काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको भन्दै अर्थतन्त्र सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले निजी क्षेत्रलाई वर्तमान सरकारप्रति आशा, भरोसा हुनैपर्ने समेत बताउनुभयो । प्रधानमन्त्री ओलीलाई बधाई दिन पुगेको नेपाल उद्योग परिसंघ(सिएनआई) प्रतिनिधिमण्डलसँग उहाँले भन्नुभयो, ‘मुलुकको प्रधानमन्त्री बन्नमात्र म आएको होइन । समस्या देखेर, समस्या समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नैपर्छ भनेर आएको हुँ, त्यसैले तपाईहरूको आशा भरोसा हामीमाथि हुनैपर्छ ।’ कुनै पनि करका विषय अनुहार हेरेर गर्न नहुने भन्दै उहाँले गलत नीति लिएको बेला निजी क्षेत्रले त्यसको विरोध गर्न सक्नुपर्नेसमेत बताउनुभयो । प्रधानमन्त्री ओलीले अर्थतन्त्र चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिँदै मौद्रिक नीति कठोर हुन नहुने पनि बताउनुभयो ।
‘मुलुकको प्रधानमन्त्री बन्नमात्र म आएको होइन । समस्या देखेर, समस्या समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नैपर्छ भनेर आएको हुँ, त्यसैले तपाईंहरूको आशा भरोसा हामीमाथि हुनैपर्छ ।’
प्रधानमन्त्री ओलीलाई बधाई दिँदै सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्र उकास्न सरकार चुक्न नहुने बताउनुभयो । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाहृय क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको भन्दै उहाँले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो ।
विगतका संकुचनकारी मौद्रिक नीतिका कारण समग्र बजार मागमा संकुचन आएको र अर्थतन्त्र शिथिल बन्न पुगेको उहाँको भनाइ थियो । सो अवसरमा सिएनआईका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वअध्यक्षद्वय सतिशकुमार मोर, हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायतले अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
उद्योग र श्रम मन्त्रीसँग पनि छलफल
सिएनआईले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग छुट्टाछुट्टै छलफल गरेको छ । शुक्रबार मन्त्रीद्वयलाई बधाई दिँदै सिएनआईले आर्थिक अवस्था र सुधारका विषयमा सुझाव दिएको हो । अध्यक्ष अग्रवालले निरन्तर घट्दो अर्थतन्त्र माथि उकास्न औद्योगिक उत्पादन, निर्माण क्षेत्र र थोक तथा खुद्रा क्षेत्र चलायमान बनाउनुपर्ने सुझाव दिनुभयो ।
उल्लेखित क्षेत्रमा आएको निराशाका कारण समग्र अर्थतन्त्र संकुचित भएको भन्दै उहाँले युवा शक्ति पलायन रोक्न मुलुकमा औद्योगीकरणलाई बढावा दिइनुपर्नेमा जोड दिनुभयो । शिथिल अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र लगानी गर्न सक्ने विश्वासको वातावरण बनाइनुपर्ने अग्रवालले बताउनुभयो । उद्योगमन्त्री भण्डारीले कोरोनापछि बिग्रिएको अर्थतन्त्र जसरी पनि उकास्नुपर्ने भन्दै प्रधानमन्त्रीले पनि महसुस हुनेगरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएकाले अर्थतन्त्रको सुधार उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।
श्रममन्त्री भण्डारीले यो सरकारप्रति आशा र भरोसा रहेको भन्दैै सोहीअनुसार काम हुने बताउनुभयो । मन्त्री भण्डारीले आफूले यसअघि राखेका योजना प्राथमिकतासाथ कार्यान्वयन गर्दै लैजानेसमेत उहाँले बताउनुभयो । सो अवसरमा सिएनआई निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, भीम घिमिरे, उद्योग समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, रोजगारदाता परिषद् सभापति धु्रव रिजाललगायतको उपस्थिति रहेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच