काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि संविधान संशोधन अपरिहार्य भएको बताउनुभएको छ । संविधान निर्माण र अभ्यासको १० वर्ष पुग्न लागिसकेकाले संविधानमा समयानुकूल संशोधन जरुरी रहेको भन्दै नेता कोइरालाले संशोधनका क्रममा संविधानले प्रदत्त गरेका अधिकारहरू अझ बढी सुनिश्चित हुने बताउनुभयो ।
नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको ‘संविधान संशोधन : प्रेस स्वतन्त्रता’ विषयमा गोष्ठीमा नेता कोइरालाले कांग्रेस र एमाले लगायतका दलहरू संविधान संशोधनका लागि तयार हुनु सकरात्मक भएको बताउनुभयो । ‘कांग्रेस एमालेको सात बुँदे सहमतिको मुख्य उद्देश्य भनेको संविधानको अभ्यासका क्रममा देखिएका कमजोरी सुधार्ने र अझ बढी नागरिक अधिकार सुनिश्चित गर्ने हो’, कोइरालाले भन्नुभयो । उहाँले अहिलेको संविधानले दिएका आधारभूत अधिकारमा हानि नपुग्ने गरी संविधान सुधार्न जरुरी रहेको बताउनुभयो । ‘झण्डै दश वर्षको अनुभवबाट भन्न सकिन्छ कि यो संविधानले गरेको व्यवस्थाबाट राजनीतिक स्थिरता सम्भव छैन । निर्वाचन प्रणालीमा सुधार जरुरी छ । निर्वाचन प्रणाली सुधार गर्दा समावेशी समानुपातिक प्रतिनिधित्व गुम्न भने दिनुहुँदैन । समावेशी प्रतिनिधित्व अझ बढी सुनिश्चित हुनेगरी संविधान संशोधन गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
कोइरालाले सरकारको मुख्य दायित्व सुशासन कायम गर्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने, अर्थतन्त्रमा सुधार ल्याउने र संविधानमा सुधार गर्ने रहेको भन्दै प्रधानमन्त्री र मन्त्रीहरूका गतिविधि त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । संविधानले नै समयानुकूल पुनरावलोकनको विकल्प खुल्ला राखेकाले प्रमुख दलहरू संविधान संशोधनको एजेण्डामा लाग्नु अन्यथा नहुने बताउनुभयो । ‘यो संविधान समयअनुसार पुनरावलोकन गर्न मिल्ने गरी नै बनाएको हो । संविधानका मूलभूत कुरामा तलमाथि नहुने गरी यसलाई सुधार्नुपर्छ’, उहाँले भन्नुभयो । संविधान संशोधनको सन्दर्भबाट कोही पनि आत्तिन नहुने तर रचनात्मक सहयोग र खबरदारी भने गर्नुपर्ने उहाँको भनाइ छ ।
कोइरालाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति नेपाली कांग्रेस सधैँ प्रतिबद्ध रहेको भन्दै संविधानका प्रेसविरोधी दफा सुधार गर्न कांग्रेस तयार रहेको बताउनुभयो । प्रेस युनियनले संविधान सुधारका लागि रचनात्मक सुझाव दिनुपर्ने भन्दै उहाँले कांग्रेस नागरिक र प्रेसका अधिकारप्रति जिम्मेवार रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले वर्तमान संविधानमा उल्लेख भएका प्रेसविरोधी प्रावधानहरूबारे चर्चा गर्नुभएको थियो । युनियनका अध्यक्ष शिव लम्सालले संविधान संशोधनमा पत्रकार र सञ्चार क्षेत्रका मुद्दाहरू समावेश गराउन युनियनले देशव्यापी अभियान चलाउने बताउनुभयो । युनियनका उपाध्यक्ष नकुल अर्यालले संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता लेखिए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन पार्ने प्रावधानहरू कायमै रहेकाले सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच