काठमाडौं । नेपालमा बेलाबखत राष्ट्रवादको बहस चर्को रूपमा चल्ने गरेको छ । राष्ट्रवादको बहस र चर्चा मुख्यगरी नेपालका कम्युनिष्ट पार्टी र तीनका नेताहरूले बढी गर्ने गरेका छन् । कहिले सत्ताबाट बाहिरिनुपर्दा त कहिले प्रतिस्पर्धी दल तथा नेताहरूको विरोध गर्न राष्ट्रवादको मुद्दा प्रयोग हुने गरेको छ । विगतको निरन्तरतास्वरूप फेरि एकपटक सदनमा राष्ट्रवादको मुद्दाले ठाउँ पाएको छ । त्यो पनि गत फागुनमा तत्कालीन सत्तापक्ष र अहिले विपक्षीमा रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताले दिएको राष्ट्रियतासम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा बहसको विषय बनेको हो । दक्षिण एसियामा ‘मोनरो डक्ट्रिन’को बहस तथा नेपालीको राष्ट्र प्रेमलाई कच्चा राष्ट्रवाद (नेसनालिजम) भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा.स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिप्रति सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले संसद्मा आपत्ति जनाएको छ । उपसभापति वाग्लेको अभिव्यक्तिमा नेपाललाई भुटानीकरण गर्ने आशय झल्किएको एमालेका सांसदको आरोप छ ।
वाग्लेको अभिव्यक्ति देशविरोधी : पन्त
सोमबार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले देशभक्तलाई अपमान गर्नेगरी स्वर्णिम वाग्लेले कच्चा राष्ट्रवादको वकालत गरेको भन्दै आपत्ति जनाउनुभएको छ । यस विषयमा संसद्ले अध्ययन गर्नुपर्ने सांसद पन्तको जिकिर छ । गत फागुन २१ गते रास्वपाले आयोजना गरेको ‘ऊर्जा बहस मन्थन’ शृंखलामा उपसभापति वाग्लेले दक्षिण एसियामा मोनरो डक्ट्रिन आएको र त्यसबारे नेपाल संवेदनशील हुनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । युरोपसँग विवाद रहेको बेला सन् १८२३ मा अमेरिकामा मोनरो डक्ट्रिनको प्रतिपादन भएको थियो । अमेरिकाले युरोपका देशहरूको आन्तरिक तथा आपसी राजनीतिमा हस्तक्षेप नगर्ने र बदलामा कुनै पनि दक्षिण अमेरिकी मुलुकमा युरोपेली देशको साम्राज्य विस्तार अमेरिकाले नसहने मोनरो डक्ट्रिनको मुख्य विषय थियो । वाग्लेले दक्षिण एसियामा मोनरो डक्ट्रिन भनेर हामी यस क्षेत्रको सुपर पावर भारतको अण्डरमा रहनुपर्छ भन्ने आशय व्यक्त गरेको सांसद पन्तको आरोप छ ।
स्वर्णिम वाग्लेले बोलेको कुरा संसद्मा रेकर्ड गराउँदै पन्तले मोनरो डक्ट्रिन अहिले कतै पनि कार्यान्वयन नभइरहेको सन्दर्भमा नेपालका सांसदको मुखबाट यस्तो कुरा आउनु आपत्तिपूर्ण भएको टिप्पणी गर्दै सांसद पन्तले भन्नुभयो, ‘नेपाली सांसदको मुखबाट कतै चर्चामा नभएको साउथ एसियन मोनोरो डक्ट्रिनको कुरा हुनु र नेपालले बुझ्नुपर्ने कुरा गर्नु अत्यन्त लज्जास्पद र खेदजनक भएको टिप्पणी गर्दै सांसद पन्तले भन्नुभयो, ‘रास्वपा महामन्त्री मुकुल ढकालले लगाएको आरोप पार्टीबाट निकालेको सन्दर्भमा होला भनेर गम्भीर लागेको थिएन । तर, उहाँ (स्वर्णिम वाग्ले) को भाषण सुनेपछि धेरै दुःख लागेको छ । वाग्लेको अभिव्यक्ति नेपालको असंलग्न परराष्ट्र नीतिको विपरीत छ । नेपालका देशभक्तको अपमान गरेको छ । कच्चा राष्ट्रवाद भनेको के हो ? देशको स्वाभिमानको कुरा गर्ने कच्चा राष्ट्रवादी हुन्छ ? सारमा उहाँको अभिव्यक्ति देशलाई अहित हुने, घुमाएर नेपाललाई भुटान बनाउने खालको छ । जबकि भुटानले समेत चीनसँग सम्बन्ध राख्न खोजेको छ ।’ सांसद पन्तले संसद्मा बोलिरहँदा रास्वपा सभापति रवि लामिछाने र उपसभापति वाग्ले संसद् बैठकमै हुनुहुन्थ्यो ।
