काठमाडौं । तीनवटै तहका सरकारले कृषिलाई प्राथमिकता नदिँदा कृषिजन्य वस्तुको आयात बढ्दै गएको भन्दै सांसद तथा अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् । खाद्यका लागि कृषि अभियान र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट(अनाज)द्वारा संयुक्त रूपमा आयोजित कृषिको समकालीन अवस्थामाथि पत्रकारहरूसँगको छलफल कार्यक्रममा उनीहरूले बढ्दो आयात र कृषिजन्य वस्तु उत्पादनको कमीले गर्दा देशमा आर्थिक संकट पनि बढ्दै गएको बताए ।
बागमती प्रदेशकी सांसद विमला पोखरेलले तीनै तहका सरकारले कृषि क्षेत्रलाई प्राथमिकता नदिँदा देशभित्र कृषिक्षेत्र संकटोन्मुख रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो तीन तहका निकायमा विभिन्न राजनीतिक विचार भएका व्यक्तिहरू हुनुहुन्छ । त्यसकारण एउटाले गरेको निर्णय अर्कोले खारेज गर्दा दिगो कृषि विकास भएको छैन, यसलाई हामीले विचार गर्नुपर्छ ।’
पत्रकारहरूले कृषि क्षेत्रका नकारात्मक समाचारभन्दा पनि कृषिका सफलताका कथालाई पनि प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो । नकारात्मक पक्ष पर्दाफास गर्दै समाज भएका सकारात्मकलाई बढी जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले सरकारको दिगो योजना नहुँदा कृषि क्षेत्रमा भनेजस्तो प्रगति नभएको बताउनुभयो । आजभन्दा ४० वर्षअघि सरकारले कृषि क्षेत्र र आवास क्षेत्रलाई वर्गीकरण गरेको भए कृषि उत्पादनमा वृद्धि हुने उहाँको दाबी थियो । अधिकारीले भन्नुभयो, ‘स्थानीय तहहरूले कृषि क्षेत्रलाई मुख्य आधार बनाएर अघि बढाए देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ र आयातसमेत रोकिन्छ ।’ आफ्नो नगरपालिकाको कृषियोग्य भूमि घोषणा गर्न जनतासँग सर्वेक्षण गरेको तर जनताले आफ्नो जमिनलाई कृषि भूमिका रूपमा घोषणा गर्न नमानेकाले टोखामा कृषियोग्य भूमि कम भएको पनि उहाँले जानकारी गराउनुभयो ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषि क्षेत्रमा समस्या विकराल रहेको भन्दै आगामी दिनमा अझै ठूलो बहस र छलफल आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले कृषि क्षेत्रका समस्याबारेमा छलफल गर्छांै तर सरकारले यसलाई प्राथमिकतामा दिएको छैन । त्यसैले पत्रकार र अभियानको सहकार्यमा कृषिको विकासमा हातेमालो गर्न आवश्यक छ ।’ राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले राज्यका तीन तहका सरकारले कृषि क्षेत्रलाई कम प्राथमिकता दिँदा कृषिमा क्रान्ति नभएको भन्दै पत्रकारले खोजमूलक कृषि सामग्री पस्किँदै राज्यको ध्यानाकर्षण गराइरहनुपर्ने बताउनुभयो । तनहुँमा कृषि फार्म सञ्चालन गर्दै आउनुभएका पूर्वपत्रकार नारायण वाग्लेले सरोकारवालाले किसानको मुद्दाको विषयमा बहस गरेर निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानको मुद्दामा केन्द्रित हुन आवश्यक छ भने कृषिमा देखिएका समस्यामा निरन्तर कलम चलाएर यस क्षेत्रमा देखिएको समस्या समाधान गर्नतर्फ पहल गर्नुपर्ने अहिलेको आवश्यकता छ ।’
सञ्चारमाध्यमले कृषिका विषयलाई कम प्राथमिकता दिने गरेकाले पनि कृषि क्षेत्र पछि परेको उहाँको भनाइ थियो । वाग्लेले आफ्नो कृषि रिपोर्टिङको अनुभव सुनाउँदै भन्नुभयो, ‘मैले ३० वर्षको पत्रकारितामा खाद्यान्नको समाचार लेखेर सम्मान हुने अवसर पनि पाएँ । तर, वास्तवमा मैले नै कृषि बिटलाई प्राथमिकता दिएको रहेनछु, अहिले आफंैले फार्म चलाउँदा थाहा पाएँ कि किसानका पीडा कस्ता हुँदारहेछन् ।’ कृषिविज्ञ कृष्णप्रसाद पौडेलले स्थानीय स्रोत साधनमा आधारित परम्परागत एकीकृत खेती प्रणालीलाई उन्नत बनाउने मार्गचित्र मुख्य प्रस्थान बिन्दु रहेको बताउनुभयो ।
मुलुकलाई आधारभूत खाद्यवस्तुमा आत्मनिर्भर बनाउने र तुलनात्मक लाभका कृषि उपजको प्रवद्र्धनबाट आयात प्रतिस्थापन, रोजगारी र आम्दानीमा वृद्धि गर्ने उद्देश्यमा केन्द्रित हुन समेत उहाँले आग्रह गर्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले मिडियाले विगतदेखि नै समाज परिवर्तनको भूमिका खेलेकाले कृषिमा पनि परिवर्तनका लागि भूमिका खेल्न आग्रह गर्नुभयो भने अनाजका अध्यक्ष किरण आचार्यले सञ्चारकर्मीहरूले कृषि क्षेत्रको विकासका लागि निरन्तर कलम चलाएको र आगामी दिनमा सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच