पौडीमा डुवाना ३० औँ स्थानमा

काठमाडौं । नेपालकी डुवाना लामा पेरिस ओलम्पिक-२०२४ अन्तर्गत पौडीको महिला दुई सय मिटर फ्रिस्टायलमा सोमबार ३०औँ स्थानमा रहनुभयो । सहभागी ३१ खेलाडीमध्ये डुवाना ३०औँ हुनुभएको हो । हंगेरीकी निकोलेट पडार ‘डिस्क्वालिफाइ’ हुनुभयो ।

पेरिसस्थित पेरिस ला डिफेन्स एरिनामा डुवानाले पहिलो हिटमा प्रतिस्पर्धा गर्नुभएको थियो । हिटमा भने डुवाना सात खेलाडीमध्ये सातौँ हुनुभयो । डुवानाले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेण्डमा पूरा गर्नुभयो । यो समय डुवानाको व्यक्तिगत उत्कृष्ट समयभन्दा पनि बढी हो । डुवानाको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ मिनेट १२.४६ सेकेण्ड छ ।

यो स्पर्धामा २ मिनेट ११.९४ सेकेण्डको राष्ट्रिय कीर्तिमान सागको एकै संस्करणमा चार स्वर्ण जितेकी तथा रियो दि जेनेरिया ओलम्पिक- २०१६ की सहभागीमध्ये सबैभन्दा कान्छी खेलाडी गौरिका सिंहको नाममा छ ।

वाइल्ड कार्डमार्फत् पेरिस ओलम्पिकमा स्थान सुरक्षित गर्नुभएकी डुवानाले थाइल्याण्डमा अध्ययनसँगै ओलम्पिकको तयारी पनि गर्नुभएको थियो । डुवाना पेरिसबाट नेपाल जाने र केही दिनको बसाइपछि थाइल्याण्ड फर्कने डुवानाकी प्रशिक्षक नयना शाक्यले जानकारी दिनुभयो ।

पौडीमा नेपालबाट दुई खेलाडी सहभागी छन् । एलेक्जेन्डर शाहले जुलाई ३० तारिखमा पुरुष एक सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

सन् २००४ को एथेन्स ओलम्पिकमा प्रतिस्पर्धा गरिसक्नुभएकी प्रशिक्षक शाक्यले एंकलमा समस्याका कारण डुवानाले सोचे अनुरूपको प्रदर्शन गर्न नसकेको बताउनुभयो । पेरिस ओलम्पिकमा सहभागी पाँच नेपाली प्रशिक्षकमध्ये नयनासहित दुईजना ओलम्पियन छन् । अर्को ओलम्पियन प्रशिक्षकमा जुडोकी देवु थापा हुनुहुन्छ । देवुले २००८ को बेइजिङ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *