पाल्पा । प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो । गठेंमंगाः पर्व नेवारहरूको मौलिक पर्व मध्येको एक हो ।
वर्षको चार वटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो ।
खासगरी रोपाइँ सकिएलगतै आउने घण्टाकर्ण पर्व नेवार समुदायले भूतपिशाच, रोगव्याधी नलागोस् भन्ने परम्परागत कामना गर्दै मनाउँछन् । शुक्रबार तानसेनका नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई घण्टाकर्ण पर्व मनाएका हुन् ।
यहाँका शितलपाटी, बसपार्क, टक्सारटोल, नारायणस्थान लगायतका स्थानमा हरियो नर्कट र निगालो,छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई राखिएको थियो । हरेक वर्ष जस्तै यस वर्ष पनि देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाले तानसेनको शितलपाटी चोकमा, कलाकार किरण चित्रकारको समूहले बसपार्कमा, टक्सार टोलले टक्सार चोक र नारायण युवा क्लवले नारायणस्थान चोकमा राक्षसको प्रतीक बनाई राखेका थिए । सो आकृतिसँगै व्यक्तिलाई राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइएको थियो ।
साँझपख सो राक्षसको प्रतीक स्वरूपको नर्कट र छ्वालीको मानवकृतलाई बाजागाजाका साथ ख्याल ठट्टा गर्दै नजिकको होलाङ्गदी खोलामा लगेर जलाइएको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्ययक्ष मदन देउरालीले बताउनभयो ।
खेती किसानीको काम सकिएलगतै विशेष गरी नेवार समुदायमा पहिलो चाडका रूपमा श्रावण कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने गरिन्छ । यो पर्वसँगै पाल्पामा सांस्कृतिक जात्रा र पर्वहरु सुरु भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच