काठमाडौं । डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई अर्पण गरिएको छ । एक लाख राशिको ‘डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार’ शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई अर्पण गर्नुभएको हो ।
सो क्रममा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लाई प्रदान गरिएको छ । रिसाललाई खादा, माला, प्रमाणपत्र र नगद एक लाख प्रदान गरिनुका साथै जाइकालाई खादा, माला, प्रमाणपत्र र मायाको चिनो स्वरूप बुद्धको मूर्ति प्रदान गरिएको थियो ।
डा.डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा आयोजित उक्त समारोहमा राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताउनुभयो । उहाँले हाम्रा अनुभव, ज्ञान, सीप, क्षमता र योग्यता देश र जनताको सर्वोत्तम हितका लागि समर्पित गर्नुपर्ने पनि बताउनुभयो ।
सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिबद्धता हुनुपर्ने बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेअनुसार राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोतर्फ लैजान सकेमात्र हाम्रा अग्रज राजनीतिज्ञहरूले परिकल्पना गरेको लक्ष्य साकार हुन्छ । त्यसैले सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिबद्धता हुनुपर्छ ।’
राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गर्नुभएका डा.रेग्मीको व्यक्तित्व बहुआयामिक भएको बताउँदै नेपालको राजनीतिक, साहित्यिक र सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदान प्रेरणादायी भएको स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले अंग्र्रेजी भाषामा नेपालको इतिहास लेखेर नेपाललाई संसारमा चिनाउन रेग्मीले दिनुभएको योगदानको स्मरण गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले डा.डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयलाई व्यवस्थित र गतिशील बनाउन लागिपर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेले स्वागत मनत्वय राख्नुभएको थियो । कार्यक्रममा मन्त्रालय तथा राष्ट्रपतिको कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत पुस्तकालयकर्मीसहित का व्यक्तित्वहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच