काठमाडौं । काभा नेसन्स भलिबल लिग खेल्न श्रीलंका र माल्दिभ्सको टोली नेपाल आइपुगेको छ । मंगलबार दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिएका टोलीमध्ये श्रीलंकाविरुद्ध नेपालले यही साउन १७ गते बिहीबार लिगको सुरुवाती खेल खेल्नेछ । एक साता चल्ने लिगको दोस्रो खेलमा नेपालले साउन १९ गते शनिबार भारतसँग, २० गते आइतबार इरान र साउन २१ गते सोमबार लिग चरणको अन्तिम खेल माल्दिभ्ससँग खेल्ने तालिका छ ।
नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।
नेपाली टोलीले काभाकै तयारी स्वरूप गत हप्ता रुसी टोलीसँग दुईवटा अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल सोझो सेटमा पराजित भए पनि विश्कै बलियो मानिने रुससँगको खेलले धेरै कुरा सिकाएको खेलाडी र प्रशिक्षक बताउँछन् । डेढ महिनासम्म अभ्यास गरेको र रुससँग भएको मैत्रीपूर्ण खेलबाट आफूहरूको खेल सुधार भएको कप्तान अरुण शाही बताउनुहुन्छ ।
काभा नेसन्स लिगकै लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको थियो । त्यसपछि १५ दिनअघि १४ सदस्यीय टोली घोषणा गरेर अभ्यास गरिएको छ । नेपालले सन् २०१९ र २०२१ मा बंगलादेशमा भएको काभा वुमन्स च्यालेन्ज कप (काभा नेसन्स लिग) को उपाधि जितेको थियो ।