कलानिधि दाहाल
विराट विश्वमा अवस्थित सात अरबभन्दा माथिको जन जमातमात्र दुई धार–आस्था र अनास्थामा, आशा र निरासामा, ईश्वर र अनिश्वरमा, योगी र भोगीमा सीमित छ । अनुहार र अङ्क सङ्ख्या जे जति भए पनि मूलमा यिनै दुई अवस्थाभित्र चराचर विश्वको मानवलोक प्रतिबन्धित छ । हतारमा, होडमा, होहल्लामा जतासुकै दृष्टि दौडाए पनि मान्छेहरू आएका छन्, गएका छन्, उभिएका छन् । आउनु र जानुको हतार चहल्पहलभित्रका मान्छेहरू आस्थामा छन् । आशामा छन् । ईश्वरीय उपासक छन् । भोगी छन् । यस खालको जमातले पाउनुमा कसैको पुकारा गर्छ । रहनुमा दृढ रहन्छ । केही पाउना साथ के पाएँ भन्ने उसलाई थाहा छैन तर पाएकोलाई गौरव ठानेर भएजति दाँत देखाउँछ र ओठलाई जरैदेखि फुकाएर अट्टहाँस उफ्रन्छ ।
व्यङ्ग्यविनोदीहरू चाहे ती कलाकार हुन् चाहे लेखक । चाहे गफाडीहरू हुन् चाहे कविहरू सबै साना प्राप्तिमा धुरी चढेको अनजान अभिमानका अंश रहेसम्म मात्र मान्छे व्यङ्ग्यविनोदी बन्न सक्छ । अर्कालाई झार्ने अनुभूतिको अहं उचाइको आसनमा मात्र हास्यव्यङ्ग्यात्मक धरोहर उभिन्छ । यो जड्भविताकै विकसित रूप हो । मूर्ति पूजेर अविदित ईश्वरको आसनप्राप्तिको आभासमा रमाउनु परम्परित भ्रमको अर्को विकराल अवस्था हो । यो भ्रम पनि जड्भविताको सारै बलियो पाटो हो । समग्र विश्वका ऋणात्मक शून्य एकलाई बाँकी राखेर अन्य सबै यसै भ्रमका ओच्छ्यानमा सुतेर भ्रमकै विचारमा भ्रमकै बिस्कुन फिँजाइरहेका हुन्छन् । साना झिना अपवादलाई छाड्ने हो भने कथित योगी/जोगीहरू यसका अझ खरा उदाहरण हुन् ।
केही प्राप्तिका आशामा रणभुल्ल भएर दौडिएको यसै जमातले त्यो विन्दु, त्यो चिज, त्यो वस्तु प्राप्त नहुनासाथ यिनका मनोलोकमा अविश्वास जन्मन्छ । अनास्था हुर्कन्छ । निरासा मौलाउँछ । अनिश्वरीय विचार जन्मन्छ तर दृढ रहन्न । यस विचारको माद बढ्दै गएपछिका मान्छेका रूप हुन्–बौलट्ठीपन अर्थात डिप्रेसन । यसबाट दुई सन्तान–बौलाहा वा आत्महत्या जन्मन्छन् । यी दुवै रूपको नायक हो जड्भविता । दुःखको कारक पनि यही हो र भयत्रासको पनि । अझ डरलाग्दो त लज्जाबोध भएपछि त्यो मनस्थिति अन्य कुनै पनि मनस्थितिसँग जुध्न, लड्न र अघि सर्न ऊ सक्दैन अनि एकान्तवासको शरणमा पुग्न बाध्य हुन्छ । त्यो हो कायर मृत्यु वा आत्महत्या ।
अविश्वास मात्रमा रहने, अनास्थामा अघि बढ्ने, निरासामा विश्वास राख्ने निराकारका अङ्कुर तर सीमित स्वार्थका आँगनमा देख्न चाहने जीवनगति नै संवेदित मृत्युका सिकारहरू हुन् । इष्र्या र अहंका उपभोक्ता अर्को निन्दनीय जीवनभित्रका काला रातहरू हुन्, जसका ओठमा सहज किसिमका मधुमुस्कान कहिल्यै निस्कन सक्दैनन् । म भेलसँगै जेल पुगेका असङ्ख्य चेहरालाई विविध कोणबाट मानवताको मापन सीमा बनाएर अध्ययन गर्छु । अहं, त्यहाँ कोही कतै एक छेउसम्म पनि नपुगेको पाउँदा निरासाको चरममा उभिनुबाहेक बाँकी केही रहेन । जीवन इतिवृत्तको निर्णयक मोड निर्माण गरेँ । मनमस्तिष्क सर्वत्र बदलाका वाणहरू तिखा सुइरा बनेर घोपिन लागे ।
सहकारी जति यमलोक र सञ्चालक जति यमराजका बलिया दूत मात्र देख्न लागेँ । नेपालको सन्दर्भमा भन्ने हो भने यो देखाइ यो सोचाइमा एकांश पनि असत्यता छैन, भ्रम छैन । थोरै धेरै हुनसक्ला, देखिएका नदेखिएका हुनसक्लान् तर असलमा रहेका एक पनि अपवाद यता पाउन सकिँदैनन् । राज्यव्यवस्था सञ्चालकका जग नै यसबाट खडा भएका छन् । नेता भनौँ वा मन्त्री, पत्रकार भनौँ वा साहित्यकार, शिक्षक भनौँ वा प्राध्यापक सबका शरीरका नसाभित्र रक्तथोपासँगै यही चोर बाटोबाट अकुत सम्पत्ति कमाएर भौतिक सानमा उभिऊँको सपना छ । यी सपनापालकहरू यिनै महल निर्माणार्थ एक न एक हिसावले जम्मै सहकारीमा झुलेका छन् र यसको अंश नपर्ने नेपाली भेटियो भने त्यसलाई ससम्मान नमस्कार गरे हुन्छ ।
यतिमात्र होइन सञ्चालकका यस्ता आपराधिक काला चेहराले छाक काटेर केही भए पनि जीवन सहज होला भन्ने सोचले सञ्चय गरेको रकम हिनामिना गर्न संस्थामा डनहरू पालेका छन् । बट्टाइका मासु खाएर मोटाएका यी भूमाफिया पाखण्ड चेहराहरू सहकारीका मूलद्वारमा बफादारी हिमाली कुकुर बनेर तिनै निक्षेपकर्तालाई तर्साउँछन् । काला सञ्चालकका जीवनसुरक्षाका ढाल बनेर यी आपराधिक चेहरा उभिएका हुन्छन् निमुखा निक्षेपकर्ताका सम्पूर्ण रकम यिनै दुई समूह मिलेर या त सुरासुन्दरी या त सुन्दर सुन्दरीमा समाप्त गर्छन् वा क्यासिनोका महफिलमा उडाउँछन् या त विदेश भ्रमणका जहाज आकाशमा उडेर सकाउँछन् । यिनीहरूका सञ्जालको सम्बन्ध कुनै न कुनै हैसियतले यस देशका जरासम्म पुगेको छ ।
सबै सोचेपछि, जरासम्म पुगेर पत्ता लगाएपछि, कुराकानीका जग त त्यहीँ छन्–पीडित निक्षेपकर्ता पनि सञ्चालकका चोर चलाखी र सण्डेमुण्डे उनीहरूकै बहादुरीका कारण त्यहीँ पुगेका छन् । सण्डेमुसण्डेका एकाध अनुहार पनि कुनै न कुनै प्रकारले त्यहाँ पुगेका छन् । केही चोर सञ्चालकसमेत त्यहाँ छन् नै । सबैका खुराफाती अभियान पनि, शक्तिका खेल पनि त्यहीँबाट अर्थात जेलबाट नै चलिरहेका छन् । यो अनौठो बिडम्बना । खुसुक्कभित्र पसेर कुराकानी गरेपछि यिनका योजनाका सम्पूर्ण करतुत सजिलै बुझ्न सकिन्छ र निचोड निकाल्न सकिन्छ कुनै पनि सहकारीहरू सञ्चालकहरू सही धारमा चलेका पाइँदैनन्, भेटिँदैनन् ।
केही होलाका सकारात्मक सोचका सम्पूर्ण तार टुटेपछि सामान्य चेतनाका मान्छेले अपनाउने जीवनको अन्तिम अस्त्र देहत्याग सिवाय अर्को केही हुँदैन । दृश्यजीवनका दुःखद् कहानीपश्चात जीवनयात्राको गम्भीर सोचमा म पुगेँ । अनायास जन्मिएको जीवन आमाबाबुको कथित नैतिक बाटामा छ भने लाडप्यारमा नै हुर्कन्छ, बढ्छ । कहिलेसम्म ? पाँचवर्षसम्म सामान्यतः । अहिलेको समयानुसार हेर्ने हो भने अढाइतीन वर्षसम्म । त्यसपछि ऊ विद्यालय होमिन्छ । अनुशासन र शासनका घेरामा बाँधिन्छ । शिक्षकशिक्षिकाको हप्काइ/कुटाइ । बाबुआमा वा अभिभावकका भावी सुन्दर तर स्वार्थी चाहनाको भकुण्डो ऊ बन्छ ।
अरूकै लक्ष्यका दौडमा जीवन हुत्तिन्छ । कहिले उठ्छ, कहिले पछारिन्छ । कहिले हाँस्छ र कहिले रुन्छ तर किन ? उसलाई केही पनि थाहा हुन्न । मात्र ऊ भकुण्डो जसले जता हान्छ त्यतै हुइकिन्छ । राज्यव्यवस्थाभित्रको समाजले ठानेको सफलतामा अर्कै खुसी हुन्छ । असफलतामा अर्कै दुःखी हुन्छ र दुख्छ । जब उसको पन जन्मन्छ, चेतनाले दिल छुन्छ । ‘म’को आभास हुन्छ अनि एउटा निश्चित लक्ष्यको बिन्दु खडा गर्छ म के हुने ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच