नसके प्रदीप पौडेलमाथि गरिएको विश्वास पनि सहजै गुम्दछ । यी दुई होनहार भनिएका मन्त्रीहरूले पाइलैपिच्छे बाटो फुक्दै हिँड्नुपर्ने कुरालाई निश्चय नै ध्यान दिनेछन् ।
कृषि मन्त्रालयका रामनाथ अधिकारीलाई ओहोदामा रहेका तल र माथिकाहरूको दबाब त अनेकौं कुरामा होला तर उनले कृषकलाई समयमै पर्याप्त मल उपलब्ध गराउन सके भने उनको हाई हाई हुनेछ । आजसम्म कसैकसैका पालामा केही धेरै मल आयो भनिए पनि किसानले सुलभ तरिकाले मल पाए भन्ने सुनिएको छैन भन्ने कुरा कृषक पृष्ठभूमिबाटै माथि उठेका अधिकारीको जानकारीमा छ भन्ने विश्वास गरिएको छ । शिक्षामन्त्री विद्याले शिक्षा विधेयक पारित गराउन सकिन् भने नै ठूलो कुरा हो भने बलरामको बल सरकारी जग्गा जोगाउन र खोज्नमै केन्द्रित भए पुग्छ ।
केही मन्त्रीहरूका नाम उल्लेख गरे पनि सबै नौला मन्त्रीका उस्तै चुनौती हुन् । पुरानामध्ये पनि असल मन्त्रीहरू छन् र कोही कोहीले यदाकदा नकारात्मक चर्चा कमाएका भए तापनि रत्नाकर डाकुबाट वाल्मीकि ऋषि बनेको इतिहास पढेर सुध्रिने मौका सबैलाई छ । नौला मन्त्रीले विश्वास गुमाएनन् भने भोलिका लागि असल नेताको खडेरी पर्ने थिएन भन्नेमा विशेष चासो हो । त्यसो त सरकारका नेतृत्व गरेका बारम्बार प्रधानमन्त्री र मन्त्री हुँदै आएका केपी शर्मा ओलीको हातमा नै लगाम छ । उनले लगामलाई कतापट्टि डो¥याउँछन्, मन्त्रीहरू दौडिने त्यतै नै हो ।
नेपालका मन्त्रीहरूका विगत हेर्दा मन्त्रीहरूलाई दुईवटा अवसरहरू प्राप्त भएको देखिन्छ । एकातिरबाट इज्जतको पर्दाले ढाक्न खोज्दो रहेछ भने अर्कोतिर धनको मुस्लोले घेर्ने गरेको पाइन्छ । दुबै कुरा एकैपटक प्राप्त गर्ने सौभाग्य कुनै कुनै मन्त्रीले पाएको पनि देखिएको छ तर त्यस्तो बिरलै हुने गर्दछ । मन्त्रीलाई इज्जत र धनमध्ये एउटामात्रै छान्ने सुविधा प्राप्त हुने हुँदा नौला मन्त्रीहरूले विशेष ख्याल गर्ने नै छन् । सफलताका लागि हार्दिक शुभकामना !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच