काठमाडौं । चलचित्र ‘के घर के डेराः घर नम्बर २’ मा नायक आर्यन सिग्देल अनुबन्धित हुनुभएको छ । निर्माण पक्ष र आर्यनबिच लिखित सम्झौता भएको हो ।
दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन यही साउनको २५ गतेबाट सुरु हुँदै छ । चलचित्रमा यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत फाइनल भइसक्नु भएको छ । निर्माणपक्षका अनुसार, अब चलचित्रका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथा बुद्धि सागरले लेखिरहनुभएको छ । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ ।
चलचित्रको कार्यकारी निर्माता युवराज कार्की हुनुहुनुन्छ । चलचित्रमा सामाजिक कथावस्तुलाई रोचक तरिकाले प्रस्तुत गरिने निर्देशक खनालले जानकारी गराउनुभयो ।