काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर काम गर्न सरकारका मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ । एकैपटक २१ जना सचिवको सरुवा गरेको भोलिपल्ट (मंगलबार) सिंहदरबारमा मन्त्री र सचिवहरूलाई ढुक्क भएर काम गर्न २५ बुँदे निर्देशन दिनुभएको हो । आफू नेतृत्वको सरकार स्थायित्वको कार्यभार लिएर आएको भन्दै कुनै पनि कुरामा ढिलासुस्ती नगरी काम गर्न उहाँले निर्देशन दिनुभयो । ‘कुनै पनि कुरामा ढिलासुस्ती नहोस् । समन्वय बढाउनुस् । प्रष्ट रेस्पोन्स गरिनुपर्छ । सेवा लिने नागरिकले कति टाढादेखि बाटो खर्च गरेर सरकारी कार्यालयमा आएको हुन्छ, उसको हुने काम बिना झञ्झट गरिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘ढुक्कसँग काम गर्नुस् । यो सरकार स्थायित्वको कार्यभार लिएर आएको छ । हामीले देश र जनताका लागि समर्पित भएर काम गर्ने हो । जिम्मेवारी अर्काेलाई नपन्छ्याउने हिसाबले काम गर्नू ।’
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एकैपटक २१ सचिवको सरुवा गरेको थियो । राजनीतिक समीकरण बदलिएर ओलीको नेतृत्वमा सरकार बनेको तीन सातापछि सचिवहरूको सरुवा गरिएको हो । यसअघि उहाँले मन्त्रालयका सचिवहरूसँग ब्रिफिङ लिनुभएको थियो । त्यसलगत्तै मंगलबार सरकारका उपप्रधानसहित मन्त्री र सचिवहरूलाई बोलाएर निर्देशन दिनुभएको हो ।
नयाँ कामभन्दा पनि हाल थालिएका काम सम्पन्न गर्नेगरी लाग्न उहाँले निर्देशन दिनुभयो । निजी क्षेत्रलाई साथ लिएर व्यावसायिक क्षेत्रका सम्बोधन हुने गुनासा सुन्न पनि उहाँले निर्देशन दिनुभयो । ‘कार्यसम्पादन र अधिकार प्रत्यायोजन ठीक समयमा गरेर पूर्ण रूपमा काम गर्ने पद्धतिमा जानू । आदेशका भरमा भन्दा कानुनबमोजिम आफैँले जिम्मा लिएर गर्नू,’ उहाँले भन्नुभयो, ‘काम गर्न बजेटको अभाव भन्ने कुरा आएको छ, वास्तविकता के छ ? जनतालाई डेलिभरी दिने विकासले हो । त्यसैले पर्याप्त पुँजीगत खर्च गरेर जानुपर्छ । सेवाग्राहीले निवेदन दिनेबित्तिकै काम थाल्ने र निर्णय छिटो दिने पद्धतिमा जानुपर्छ । फाइल रोकेर राख्न मिल्दैन ।’
प्रधानमन्त्री ओलीले सिंगै देश अब फास्ट ट्र्याकमा कुद्नुपर्ने बताउनुभएको छ । सरकारले थालेका सबै काम फास्ट ट्र्याकमा कुद्नुपर्ने ओलीको भनाइ छ । ‘सिंगै देश फास्ट ट्र्याकमा कुद्नुपर्छ । डेभ्लपमेन्ट फास्ट ट्र्याकमा, सर्भिस फास्ट ट्र्याकमा उपलब्ध गराउनुपर्छ । सबैभन्दा छोटो समयमा धेरै काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
कर्मचारी सेवा गर्न बसेको हो, शासन गर्न होइन
सरकारबाट जनता निराश हुनुपर्नेे रवैया अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो । कर्मचारीले जनतासँग नरम व्यवहार गरेर सेवा दिनुपर्ने उहाँको भनाइ थियो । निर्माण सम्पन्न भइसकेका कामको ठेकेदारले पैसा नपाउने तरिका हुनु नहुने उहाँले निर्देशन दिनुभयो । ‘निर्माण सम्पन्न भइसकेका कामको ठेकेदारले पैसा नपाउने तरिका हुनु हुँदैन । को सँग के हिसाब नमिलेर वा के भएर हो बनिसकेको कामको रकम निकासा रोकिनु हुँदैन’ उहाँले भन्नुभयो ‘सरकारबाट जनता निराश हुनुपर्नेे रवैया अन्त्य हुनुपर्छ । कर्मचारी सेवा गर्न बसेको हो, शासन गर्न बसेको होइन, हामीले जनतासँग नरम व्यवहार गरेर सेवा दिनुपर्छ । कुनै पनि नागरिकलाई लाइन नगरी सहज रूपमा सेवा दिइनुपर्छ । दुःखी गरिबलाई मान्छे नै नगन्ने प्रवृत्ति राख्नु हुँदैन ।’
सय दिने प्लान बनाउनुस्, काम देखाउनुपर्छ
प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई सय दिनमा आफूले गर्ने कामहरूको योजना बनाउन निर्देशन दिनुभयो । सरकारको सय दिनसम्म सामान्यतया सरकारमाथि प्रश्न नगर्ने चलन भए पनि त्यसपछि जनताले हरेक मन्त्रीलाई प्रश्न गर्ने भन्दै ‘हनिमुन डे’को अवधिमा गर्ने कामको प्लान बनाउन उहाँले निर्देशन दिनुभयो । ‘हामीलाई हनिमुन डे मनाउने फुर्सद छैन । रातदिन गरेर काम गर्नुछ । हरेकले त्यो अवधिमा गर्ने कामको योजना बनाउनुस्’, प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भन्नुभयो, ‘सय दिनमा के-के गर्नुभयो ? भन्दा यो यो गरेँ । कमसेकम तीनवटा काम, पाँचवटा काम भनेर गरौँ ।’ सय दिनमा हरेक मन्त्रालयको प्रतिवेदन सरकारले निकाल्ने भन्दै त्यो प्रतिवेदन उत्साहवद्र्धक र आकर्षक हुनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले जनताका काममा कुनै ढिलासुस्ती र डुप्लिकेसन आउनेगरी काम नगर्न निर्देशन दिनुभयो । प्रधानमन्त्रीले सरकारी तनाखा खानेहरूले मिटिङ भत्ता नलिन निर्देशन दिँदै मितव्ययी हुनसमेत सचिवहरूलाई निर्देशन दिनुभयो ।
कृषिमा व्यक्तिगत अनुदान रोक्नुस्
प्रधानमन्त्री ओलीले कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले आर्थिक अनुशासन पालना गर्न र हिसाब किताब चुस्तदुरुस्त राख्न निर्देशन दिनुभयो । सामूहिक अनुदानमा सरकार अलिक उदार नै हुने उहाँको भनाइ थियो । ‘जस्तो मलखादमा अनुदान । सबै किसानलाई जाने अनुदान हो यो । त्यसकारण ठीक छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गाई पाल्न एक करोड, सुँगुर पाल्न एक करोड, भैँसी पाल्न एक करोड फलानालाई अनुदान । ‘यस्ता कुरा रोक्नुपर्छ, यो एकदमै स्टप गर्नुपर्छ ।’ सित्तै पैसा दियो भने त्यसले मान्छेलाई बिगार्ने उहाँको विश्लेषण छ । ‘प्रोत्साहित गर्ने हो, बरु सस्तो ब्याजमा दिऔँ, निब्र्याजी दिऔँ,’ उहाँले भन्नुभयो ।
सिग्नेचर गर्दा फसिन्न, गलत गरे आफैँ उत्तरदायी हुनू
प्रधानमन्त्री ओलीले कोही पनि कर्मचारी ‘सिग्नेचर’ (कुनै निर्णयमा हस्ताक्षर) गरेकै कारणले नफस्ने स्पष्ट पार्नुभयो । कसैले गलत नियतले काम गर्छ भने त्यसमा उत्तरदायी आफैँ हुनुपर्ने उहाँले बताउनुभयो । ‘कर्मचारीले राम्रो नियतले काम गर्दा परेका अप्ठेरामा सरकारले संरक्षण गर्छ’, उहाँले भन्नुभयो, ‘कसैले गलत नियतले काम गर्छ भने त्यसमा उत्तरदायी आफैँ हुनुपर्छ । राम्रो काम गर्दा असुरक्षित फिल नगर्न आग्रह गर्छु । समृद्ध नेपाल सुखी नेपालका लागि काम हुनुपर्छ, जनताको जैविक, मानवीय, न्यायोचित र यथोचित आवश्यकताको सम्बोधन हुनुपर्छ । गरिबी हटाउनुपर्यो, २० प्रतिशत जनता गरिबीको रेखामुनि छन् भन्ने कुरा पीडादायी छ, केन्द्रित त्यसकै हुनुपर्छ ।’ अब सरकारले व्यक्तिगत आग्रह, पूर्वाग्रह र पक्ष र विपक्ष नहेर्ने भन्दै ओलीले काम गर्ने र नगर्ने बीचको फरक हेर्ने बताउनुभयो । ‘अब कुनै प्रकारको काम गरे पनि उस्तै र नगरे पनि उस्तै हुँदैन, मूल्यांकन हुन्छ, त्यो आग्रहमा आधारित हुँदैन,’ उहाँले भन्नुभयो, ‘यसबाट सबै साथीहरूलाई अनुकूलता प्राप्त हुने विश्वास छ, अब हामी अरूसँग हैन, हामीसँग गरेका कामको लेखाजोखा गर्नेछौँ ।’
असफल हुने छुट छैन, हुन पनि दिइन्न
प्रधानमन्त्री ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको बताउनुभयो । अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको उहाँले बताउनुभयो । ‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणा कालदेखि राजतन्त्र सम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन ।’ असफल हुँदैन भनेर हात बाँधेर बसेर आरामले बसेर सफल नहुने उहाँले बताउनुभयो । ‘भाग्यमा छ भन्दैमा डोकामा दूध दोएर अडिँदैन । हामीले सफलताको संकेत यस आर्थिक वर्षमा दिनुपर्छ । अर्काे आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ,’ उहाँले भन्नुभयो, ‘यो सरकार एक्सन ओरिएण्टेड सरकार हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो ।’
दुई वर्ष पुग्नु एक साताअघि नै राजीनामा दिन्छु : ओली
प्रधानमन्त्री ओलीले दुई वर्ष नपुग्दै राजीनामा दिएर सत्ता हस्तान्तर गर्ने बताउनुभयो । ओलीले सरकारको भविष्यबारे चिन्ता नगर्न सचिवहरूलाई आग्रह गर्नुभयो । त्यसकारण सरकार ढल्ने त के ढलपल पनि नहुने उहाँको भनाइ थियो । ‘दुई वर्ष पुग्ने एक साताअघि राजीनामा दिएर त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेर स्थिरताको सन्देश दिइन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारीहरूले ढुक्कले ठीक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिनेछ । यो सरकार मेरो नेतृत्वमा दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुँदैन । ‘यसपछि शेरबहादुरजीको नेतृत्वमा चुनावसम्म जाने हो ।’ कांग्रेस र एमालेबीच १७ असारमा भएको सातबुँदे सहमतिमा दुई वर्ष ओली प्रधानमन्त्री हुने र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने उल्लेख छ । त्यही सहमतिअनुसार ३० असारमा प्रधानमन्त्री भएका ओलीले आफू सहमतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।
महत्वपूर्ण मन्त्रालय र आयोगहरूमा सचिव परिवर्तन
सरकारले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, सञ्चार, ऊर्जा, संघीय मामिला, अख्तियारलगायत अति महत्वपूर्ण मन्त्रालय र आयोगहरूमा सचिव परिवर्तन गरेको हो । अर्थ सचिवमा रामप्रसाद घिमिरेलाई सरुवा गरिएको छ । राजस्व सचिवमा भने वाणिज्य मन्त्रालयबाट दिनेशकुमार घिमिरेलाई ल्याइएको छ । अर्थ सचिव मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । सञ्चार सचिवमा उपराष्ट्रपति कार्यालयमा रहनुभएकी राधिका अर्याललाई ल्याइएको छ ।
गृह मन्त्रालयमा एकनारायण अर्याललाई यथावत राखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । भूमिका गोकर्णमणि दुवाडीलाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामेश्वर दंगाललाई रक्षा सचिवमा पठाइएको छ भने रक्षाका किरण शर्मालाई प्राकृतिका स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा मन्त्रालयमा सरुवा गरिएको छ भने ऊर्जा आयोगका केशवकुमार शर्मा बिडारीलाई भौतिक मन्त्रालयको सचिव बनाइएको छ ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । नेपाल ट्रष्टमा रहनुभएकी प्रमिलादेवी बज्राचार्यलाई खानेपानी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने सतर्कता केन्द्रमा रहेका रामआधार साहलाई नेपाल ट्रष्टमा सरुवा गरिएको हो । प्रधानमन्त्री कार्यालयमा रहनुभएका नारायणप्रसाद दुवाडीलाई राष्ट्रपति कार्यालय पठाइएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ । मधुसूधन बुर्लाकोटीलाई वाणिज्य सचिवमा सरुवा गरिएको छ । लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । लोकसेवामा राष्ट्रपति कार्यालयबाट डिल्लीराम शर्मालाई पठाइएको छ भने श्रम तथा रोजगार मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियारको सचिवमा पठाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच