काठमाडौं । देशभर हैजाको संक्रमण फैलिँदो क्रममा छ । यतिबेला मध्य बर्खा छ । बर्खा सुरु भएसँगै सुरु भएको पानीजन्य संक्रमणहरू फैलिँदो क्रममा रहेका हुन् । त्यसैमध्यको एक हो हैजा । हैजाको बिरामीहरू बढ्न थालेका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले देशभर पछिल्लो समयसम्म १० जनामा हैजा संक्रमण पुष्टि भएको जनाएको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेका अनुसार ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको हो । हैजाको प्रकोप बढिरहेकाले विभागले सतर्क रहन आग्रह गरेको छ ।
नेपालले बर्सेनि वर्षा याममा बाढी र पहिरोको सामना गर्नु मात्र होइन, सुरक्षित खानेपानीको अपर्याप्त आपूर्ति र खुला दिसाको उच्च दरका कारण ग्रामीण तथा शहरी क्षेत्रमा हैजाको डर बढ्ने गर्छ । सन् २००९ मा मध्य पश्चिम क्षेत्रको जाजरकोटबाट सबैभन्दा ठूलो हैजाका प्रकोप रिपोर्ट गरिएको थियो । त्यसबाट सयौँले ज्यान गुमाएका थिए । यस्तै, कपिलवस्तुमा विसं. २०७८ मा कृष्णनगर नगरपालिकासहित तीन नगरपालिकामा हैजाको प्रकोप देखिएको थियो ।
यस वर्ष पनि देशका विभिन्न भागामा हैजाको प्रकोप देखिएको छ । हैजा एक आत्यधिक चाँडो सर्ने रोग हो । विशेषत, फोहोर पानी तथा फोहोर खानेकुरामा हैजाको जीवाणु पाइन्छ । हैजाको जीवाणु मानिसको शरीरमा छिरेको १२ घण्टादेखि पाँच दिनमा लक्षण देखिन थाल्छ । यो एकदमै संक्रामक रोग हो जसले तुरुन्तै पखाला निम्त्याउँछ । यसले गर्दा शरीरबाट तरल पदार्थ र इलेक्ट्रोलाइट्स (खनिज पदार्थ) को धेरै क्षति हुन्छ ।
हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहन्छ । हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । यसपटक ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुनसक्ने बताइएको छ ।
संक्रमित खाना वा पानी हैजाको मुख्य कारण : डा. पुन
हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखालासम्बन्धी रोग रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । ‘हैजाका जीवाणु संक्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ,’ उहाँले भन्नुभयो ।
हैजा संक्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरू देखा पर्छन् । हैजा संक्रमण भयो र उपचार पाएन भने केही घण्टामै संक्रमितको मृत्यु पनि हुनसक्ने उहाँ बताउनुहुन्छ । डा. पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुन, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ ।
डा. पुनले मुख्यतः तीनवटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउनुहुन्छ । पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमन । सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने डा. पुन बताउनुहुन्छ ।
हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेण्डसम्म मिचिमिची हात धुनुपर्ने विज्ञहरूको सुझाव छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष १३ देखि ४० लाख मानिस हैजाबाट पीडित हुन्छन् र २१ हजारदेखि एक लाख ४३ हजार मानिसको मृत्यु हैजाबाट हुने गर्छ ।