काठमाडौं । सेयर लगानीकर्ताहरूका संस्थाहरूले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई १० बुँदे सुझाव दिँदै नियामक नेपाल धितोपत्र बोर्डलाई स्वायत्त संस्थाका रूपमा अघि बढाउन र कसैको हस्तक्षेप हुन नहुनेतर्फ ध्यानाकर्षण गराएका छन् । उनीहरूले पुँजीबजारको विकास र विस्तारको जिम्मेवारीमा रहेको धितोपत्र बोर्ड प्रभावकारी हुन नसकेको भन्दै जबसम्म धितोपत्र बोर्ड सरकार वा मन्त्रालयबाट नीतिगत एवं रणनीतिक निर्देशनसाथ नतिजा केन्द्रित पूर्ण स्वायत्त निकाय बनाइँदैन, तबसम्म अहिले जस्तै अकर्मण्य, असफल र अपांग रहिरहने बताएका छन् । देशका आमलगानीकर्ताले बोर्ड स्वायत्त निकाय भएर निर्भिक र निडरसाथ पुँजीबजारको सुधारमा काम गरेको हेर्न चाहिरहेको उनीहरूको भनाइ थियो ।
उनीहरूले पुँजीबजार सम्बद्ध विद्यमान ऐन कानुन अव्यावहारिक र एकापसमा बाझिने रहेको भन्दै सुधारका लागि विभिन्न १० बुँदे सुझाव दिएका हुन् । वास्तविक क्षेत्रको विकासबाट समग्र अर्थतन्त्र बलियो भएमात्र पुँजीबजारको दिगो विकास हुने भएकाले नीतिगत उपकरणमार्फत् बढीभन्दा बढी वास्तविक क्षेत्रका कम्पनीलाई पुँजीबजारमा प्रवेश गर्ने वातावरण बनाइनुपर्ने, सर्वसाधारणलाई उचित मूल्यमा सेयर दिएर सहभागी गराउनेभन्दा पनि सेयरको प्रारम्भिक निष्कासनका नाममा ठग्ने र आफ्नो लगानी सर्वसाधारणलाई महँगोमा बेची संस्थापक आफू बहिर्गमन भई कम्पनी अलपत्र पार्ने खालका खेलो-फड्को नियन्त्रण र नियमन गरिनुपर्ने सुझाव पत्रमा उल्लेख छ ।
त्यस्तै वास्तविक क्षेत्रका बजार चलायमान बनाउन अर्थमन्त्रीले अहिले विद्यमान पुँजीगत लाभकरलाई अन्तिम लाभकर भनी नीतिगत व्यवस्था गर्नुपर्ने, जसले गर्दा लगानीकर्ताको मनोबल उच्च भई पुँजीबजार एवं अन्य उद्योगमा समेत लगानी बढ्ने बताइएको छ । उक्त व्यवस्था दीर्घकालीन नीतिका रूपमा आउनुपर्ने आमलगानीकर्ताको माग रहेको बताइएको छ । त्यसैगरी ब्रोकरमार्फत् उचित ब्याजदरमा मार्जिन ल्यान्डिङ गर्ने व्यवस्थाको तत्काल नीतिगत व्यवस्था गर्नुपर्ने, सबै सेयर धितोकर्जाको जोखिमभार घटाएर शतप्रतिशतमै कायम गर्नुपर्ने, अहिलेको अवस्थामा सेयर धितो कर्जामा अत्यधिक जोखिम नरहेकाले सेयर खरिदका लागि लिइने ऋणमा लगाइएको १५ र २० करोडको सीमा पूर्ण रूपमा हटाउनुपर्ने सुझाव रहेका छन् ।
त्यस्तै पुँजीबजारका लागि स्थिर नीति हुनुपर्ने, हरेक मौद्रिक नीतिको समीक्षामार्फत् बजारलाई प्रभाव पार्ने नीति आउनुनहुने, नेपालमा पुँजीबजारलाई कहिले सट्टेबाजी, कहिले जुवाघर, कहिले अनुत्पादक लगानीको क्षेत्र भनेर बजारप्रति नकारात्मक टिका–टिप्पणी गरेर बजारको लय बिगार्ने काम राज्यका जिम्मेवार व्यक्ति तथा नियामक गर्ने निकायबाट गर्न नहुने बताइएको छ ।
त्यसैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नयाँ साझेदार र आधुनिक प्रविधि ल्याउनुपर्ने, अहिले चालु अवस्थामा रहेको नेप्सेसँग गुणस्तरीय प्रविधि अभाव र आगामी बजार थेग्न सक्ने क्षमता नभएकाले सुधार गरिनुपर्ने, नेप्सेले अहिलेकै अवस्थामा पनि थप गर्न सकिने उपकरण इन्ट्राडे, ट्रेड इन्डेक्स, ट्रेड सर्ट सेलिङ, सेयर सापटी जस्ता उपकरण थप गर्न ढिलाइ गर्न नहुने, प्रतिस्पर्धी र गुणस्तरीय सेवा दिन स्वच्छ पारदर्शी रूपले नयाँ स्टक एक्सचेन्ज स्थापना गरिनुपर्ने, धितोपत्र बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा अनेकौँ काम रोकिएकाले बोर्ड अध्यक्षमा नियुक्ति हुने व्यक्ति स्वतन्त्र, विज्ञ, अनुभवी, राष्ट्रिय, अन्तर्राष्ट्रिय पुँजीबजारसम्बन्धी ज्ञान भएको, आमलगानीकर्ताको अभिभावकत्व ग्रहण गर्न सक्ने योग्य व्यक्ति तुरुन्त नियुक्त गरिनुपर्ने सुझाव रहेका छन् ।
त्यस्तै बजारको दायरा फराकिलो बनाउन गैरआवासीय नेपालीलाई बिनाशर्त दोस्रो बजारमा लगानी गर्न पाउने नीतिगत व्यवस्था तुरुन्त लागू गरिनुपर्ने, जसले अन्तर्राष्ट्रिय बजारमा छरिएर रहेको लगानी नेपालको पुँजीबजारमा आई बजारलाई थप चलायमान बनाउन मद्दत गर्ने, पुँजीबजारको विकास र विस्तारका लागि नियमनकारी निकायबीच समन्वय, नीतिगत व्यवस्था, सांगठनिक व्यवस्था एवं कार्यनीतिमा एकरूपता ल्याउन एक स्वतन्त्र पुँजीबजार सुधार आयोग वा समिति गठन गरी सोही निकायको सिफारिसअनुसार नीतिगत सुधार गरिनुपर्ने, व्यवसायी पलायन गराउने बाफिया ऐन व्यावहारिक बनाउनुपर्ने सुझाव रहेका छन् । संस्थापक लगानीकर्ता अत्यधिक पलायन भए पुँजीबजारमा आपूर्ति बढ्न गई बजार धरासायी हुने भन्दै कुनै पनि व्यवसायमा लगानी गर्न पाउने व्यवसायीको नैसर्गिक अधिकार संरक्षण गर्दै ऐनमा भएका अन्य विरोधाभास विषय हटाइनुपर्ने लगानीकर्ताका सुझाव रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच