पेरिस । अर्जेन्टिनी यू-२३ टोलीले १६ वर्षपछि ओलम्पिकअन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार भएको खेलमा युक्रेनविरुद्ध २-० को जितसहित क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । अर्जेन्टिनालाई जित दिलाउन थियागो अल्माडा र क्लाउडियो इचेभेरीले गोल गर्नुभयो ।
४७औँ मिनेटमा अल्माडाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनुभएको थियो । यस्तै, इन्जुरी समयमा इचेभेरीले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएपछि हाभियर मास्चेरानोको प्रशिक्षणमा रहेको टोलीले २-० को जित पक्का गरेको हो ।
जितसँगै समूह ‘बी’ बाट अर्जेन्टिना ६ अंकसहित उपविजेता बन्दै क्वाटरफाइनलमाा प्रवेश गरेको छ । समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको मोरक्कोले पनि समान ६ अंक नै जोडेको छ । अर्जेन्टिनासँग गोल आधारमा बराबर भएको मोरक्को हेड टु हेडमा समूह विजेता बनेको हो ।
यस्तै, मंगलबार नै भएको समूह ‘ए’ को खेलमा जित निकाल्दै फ्रान्स र अमेरिकाले क्वाटरफाइनल यात्रा तय गरेका छन् । घरेलु टिम फ्रान्सले न्युजिल्याण्डविरुद्ध ३-० को जित निकाल्दा अमेरिकाले पनि गुयनाविरुद्ध ३-० कै जित निकालेको हो ।
समूह चरणका तीन खेलमै अपराजित बनेको फ्रान्स नौ अंकसहित विजेता बनेको हो । यस्तै, समान खेलबाट ६ अंक जोडेको अमेरिकाले उपविजेताका रूपमा नकआउटमा स्थान पक्का गर्यो । प्रतियोगिताको समूह ‘सी’बाट इजिप्टले समूह विजेता र स्पेनले उपविजेताका रूपमा नकआउट चरणमा स्थान बनाए । यस्तै, समूह ‘डी’ बाट जापान शतप्रतिशत नतिजासहित विजेता र पाराग्वे उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।
यससँगै पुरुष फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल पुग्ने आठै टोलीको टुंगो लागेको हो । क्वाटरफाइनलमा घरेलु टोली फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने भएको छ । यो खेल अगष्ट ३ मा हुनेछ । यी दुई टोलीले पछिल्लोपटक सन् २०२२ मा भएको फिफा विश्वकपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जहाँ अर्जेन्टिना पेनाल्टी सुटआउटमा विजयी भएको थियो ।
यस्तै अर्को खेलमा इजिप्ट र पाराग्वे, मोरक्को र अमेरिका तथा जापान र स्पेन सेमिफाइनल प्रवेशका लागि खेल्नेछन् । समूह ‘ए’ बाट फ्रान्स विजेता र अमेरिका उपविजेता भएका थिए । समूह ‘बी’ बाट मोरक्को विजेता र अर्जेन्टिना उपविजेता भएका थिए । समूह ‘सी’ मा इजिप्ट र स्पेन तथा समूह ‘डी’ बाट जापान र पाराग्वे क्रमशः विजेता र उपविजेता भएका थिए । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच