ओखलढुंगा । सिद्धिचरण नगरपालिका-४ मा कोदोे उत्पादनमा वृद्धि तथा प्रवद्र्धन गर्न ‘कोदो दिवस’ मनाउन सुरु गरिएको छ । हरेक वर्षको साउन १५ गते कोदो दिवस मनाउन सुरु गरिएको हो । सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा सञ्चालित माझ चण्डेश्वरी कृषक समूहले गत वर्षदेखि कोदो दिवस मनाउन सुरु गरेको छ । स्वास्थ्यका हिसाबले निकै उपयोगी कोदो उत्पादन गर्न कृषकले छाडेको भन्दै कोदो उत्पादनमा वृद्धि गरी प्रवद्र्धन गर्ने उद्देश्यले दिवस मनाउन सुरु गरिएको कृषक समूहका अध्यक्षले बताउनुभयो ।
‘सर्वगुणी कोदोलाई चिनौँ, सदावहार सेवन गरी स्वस्थ बनौँ’ भन्ने मूल नाराका साथ मंगलबार औपचारिक कार्यक्रम आयोजना गरी कोदो दिवस मनाइएको हो । सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको कार्यक्रममा कोदो उत्पादन गर्ने नौजना उत्कृष्ट कृषकलाई सम्मानसमेत गरिएको छ । आफ्नो बारीमा कोदो उत्पादन गरी समाज स्वस्थ बनाउन सहयोग गरेको भन्दै सम्मान गरिएको हो ।
नेपालमा धान, मकै र गहुँपछि चौथो मुख्य बालीका रूपमा कोदोलाई लिने गरिएको छ । कोदोबाट बनेका खानेकुरा शहर बजारदेखि गाउँघरसम्म तुच्छ खानाका रूपमा लिने गरिन्थ्यो । नेपालका पहाडी जिल्लामा धान खेती कम हुने र कोदो खेती बढी हुने भएकाले धान खेती कम हुने परिवारलाई गरिबको संज्ञा दिने गरिन्थ्यो । कतिपय समाजमा नाम चलेका व्यक्तिहरूले भित्र कोदोको परिकार खाए पनि बाहिर हात धुन निस्कँदा हातमा थोरै चामलको भात लिएर निस्किने गरेको बुढापाका बताउँछन् । समाजमा आफूलाई धनी र अब्बल देखाउन बजारिया चामल खाने र आफ्नो खेतबारीको अर्गानिक औषधिजन्य कोदोलाई हेला गर्ने परम्पराले गर्दा अधिकांश मानिसहरू रोगी भएको समाजका अगुवाको भनाइ छ । बजारमा पाइने सडेको चामलको अधिकतम प्रयोगले सुगर, प्रेसरलगायत रोगको शिकार भइरहेको अवस्था छ ।
कोदोको उचित उत्पादन र प्रयोगले समाज स्वस्थ बन्नुका साथै राम्रो आम्दानीसमेत गर्न सकिने कार्यक्रमका सहभागीहरूले बताएका छन् । पहाडी जिल्लाहरूमा कोदो प्रमुख उत्पादन भए पनि किसानले कोदो उत्पादन गर्न छोडेका बताएका छन् । अधिकांश युवाहरू रोजगारीका लागि विदेश जाने र गाउँघरमा बस्ने बुढापाकाहरूले खेती गर्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन् । कोदो उत्पादन गर्न धेरै झन्झटिलो हुने र बेच्दा कम मूल्य आउने भएकाले अधिकांशले कोदो खेती नै गर्न छोडेका छन् । कोदो प्रवद्र्धन गर्न रुम्जाटारमा कोदोको केकसमेत बनाउन सुरु गरिएको बताएका छन् । रैथाने बाली कोदो उत्पादनमा वृद्धि गर्न तथा प्रवद्र्धन गर्न आवश्यक सहयोग गर्ने नगरप्रमुख तेजन खनालले प्रतिबद्धता जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच