काठमाडौं । अमेरिकी भिसा प्रकरणमा मुछिनुभएकी उपसभामुख इन्दिरा राना मगरमाथि थप दबाब पर्दै गएको छ । पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी नेपालस्थित अमेरिकी राजदूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख राना विवादमा पर्नुभएको हो । उपसभामुखमाथि छानविन गर्न सडक र सदनमा आवाज उठ्न थालेको छ । सांसदहरूले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरमाथि छानविन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरूले उपसभामुख रानामगरमाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानविन गर्न माग गरेका हुन् ।
सांसदहरूले उपसभामुखमाथि गम्भीर आरोप लागेपछि प्रतिनिधि सभाको गरिमामाथि नै प्रश्न उठ्ने भन्दै तत्काल छानविन गरी सत्यतथ्य पत्ता लगाउनुपर्नेमा जोड दिएका छन् । समितिको बैठकमा बोल्दै सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु लज्जास्पद विषय भएको बताउनुभयो ।
उपसभामुखमाथि प्रश्न उठ्नुले सांसदहरूको शिर निहुरिएको जिकिर गर्दै सांसद न्यौपानेले भन्नुभयो, ‘यो निकै लज्जास्पद विषय हो । वास्तवमा हामी सांसदहरूले शिर निहुराउनुपर्ने अवस्था भएको छ । देशको सम्मानित पदमा बसेको व्यक्तिले गर्नुभयो कि गर्नुभएन थाहा छैन । तर, यसको छानविन हुनुपर्छ कि पर्दैन ? गर्नुभएको छैन भने पनि उहाँ त्यो दोषबाट मुक्त हुनुपर्छ । दोषी हो भने उहाँ कठघरामा उभिनुपर्छ । उपसभामुख भनेर उहाँले त्यसबाट उन्मुक्ति पाउनु हुँदैन ।’ नेकपा एमालेका सांसद रघुजी पन्तले उपसभामुख रानाको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरीसमेत आएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएर समितिले कदम चाल्नुपर्ने बताउनुभयो । कानुनी र राजनीतिक पक्षलाई समेत हेरेर विषय अगाडि बढाउनुपर्ने धारणा राख्दै सांसद पन्तले भन्नुभयो, ‘उपसभामुखको विषयमा हामी कहाँ निवेदन पनि आएको छ । यसलाई के गर्ने ? यसको कानुनी, राजनीतिक सबै पक्षहरूलाई गम्भीरतापूर्वक हेरेर के गर्न मिल्छ ? फेरि हामीले गरेको काममाथि प्रश्न पनि कतैबाट नउठोस् । उपसभामुख हुनुहुन्छ, किन यसरी गरियो ? भन्ने प्रश्न पनि नउठोस् । कानुनी र वैधानिक रूपले पनि हामीले केही गर्छौं भने कुनै कदम चाल्छौँ भने त्यसको आधार हुनुपर्छ ।’ उपसभामुखको विषय सिंगो संसद्सँग जोडिने विषय भएको उल्लेख गर्नुभएका नेकपा एमालेकै सांसद वासुदेव घिमिरेले दोषी देखिएमा कानुनी कारबाही गर्नुपर्ने स्पष्ट पार्दै भन्नुभयो, ‘यो विषय सिंगो संसद्सँग जोडिएको हुनाले अत्यन्तै गम्भीर खालको विषय हो । र, यसलाई आवश्यक कारबाही अगाडि बढाउनुपर्छ भन्ने कुरा राख्न चाहन्छु ।’
के हो विवाद ?
उपसभामुख इन्दिरा रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्वजनिक भएपछि विवादमा पर्नुभएको हो । उपसभामुख रानामगरले सन् २०२३ फेबु्रअरी २६ मा अमेरिकाको न्युयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँचजना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो । पत्र बाहिरिएपछि सामाजिक सञ्जाल र मिडियामा उहाँको आलोचना मात्र होइन पदबाट राजीनामा दिनसमेत दबाब बढ्दै गएको छ । रानाले दूतावासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो । उपसभामुख रानाले व्यक्तिगत रूपमा पत्र लेखेको र संसद् सचिवालयसँग असम्बन्धित व्यक्तिहरूलाई भिसा अन्तर्वार्ताको लागि सिफारिश गरेकाले प्रश्न उठेको हो ।
रानाले रातो पासपोर्ट प्रयोग गर्ने हुनाले उहाँको हकमा भिसाका लागि समस्या नहुने भए पनि सिफारिश गरेका व्यक्तिहरू संसद् र संसद् सचिवालयसँग सम्बन्धित नरहेपछि विभिन्न कोणबाट प्रश्न उठेको छ । उपसभामुख रानाको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषयमा तीन महिनाअघि नै जानकारी भएको खुलासा भएको छ । अमेरिका जान नपाएको र पैसा पनि डुबेको गुनासो प्राप्त भए पनि पछि ‘लेनदेन मिलेको’ भन्दै रास्वपाले यो विषय गुपचुप राखेको थियो । यो प्रकरण सतहमा आएपछि रास्वपाका नेताहरूले गम्भीरतापूर्वक लिनुको सट्टा सामान्य विषयलाई ठूलो बनाइएको टिप्पणी गरेका छन् ।
रास्वपाका पूर्वमहामन्त्री डा.मुकुल ढकालले पनि यो विषयमा आर्थिक लेनदेन भएको बताउनुभएको छ । पैसा दिएको तर अमेरिका जान नपाएको भन्दै सम्बन्धित व्यक्तिहरूले गत वैशाखमा रास्वपाको संयन्त्रमा गुनासो गरेका थिए । यो विषयमा पार्टी सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, तत्कालीन महामन्त्री मुकुल ढकाल र संगठन विभागका सचिव शंकर श्रेष्ठबीच विभिन्न चरणमा छलफल भएको थियो । पार्टी संयन्त्रसँगको छलफलमा उपसभामुखले आफूले त्यस्तो पत्राचार नै नगरेको दाबी गरेको संगठन सचिव श्रेष्ठको दाबी छ ।
उपसभामुखको लेटरप्याड प्रयोग गरेर अमेरिका पठाउने भन्दै आर्थिक कारोबार भएको विषयलाई रास्वपाले अझै पनि सामान्य रूपमा लिएको छ । उल्टै आफ्नो दलबाट निर्वाचित उपसभामुखको बचाउमा उत्रिएको छ । उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासमा पठाएको विवादित पत्रबारे स्पष्टीकरण सहितको विज्ञप्ति जारी गर्दै आफूविरुद्ध नियोजित कदम चालिएको दाबी गर्नुभएको छ । उहाँले आफूले करुणाभावले उक्त पत्र लेखेको तर पत्र लेखेको डेढ वर्षपछि विवादित बनाउन खोजिनुको पछि नियोजित कदम रहेको टिप्पणी गर्नुभएको छ । तर, सभामुख देवराज घिमिरेले भने भिसा प्रकरणमा उपसभामुख जोडिएको विषयमा गम्भीर चासो दिनुभएको छ ।
मानव तस्करी भएको विज्ञको टिप्पणी
उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषय मानव तस्करीकै प्रकृति रहेको सुरक्षाविज्ञले टिप्पणी गरेका छन् । अवकाश प्राप्त नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू, पूर्वप्रशासक र कानुनी मामिला जानकारहरूले उपसभामुखको पत्रमाथि छानविनसमेत हुनुपर्ने धारणा राखेका छन् । पूर्वडिआइजी हेमन्त मल्लले उपसभामुख रानाको भनाइहरूलाई पटक-पटक हेर्दा फरक-फरक विषय बाहिर आएको उल्लेख गर्दै भन्नुभयो, ‘उपसभामुखका भनाइहरू र गर्नै नमिल्ने पत्राचारको विवरण हेर्दा मानव तस्करीकै प्रकृति हो । हामीले हेर्दा मानव तस्करीकै तरिका यही हो । यसलाई अब नेपाल प्रहरीले अनुसन्धान सुरुआत गर्नुपर्छ ।’
पूर्वगृहसचिव खेमराज रेग्मीले उपसभामुखले गरेको पत्राचारलाई गलत भएको र यसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान हुनुपर्ने जिकिर गर्दै भन्नुभयो, ‘यो पदीय दुरुपयोगको पराकाष्ठा हो । नियत पनि असल देखिएन । अख्तियारको दुरुपयोग भनेको भ्रष्टाचारको विषय हो । भ्रष्टाचारमा अख्तियारले कारबाही गर्नुपर्छ । पैसा लेनदेनको कुरा पनि देखिएको छ ।’ उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसांसदलाई भिसा सिफारिश गरेको भन्दै भक्तपुरका अर्जुन बाँस्कोटाले संसद्को राज्य व्यवस्था समितिमा उजुरी नै दिनुभएको छ ।







टेनिस युगका अन्तिम सम्राट जोकोभिचको
मेसीको सम्मानमा एक मिनेट खेल
युरोपेली फुटबल : पिएसजी र
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि
विपत्तिमा बालबालिकाको शिक्षा र सुरक्षालाई
एसियाड तयारीका लागि पौडेल र