काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक महिना अघिसम्म सत्ता गुमाउनुपर्ला भन्ने संकेतसम्म थिएन । संसद्को तेस्रो दल भएपछि सरकारको नेतृत्वमा कायम रहने ‘म्याजिक नम्बर’ आफैँसँग रहेको प्रचण्डको उद्घोष थियो । सरकार गठनका लागि १३८ सिट चाहिनेमा ३२ सिट मात्रै भएर पनि नेकपा माओवादी केन्द्रले एमाले र कांग्रेसलाई आलोपालो उपयोग गरिरहेको थियो । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच अकस्मात सात बुँदे सहमति भएपछि माओवादी सत्ताबाट बाहिरिएको छ । संविधान निर्माणयता सरकारबाट माओवादी बाहिरिएको यो पहिलोपटक हो । त्यसयता सबै सरकारमा सहभागिता जनाएको माओवादी नेतृत्वलाई प्रतिपक्षको बेञ्च सकसपूर्ण हुने देखिन्छ । माओवादी नेताहरूकै पछिल्ला गतिविधि र अभिव्यक्तिले सत्ताबाट हट्दा माओवादी नेतृत्वलाई गम्भीर आघात पुगेको स्पष्ट हुन्छ ।
गत फागुनमा कांग्रेससँग सत्ता सहकार्य टुटाएर पुनः एमालेसँगै गठबन्धन कस्ने निर्णयमा प्रचण्ड पुगेपछि कांग्रेस नेता रमेश लेखकले संसद्को रोष्ट्रमबाटै भन्नुभएको थियो- प्रचण्डजी तपाईंले धोका दिएकाहरू कुनै दिन एकै ठाउँ उभिए भने के हुन्छ ? लेखकको आँकलन सही सावित हुन पुग्यो । पाँच महिना नपुग्दै कांग्रेस-एमाले समीकरण बन्यो भने माओवादी सत्ताच्युत हुन पुग्यो । सरकारबाट बाहिरिनु संसदीय राजनीतिमा स्वाभाविक विषय हो तर माओवादीले सन्दर्भलाई स्वाभाविक रूपमा लिएको छैन । सत्तामा रहुन्जेल निष्क्रियप्रायः रहेको माओवादीको अहिले नियमित पार्टी बैठक बसिरहेको छ । निरन्तर राजनीतिक समीक्षा र रणनीति निर्माण जारी छ । अध्यक्ष प्रचण्ड स्वयंले माओवादी अब जनतामा जाने बताउनुभएको छ ।
आइतबार मात्रै पार्टीको एक कार्यक्रममा बोल्दै उहाँले अब २०८४ को चुनावको तयारी गरिने बताउनुभयो । ‘हामी पदाधिकारी बैठकमा छलफल गरिरहेका छौँ । अब ८४ मा एक्लै चुनाव लड्ने हो, बहुमत ल्याउने हो । त्यहीअनुसार हामी तयारी गर्छौं, जनतामा जान्छौँ’, प्रचण्डको भनाइ छ । पार्टी पंक्तिलाई संयमित राख्न जनतामा जाने, एक्लै चुनाव लड्ने वा आफूविरुद्ध षड्यन्त्र भएको बताए पनि खासमा माओवादी नेतृत्व यतिबेला गम्भीर राजनीतिक मोडमा छ । २०६४ को संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बने पनि त्यसयता माओवादी निरन्तर ओरालो यात्रामा छ । २०७४ मा नेकपा एमालेसँग गठबन्धन गरेर जोगिएको माओवादी गत निर्वाचनमा कांग्रेस र एकीकृत समाजवादी सँगको गठबन्धनकै कारण जोगिएको हो ।
जानकारहरू यथास्थितिमा माओवादीले देशभर तीनभन्दा बढी क्षेत्रमा प्रत्यक्ष चुनाव जित्न नसक्ने दाबी गर्छन् । ‘रुकुम रोल्पाबाहेक माओवादीले प्रत्यक्ष चुनवा जित्ने अर्को ठाउँ खोज्न मुस्किल छ । तर पनि उहाँहरूमा भ्रम छ । प्रचण्डको नेतृत्वमा माओवादी आन्दोलन कमजोर भइसकेको छ । अब जनतामा जान्छु भन्नु भ्रमको खेती हो’, एक पूर्वमाओवादी नेताले बताउनुभयो ।
माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा समानुपातिकमा जम्मा ११ लाख ७५ हजार मत पाएको थियो । जुन पहिलोपटक चुनाव लडेको र केही स्थानमा मात्रै उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा जम्मा ४५ हजार बढी मत माओवादीले ल्याएको थियो । गणतन्त्र स्थापनायता सबैभन्दा लामो समय सरकारमा रहने र सबैभन्दा धेरै मन्त्री प्राप्त गर्ने पार्टीका रूपमा माओवादी स्थापित छ । यस्तो अवस्थामा शासनमा रहँदै गर्न नसकेको सांगठनिक सुधार माओवादीले प्रतिपक्षमा रहेर हासिल गर्ने अवस्था छैन । माओवादीका पुराना नेताहरू अहिले पार्टी वा आन्दोलनभन्दा पर छन् भने र नयाँ पुस्तामा वैकल्पिक भनिएका दलहरूको प्रभाव बढ्दो छ । यस्तोमा एक्लै चुनाव लडेर बहुमत ल्याउने प्रचण्डको दाबी ‘बालुवाको महल’ बनाएजस्तै हुने निश्चित छ । ‘न अब पुरानो माओवादी भेटिन्छ न माओवादी पुरानो आकारमा फर्कन्छ । यो सबै प्रचण्डका चर्का कुरा हुन् । सत्तामा नहुँदा चर्को कुरा नगरे प्रचण्डको अस्तित्व नै सकंटमा हुन्छ’, प्रचण्डसँग लामो संगत गरेका पूर्व–माओवादी नेताको जिकिर छ ।
माओवादीभित्र यतिबेला गुटबन्दी पनि चरमस्थितिमा छ । प्रचण्डको उत्तराधिकारी बन्न जनार्दन शर्मा र वर्षमान पुनको राजनीतिक संघर्ष त छँदै छ । प्रचण्डको निकटमा रहेर लाभ लिँदै आफ्नो अलग गुट चलाइरहनु भएका नारायणकाजी श्रेष्ठ पनि भावी नेतृत्वका दाबेदार हुनुहुन्छ । समाजवादी मोर्चामार्फत प्रचण्डसँग निकटता बढाउनुभएका नेत्रविक्रम चन्द पनि माओवादीकै नेतृत्वका दाबेदार मानिनुहुन्छ । तर, प्रचण्ड स्वयं नेतृत्व हस्तान्तरणका लागि तयार नभएकाले माओवादीमा रूपान्तरण तत्काल सम्भव देखिँदैन । पार्टीभित्र पुँजीवादी संस्कृतिले बाहुल्यता पाएको र इमानदार कार्यकर्ताहरू पाखा परिसकेको धारणा राख्ने नेताहरू उल्लेख्य संख्यामा छन् । यस्तोमा एकातिर सत्ता गुमेको पीर अर्कोतिर संगठनमा बढ्दो विकर्षण प्रचण्डका लागि टाउको दुःखाइको विषय बनेका छन् ।
सायद अब पश्चगामी सोच भएका मुख्य दल एमाले र नेकाले कम्तिमा १० प्रतिशत मत ल्याउनैपर्ने थ्रेसहोल्ड राख्न सफल भए भने (माके) नामक पार्टीको पालो राजमो र, प्रचण्ड नामक नेताको पालो चित्रबहादुर बन्ने पालो आयो भन्ने सबैले बुझौँ । हुन पनि आदिवासी जनजाति, उत्पीडित, भाषिक समुदाय, धार्मिक समूह, अल्पसंख्यक, पिछडिएको क्षेत्र, लिंग आदिको मुद्यदा नछाडेको भए माके र प्रचण्डले सँधै (२५, ३०, ३५,…औं वर्ष) सत्तामा ढलीमली गर्ने थिए…