कांग्रेस-एमाले रास्वपालाई सिध्याउन लागिपरे : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो पार्टी रास्वपा कांग्रेस-एमालेको टार्गेट बनेको आरोप लगाउनुभएको छ । नयाँलाई सिध्याएपछि मात्र आफ्नो पार्टी जोगिन्छ भनेर कांग्रेस-एमाले मिलेको लामिछानेको आरोप छ । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै लामिछानेले सरकारमा रहेका ठूला दल रास्वपालाई सिध्याउन लागिपरेको आरोप लगाउँदै भन्नुभयो, ‘संसद्मा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट स्पष्ट हुन्छ, कि सरकारमा रहेका दुई ठूला दलको टार्गेट नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी छ । प्रधानमन्त्री, हिजो कांग्रेस महामन्त्री (विश्वप्रकाश शर्मा) र आज विषयान्तर गर्नुभएको एमालेका पुराना नेता (रघुजी पन्त) को अभिव्यक्तिले के देखाउँछ भने नयाँलाई ठीक पार्नुपर्छ, यिनलाई एउटा-एउटा आरोप लगाइ दिएपछि मात्र हाम्रो जोगिन्छ भनेर मिलेको कुरा प्रष्ट भएको छ ।’ आइतबार प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री शर्माले लामिछानेले स्टण्टम्यान बन्न खोजे पनि केही काम नगरेको बताउनुभएको थियो । सोमबार एमाले सांसद पन्तले रास्वपा उपसभापति स्वर्णिम वाग्लेले दिएको कच्चा राष्ट्रवादको आरोपप्रति आपत्ति जनाउनुभएको थियो ।
स्कुल बसको गति नियमन गर्न सांसदहरूको माग
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा विद्यार्थी बोकेको स्कुल बस कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विषय उठेको छ । सोमबार बसेको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले पोखरामा स्कुल बस तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै स्कुल बसको गति सीमित बनाउने नीति बनाई नियमन गर्न माग गर्नुभयो । सांसद नेपालीले भन्नुभयो, ‘बसका चालकले तोकिएको गतिभन्दा बढीमा सञ्चालन गरिरहेका हुन्छन् । सोही कारणले सरकारले स्कुल बस सञ्चालनसम्बन्धी आवश्यक नीति बनाई कडाइसाथ कार्यान्वयन गर्नुपर्ने हुन्छ ।’ कास्की जिल्ला पोखरा महानगरपालिका-२१ मटिखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको बस सोमबार बिहान दुर्घटनामा परेको थियो । सांसद नेपालीले भन्नुभयो, ‘पछिल्लो समयमा सडक तथा हवाई दुर्घटना बढेको छ, उड्नेबाट यात्रा गरे शव नचिनिने र गुड्नेबाट यात्रा गरे शव नभेटिने अवस्था छ, दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जानुपर्छ ।’
बढ्दो हवाई दुर्घटनासँगै नियामकको भूमिकामाथि प्रश्न
सांसदहरूले नेपाली आकाशमा हवाई दुर्घटना बढेसँगै नियामक निकायको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकको विशेष समयमा नेपाली आकाशमा हवाई दुर्घटना बढेसँगै नियामक निकायको भूमिकामाथि सांसदहरूले प्रश्न उठाएका हुन् । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले पछिल्लो ६ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताउनुभयो । सो अवधिमा भएका हवाई दुर्घटनामा परी ९३५ जनाले ज्यान गुमाएका तथ्यांक प्रस्तुत गर्दै सांसद जबराले हवाई दुर्घटना न्यूनीकरणमा विशेष योजना ल्याउन र कडाइका साथ कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराउनुभयो ।
भ्रष्टाचारका फाइल बन्द गर्न कांग्रेस-एमाले गठबन्धन : मोदी
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले आफूसँग सम्बन्धित भ्रष्टाचारको फाइल बन्द गर्न कांग्रेस–एमालेले नयाँ सत्ता समीकरण बनाएको आरोप लगाउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले संविधान संशोधन गर्ने भनेर सत्तारूढ गठबन्धनले जनतामा भ्रम छरे पनि आफूमाथि लागेको भ्रष्टाचारको आरोपबाट मुक्ति पाउने कामलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले गिरीबन्धु टी-स्टेट र भुटानी शरणार्थी प्रकरण छानविनको कामलाई वर्तमान सरकारले निरन्तरता दिन्छ कि दिँदैन ? भनी प्रश्नसमेत गर्नुभयो । आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध प्रतिपक्षमा रहेर सशक्त आवाज उठाउने बताउँदै उहाँले भन्नुभयो, ‘गिरीबन्धुदेखि भुटानी शरणार्थी सम्मका भ्रष्टाचारका कुराहरू छन् । त्यस विषयमा पहिलाको सरकारले जस्तै कामलाई निरन्तरता दिन्छ कि दिँदैन ? यसलाई अगाडि बढाउँछ कि बढाउँदैन ? भन्ने महत्वपूर्ण कुरा हो । एमाले र कांग्रेसले संविधान संशोधन गर्ला जस्तो मलाई लाग्दैन । खाली उहाँहरूले आफूसँग सम्बन्धित भ्रष्टाचारसँग जोडिएका फाइल बन्द गर्नका निम्ति यो गठबन्धन गरेको हो । भ्रष्टाचारको अन्त्य नभएसम्म हामी बुलन्द आवाज लिएर जनतामा जान्छौँ ।’
प्राधिकरणको डिजीले सांसदलाई थर्काएर जान्छ : सिंह
सांसद अमरेशकुमार सिंहले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउनुपर्ने धारणा राख्नुभएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सिंहले सेवा प्रदायक र नियामक निकाय एउटै हुन नसक्ने तर्क गर्दै भन्नुभयो, ‘दुई चार वर्षदेखि बोल्दा बोल्दा घाँटी सुकिसक्यो । तर, पैसाको अगाडि कुनै सांसदको केही लाग्दैन रहेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण सेवा प्रदायक र नियामक पनि हो । कहिल्यै पनि सेवा प्रदायक र नियामक एउटै हुँदैन । नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरण एउटै छैन । तर, उड्डयन प्राधिकरणमा नेताहरूको खल्तीमा करोडौँ भर्नका लागि त्यहाँ डिजी बनाएर राखिएको छ । उसले संसदीय समितिमा आएर सांसदहरूलाई नै थर्काएर जान्छ ।’ सांसद सिंहले नेपालीहरू भाग्यले बाँच्नुपर्ने स्थिति रहेको बताउँदै कहिले सडक दुर्घटना त कहिले हवाईजहाज दुर्घटनामा नेपालीहरूले ज्यान गुमाउनु परिरहेको बताउनुभयो । गरिबहरूको देशमा कोही पनि माईबाप नरहेको गुनासो गर्दै सांसद सिंहले भन्नुभयो, ‘हवाईजहाज दुर्घटना हुँदा प्रधानमन्त्रीदेखि गृहमन्त्रीदेखि सबेको लर्को लाग्ने । गरिबहरू त्रिशूलीमा बस खसेर मर्दा कोही पनि हेर्न नजाने । यस्तो विभेद छ, गरिब र धनीबीच । यसले मुलुक अशान्त हुन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच