काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले गाउँस्तरदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले सरकारबाट बाहिरिएसँगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएकाले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो । पार्टी पुनर्जागरण अभियानलाई प्रभावकारी बनाउनका लागि कार्ययोजना बनाउन आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसपछि बस्ने केन्द्रीय कमिटीले अन्तिम रूप दिने सुनाउनुभयो ।
प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने
माओवादी केन्द्रले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको छ । मंगलबारको पदाधिकारी बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी गराउनुभयो । उहाँले पाँच दिनदेखिको छलफलमा गम्भीर रूपमा छलफल भएको सुनाउनुभयो । प्रवक्ता सापकोटाले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रूपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनुभयो । उहाँले जनताका जल्दाबल्दा समस्याहरू र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले सामाजिक न्याय सहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारविरोधी अभियान अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको बताउनुभयो ।
कम्युनिष्टहरूसँग ध्रुवीकरण
प्रवक्ता सापकोटाले बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनर्गठन निश्चित गर्ने बैठकले निर्णय गरेको बताउनुभयो । पदाधिकारी बैठकले सबै कम्युनिष्टहरूसँग ध्रुवीकरणको प्रयास गर्ने र अग्रगामी शक्तिहरूको मोर्चा बनाउनका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी गराउनुभयो ।
आगामी निर्वाचन एक्लै लड्ने
प्रवक्ता सापकोटाले आगामी निर्वाचनमा एक्लै जाने निष्कर्ष बैठकले निकालिएको जानकारी गराउनुभयो । उहाँले गठबन्धनमार्फत निर्वाचनमा जाँदा पार्टीको एजेण्डा जनतामा पुर्याउन नसकिएकाले आगामी निर्वाचनमा एक्लै लड्ने पार्टीले निष्कर्ष निकालिएको सुनाउनुभयो । ‘गठबन्धन गर्दा अरू पार्टीको सन्तुलन मिलाउनुपर्ने भएकाले हाम्रो विचार, सिद्धान्त, कार्यदिशा लाने मौका मिलेको थिएन । जनतामा जाने सुवर्ण अवसर हो । वर्गसँगको कडी टुटेको जस्तो भएको छ । जनतामा जाने निर्णय गरेका छौँ’, प्रवक्ता सापकोटाले भन्नुभयो ।
अवसरलाई सदुपयोग गर्नुपर्ने सुझाव
सरकार छोडेपछि बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अधिकांश सदस्यहरूले जनतासँग जान पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने सुझाव दिएका थिए । बैठकमा सदस्यले बोल्ने क्रममा सत्ताबाट प्रतिपक्षमा पुगेको अवसरलाई सदुपयोग गर्नुपर्ने मत आएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिनुभयो । ‘सरकार छोड्ने विषय नेगेटिभ भए पनि यसले पार्टी निर्माणको अभियानमा जुट्न पोजेटिभ अवसर दिएको छ भन्ने कोणबाट पनि छलफल भयो । यस्तो परिस्थितिलाई राम्रोसँग सदुपयोग गरेर माओवादीको रिभाइभ गर्नुपर्छ भन्ने मत छ,’ गजुरेलले भन्नुभयो, ‘पार्टी निर्माणको लागि पाएको अवसरलाई सदुपयोग गर्न नसके हामी झन् कमजोर हुँदै जान्छौँ भन्ने अधिकांश सदस्यको भनाइ छ ।’
शुक्रबारबाट सञ्चालन भएको बैठकमा चार दिनसम्म नेताहरूले पछिल्लो राजनीतिक अवस्था, विचारको विकास, पार्टी निर्माण तथा भावी योजनाबारे आ–आफ्ना विचार राखेका थिए । प्रचण्डले एमालेसँग बृहत् वामपन्थी एकताको स्वच्छ भावना राखेर पछिल्लो समीकरण बनाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिएको बताउनुभएको थियो । उहाँले पार्टीभित्र देखिएका समस्या, अन्तर्राष्ट्रिय, राष्ट्रिय परिस्थिति र भावी योजनाबारे बैठकलाई जानकारी दिएको प्रवक्ता सापकोटाले बताउनुभयो ।
‘जनताको सुखदुःख बुझ्न देशैभर जान्छु’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुखदुःख बुझ्न देशैभर जाने इच्छा व्यक्त गर्नुभएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले यस्तो इच्छा व्यक्त गर्नुभएको हो । ‘अब हाम्रो जनतासँगको सम्बन्धको कडी टुटेको छ,’ बैठकमा अध्यक्ष प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै उपाध्यक्ष सापकोटाले भन्नुभयो, ‘म देशैभरी जनतासँग एकाकार हुन, सुखदुःख बुझ्न र सुन्नका लागि देशैभर जाने इच्छा छ ।’ सापकोटाका अनुसार, केन्द्रीय समिति बैठकपछि प्रचण्ड देशभर जानुहुने छ । ‘म एकपटक देशव्यापी रूपमा जनताको माझ जान्छु, फेरि अर्को स्तरको विचार संश्लेषणको आवश्यक्ता छ,’ सापकोटाले प्रचण्डको भनाइ उद्धृत गर्दै भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच