ताप्लेजुङ । दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप भदौ ३ गतेबाट हुने भएको छ । यो जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता हो । जसमा आठ टिम सहभागी हुनेछन् । सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सबै खेलहरू खेलाइनेछ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, ताप्लेजुङको संघर्ष स्पोर्टिङ क्लब उकालापानी, वाइवाइ पाँचथर फुटबल क्लब पाँचथर, सगरमाथा युथ स्पोर्टिङ क्लब मोरङ, सलहेस युथ क्लब सिरहा, बुटवल लुम्बिनी एफसी र भारतको सिलगढीबाट एक टिम सहभागी हुनेछन् । भारत र झापाबाट एक/एक टिम सहभागी हुने निश्चित भए पनि टिमको नामावली प्राप्त भइनसकेको आयोजक लाखे जात्रा खेल सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङले बताउनुभयो ।
गत वर्ष सहभागी भएका कुनै पनि टिम यो वर्षको प्रतियोगितामा सहभागी हुने छैनन् । यस्तै यस वर्षको प्रतियोगितामा पुरस्कारको राशि बढाइएको छ । यस वर्षको विजेताले नगद पाँच लाख ५५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले कप, मेडल र प्रमाणपत्रसहित नगद दुई लाख ५० हजार ५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरिने र विजेता खेलाडीलाई नगद पाँच हजार प्रदान गरिनेछ भने विभिन्न आठवटा विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ । जसअनुसार सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १५ हजार दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही मेडल र प्रमाणपत्रसहित १०/१० हजार प्रदान गरिनेछ ।
यो वर्ष पनि खेल अवलोकन गर्नेले क्वाटरफाइनलमा एक सय, सेमिफाइनलमा र फाइनलमा क्रमशः दुई सय र २५० दरका टिकट लिनुपर्ने आयोजकले जनाएको छ । खेल सञ्चालनका लागि खेल मैदान व्यवस्थापनसहितका आवश्यक तयारी भइरहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच