काठमाडौं । सांगीतिक समूह नेपथ्यले आगामी महिना अमेरिकामा शृंखलाबद्ध सांगीतिक यात्रा गर्ने भएको छ । नेपथ्य छैटौं पटक आफ्ना गीत सुनाउन अमेरिका जाने भएको हो । ब्याण्डले आफ्नो यात्राका क्रममा अमेरिकाको पूर्वदेखि पश्चिम किनारासम्म सातवटा फरक-फरक शहरका सांगीतिक प्रस्तुति दिने नेपथ्यको व्यवस्थापक नेपालयका अर्पण शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार अमेरिकामा रहेका नेपाली भाषीहरूलाई लक्षित संगीत यात्राअन्तर्गत नेपथ्य आगामी साता अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । नेपथ्यको यसपालाको अमेरिका यात्राको संयोजन ‘डीजे मोमो इन्टरटेनमेन्ट’ले गरिरहेको छ ।
नेपालयका अनुसार नेपथ्यले अगस्त ३ तारिखका दिन उल्लेख्य संख्यामा नेपालीहरूको बसोबास रहेको कोलोराडोको राजधानी डेनभरमा पहिलो सांगीतिक कार्यक्रम गर्नेछ । डेनभरको ‘बोल्डर थिएटर’मा नेपथ्यले यस वर्षको अमेरिका यात्राकै पहिलो कोसेली प्रस्तुत गर्नेछ । यहाँ नेपथ्यले पहिलोपटक सांगीतिक पाइला टेक्न लागेको शर्माले बताउनुभयो ।
दोस्रो प्रस्तुति सान फ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ । यसै हलमा आठ वर्षअघि नेपथ्यले आफ्नो सांगीतिक प्रस्तुति दिइसकेको छ ।
ओहायो राज्यको राजधानी कोलम्बसस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा नेपथ्यले अगस्त १७ तारिखका दिन तेस्रो सांगीतिक प्रस्तुति दिनेछ । यहाँ पनि नेपथ्यले पहिलो पटक आफ्नो सांगीतिक प्रस्तुति दिन लागेको हो ।
चौथो कन्सर्ट टेक्सास राज्यमा छ । ‘नेपथ्यले ६ वर्षपछि प्रस्तुति दिएको डालासको ‘टोयोटा म्युजिक फ्याक्ट्री’मा अगस्त २४ तारिखमा आफुलाई उभ्याउनेछ’, नेपालयका शर्माले भन्नुभयो, ‘त्यसपछि ब्याण्ड अमेरिकामा सबैभन्दा बढी प्रस्तुति दिएको शहर न्यूयोर्कमा पुग्नेछ । अघिल्लो पटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यस वर्ष ‘टर्मिनल फाइभ’मा आफ्ना लोकरक धुनहरू पस्कनेछ । त्यहाँ अगस्त ३० तारिखमा नेपथ्य साँझ आयोजना हुनेछ ।’
उहाँका अनुसार न्यूयोर्कपछि नेपथ्य सेप्टेम्बर १ मा मेरिल्याण्ड राज्य पुग्नेछ । ब्याण्डले त्यहाँ लाइभ क्यासिनो होटल मेरिल्याण्डस्थित द हल एट लाइभमा सांगीतिक प्रस्तुति दिनेछ ।
नेपथ्यको अन्तिम कन्सर्ट पेन्सिलभानियाको हृयारिसबर्ग शहर हुने शर्माले बताउनुभयो । यो शहरमा पनि नेपथ्यले पहिलो पटक सांगीतिक प्रस्तुति दिन लागेको छ । यस शहरको ‘द फोरम अडिटोरियम’ मा सेप्टेम्बर ७ का दिन कन्र्सट आयोजना हुनेछ । करिब १०० वर्षअघि सिम्फोनी अर्केष्ट्रा प्रस्तुत गर्ने उद्देश्यले यो हल तयार पारिएको थियो ।
नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिंटन डिसीमा पहिलोपटक अमेरिका यात्रा गरेको थियो । त्यसपछिका वर्षहरूमा ब्याण्डले न्यूयोर्क, सानफ्रान्सिस्को, लस एञ्जलस, एटलान्टा, डालास र बोष्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ । गत वर्षमात्रै क्यानाडामा शृंखलाबद्ध सांगीतिक यात्रा गरेको नेपथ्यले अमेरिकामा कोभिड महामारीपछि पहिलो यात्रा गर्न लागेको हो ।
अमेरिकाका सबै कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रवन्ध मिलाइएको नेपथ्यको व्यवस्थापक नेपालयका शर्माले बताउनुभयो । उहाँका अनुसार नेपथ्यको अधिकारिक वेभसाइटमार्फत टिकट सुरक्षित गर्न सकिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच