तारण गर्ने, तार्ने वा पार गर्ने अर्थद्योतक ‘तृ’ धातुमा ‘थक्’ प्रत्यय लागेर तीर्थ शब्दको निर्माण हुन्छ (आप्टे, पृ.४३१) । जसको अर्थ पवित्र, शुद्ध वा चोखो भन्ने हुन्छ । त्यस्तो पवित्र वा पुण्य ठाउँ जहाँ धर्मभावबाट श्रद्धासहित मानिसहरू स्नान, यज्ञ, देव दर्शन आदि गर्न जान्छन् त्यस्तो स्थानलाई पनि तीर्थ भनी बताइएको छ । पवित्रताको वरण तीर्थको मुख्य उद्देश्य हो । मूलतः शास्त्रमा तीर्थका तीन भेद बताइएको छ : जङ्गम तीर्थ, मानस तीर्थ र स्थावर तीर्थ (वाचस्पत्यम्) । हाम्रा हातमा पनि तीर्थ रहन्छन् : ब्रहृमतीर्थ, कायतीर्थ, देवतीर्थ, पितृतीर्थ आदि । जसको प्रयोग तत् तत् कार्य विशेषलाई पवित्र तुल्याउन प्रयोग गरिन्छ । हरेके तीर्थमा यात्रा त हुन्छ नै । मानस तीर्थमा पनि मनले यात्रा गरेकै हुन्छ । मूलतः स्थावर तीर्थका चर्चा यस शृङ्खलामा रहेनेछ ।
ब्राहृमण वा सन्यासीलाई जङ्गमतीर्थ भनिएको छ । सन्यस्त योगीजनको सङ्गत गर्नु, ब्राहृमणको सङ्गत गर्नु पवित्रताको वरण गर्नु हो । यसैले ब्राहृमणको सेवा, भेट, उपदेश लिनाले सबै कार्य निर्मल हुन्छन् भनिएको छ :
‘ब्राहृमणा जङ्गमं तीर्थं निर्मलं सार्वकामिकम् ।
येषां वाक्योदकेनैव शुद्ध्यन्ति मलिनाजनाः ।’ (स्कन्दपुराण)
अर्थात् ब्राहृमण जङ्गम तीर्थ हुन् । जसको सेवा गर्नाले, उपदेश लिनाले मलिन जन पनि शुद्ध हुन्छन् । यसैले ब्रहृमणको सेवा, सङ्गतलाई तीर्थको संज्ञा दिइएको हो । मनमा पवित्र भावनाको जागृत गराउनुलाई मानसतीर्थ भनी बताइएको छ । सत्यको मार्गमा हिँड्नु, साँचो बोल्नु, क्षमा भाव राख्नु, इन्द्रियलाई वशमा राख्नु, सबै प्राणीमा दया भाव राख्नु, ज्ञान बाँड्नु, तपस्या गर्नु मानस तीर्थअन्तर्गत पर्दछन् :
‘शृणु तीर्थाणि गदतो मानसानि ममानघे !
येषु सम्यक् नरः स्नात्वा प्रयाति परमां गतिम् ।
सत्यं तीर्थं क्षमा तीर्थं तीर्थमिन्द्रियनिग्रहः ।
सर्वभूतदयातीर्थं सर्वत्रार्जवमेय च !
दानं तीर्थं दमस्तीर्थं सन्तोषस्तीर्थमुच्यते ।
ब्रहृमचर्य्यं परं तीर्थं तीर्थञ्च प्रियवादिता ।
ज्ञानं तीर्थं धृतिस्तीर्थं पुण्यं तीर्थमुदाहृतम् ।
तीर्थानामपि तत्तीर्थं विशुद्धिर्मनसः पुरा ।’ (स्कन्दपुराण)
अर्थात् मनको शुद्धि नै मानस तीर्थ हो । मनमा पवित्र भावनाको जागृत गराएर मानसतीर्थको यात्रा गर्न सकिन्छ । दान गर्नु, मनमा सन्तोषको भावना राख्नु, ब्रहृमचर्यमा रहनु, मीठो बोल्नु पनि मानस तीर्थमा पर्दछन् । जसले मनलाई निर्मल बनाउँछन् र यो संसारी भवसारगरबाट तर्न सहायता गर्दछ । पृथ्वीका स्थान विशेषका तीर्थलाई स्थावर तीर्थ भनिएको छ । नदी, मन्दिर, तलाउ आदि स्थावर तीर्थअन्तर्गत पर्दछन् । जो मलिन व्यक्तिलाई शुद्ध तुल्याउने हुन्छन् : ‘तथा पृथिव्यामुद्देशाः केचित् पुण्यतमाः स्मृताः ।’
पृथ्वीको विशेष पवित्र स्थानलाई स्थावर तीर्थका रूपमा लिइन्छ । यस्ता थुप्रै तीर्थ छन् जस्तै पुष्कर, नैमिषारण्य, प्रयाग, चम्पकारण्य, काशी, कोशी, गण्डकी, मुक्तिनाथ, वराहक्षेत्र, द्वारका, वदरीनाथ, गङ्गा, यमुना आदि स्थलविशेष तीर्थ हुन् । यसअन्तर्गत मन्दिर, नदी, देवी देवताका क्रीडास्थल, जन्मस्थल, ऋषि महर्षिका तपस्थल, नदी, नदी सङ्गम, गुफा, पोखरी, कुवाआदि पर्दछन् । पृथ्वीका पवित्र स्थानलाई तीर्थ भनिन्छ भनी महाभारतमा तीर्थको परिभाषा गरिएको छ :
‘यथा देशाः शरीरस्य केचिन्मध्येतमाः स्मृता ।
तथा पृथिव्यां देशाश्च केचित्पुण्यतमाः स्मृताः ।।
प्रभावादुद्भूताद् भूमेः सलिलस्य च तेजसा ।
परिग्रहान्मुनीनां च तीर्थानां पुण्यता स्मृताः ।।’ (महाभारत)
अर्थात्, जसरी शरीरका केही अङ्गहरू पवित्र मानिन्छन्, त्यस्तै पृथ्वीका केही भागहरू महŒवपूर्ण वा पवित्र मानिन्छन् जसलाई तीर्थस्थल भनिन्छ । जुन स्थानमा भूमिको अद्भूत प्रभाव छ, पानीको तेज छ, ऋषिमुनि एवं महात्माहरू बस्दछन्, जन्मन्छन् वा आउँछन्, त्यस स्थानलाई तीर्थस्थल भनिन्छ । जसको यात्रा गर्नाले, दर्शन गर्नाले पनि सम्पूर्ण पाप नष्ट भएर जान्छन् भनी बताइएको छ :
‘तीर्थेष्वेतेषु विधिवत् सम्यक् श्रद्धासमन्वितः ।
स्नानं करोति यो मर्त्यः सर्वपापैः प्रमुच्यते ।
अभ्यर्च्च्य देवतास्तत्र स्थित्वा च रजनी–त्रयम् ।।’ (स्कन्दपुराण) यसैगरी तीर्थमा गई तीन रात निवास गरी स्नान, ध्यान आदि कार्य गर्नु भन्ने पनि बताइएको पाइन्छ ।
तीर्थको महिमा हरेक धर्ममा नै वर्णन गरेको पाइन्छ । तीर्थ यात्रा हरेक धर्ममा गर्ने विधि विधान पाइन्छन् । सबैको उद्देश्य मनलाई पवित्र तुलयाउनुमा नै केन्द्रित पाइन्छ । वेददेखि पौराणक ग्रन्थसम्म सबैले तीर्थको महिमालाई विशेष उल्लेख गरेका छन् । रामायण, महाभारतका प्रसङ्गलाई हेर्ने हो भने पनि तीर्थको महिमालाई जान्न सकिन्छ । श्रीरामको चौधवर्षको वनवास भनौँ या पाण्डवको वनवास यी सबै तीर्थकै रूप हुन् । अपवित्र वस्तु वा स्थानलाई पवित्र तुल्याउन भगवान् श्रीरामले तीर्थयात्रा गर्नु भएको थियो । यसैगरी धर्मको मार्गमा लम्किन पाण्डव वनवासी भएका थिए जजसलाई पनि तीर्थकै रूपमा लिन सकिन्छ । तीर्थयात्राले कायिक, वाचिक, मानसकि हरेक क्षेत्रमा पवित्र तुल्याउने गर्दछ ।
यसका साथसाथै तीर्थयात्राले अन्य धेरै विषयवस्तुको ज्ञान दिन्छ जुन भनेको सुनेर, टिभीमा हेरेर भन्दा प्रत्यक्ष दर्शनले सयौं गुण अधिक प्रभाव पोर्न गर्दछ । यसैले शास्त्रमा तीर्थ गर्नु भनिएको छ । पुस्तकको वर्णन पढ्नु, कसैको कथन सुन्नु, श्रव्य सामग्री सुन्नु, दृश्य सामग्री हेरेरभन्दा पनि तत् स्थानमा गई प्रत्यक्ष अवलोकन गरेर मात्र त्यो स्थानको वास्तविकता जान्न सकिन्छ । भूगोलको ज्ञानका निम्ति, स्थानअनुसार भिन्न संस्कृति र सभ्यताको ज्ञानका निम्ति, शुभाशुभ कर्मको समालोचनाका निम्ति, मानसकि शुद्धिका निम्ति मूलतः सर्वतोभावेन पवित्रताका निम्ति तीर्थयात्राको विशेष महिमा रहेको पाइन्छ ।
तीर्थको महिमा हरेक धर्ममा नै वर्णन गरेको पाइन्छ । तीर्थ यात्रा हरेक धर्ममा गर्ने विधि विधान पाइन्छन् । सबैको उद्देश्य मनलाई पवित्र तुलयाउनुमा नै केन्द्रित पाइन्छ । वेददेखि पौराणक ग्रन्थसम्म सबैले तीर्थको महिमालाई विशेष उल्लेख गरेका छन् ।
शास्त्रले बताएका सबै तीर्थमा पुग्न सम्भव नहुन पनि सक्छ । यसैले शास्त्रमा नपुगेका स्थानको स्मरण, नाम कीर्तन, स्मरण, कीर्तन गर्नाले पनि तत् जन्य फल प्राप्त हुन्छ भनिएको छ । जस्तो कि सङ्क्रान्तिमा स्नान गरी पञ्चाङ्गको फल श्रवण गर्नाले गङ्गा स्नान गरे बराबरको फल प्राप्त हुन्छ भनी बताइएको छ ‘तिथिर्वारश्च नक्षत्रं योगः करणमेव च । पञ्चाङ्गस्य फलं श्रुत्वा गङ्गास्नानफलं लभेत् ।।’ यसैगरी गङ्गा, यमुना आदिको नाम उच्चारण गरी स्नान गर्नाले पनि तत् नदीमा स्नान गरे बराबरको फल प्राप्त हुन्छ भनी बताइएको पाइन्छ ।
पृथ्वीका हरेक स्थानको विशेष महिमा रहेको छ । तत् स्थानको दर्शन, स्पर्शनले विशेष पुण्य लाभका हुने फल श्रुति पनि शास्त्रमा वर्णन पाइन्छन् । यसैले सम्भव भएसम्म सम्पूर्ण तीर्थको स्नान गर्नु उपयुक्त हुन्छ । नसके पनि तत् तीर्थको महिमा श्रवण गरी मनलाई पवित्र तुल्याएर पनि तीर्थ गरेबराबरको फल प्राप्त सकिने शासत्र वचन पाइन्छन् । तीर्थमा जानु भनेको पवित्र भावनाको वरण गर्नु हो । तीर्थ गएर पनि मनमा अपवित्र भावना जागृत हुन्छ भने शुद्धि नमिल्ने वचन पाइन्छ :
‘चित्तमन्तर्गतं दुष्टं तीर्थ–स्नानं न शुध्यति ।
शतशोऽथ जलैर्धौतं सुराभाण्ड–मिवाशुचि ।
न तीर्थानि न दानानि न व्रतानि न चाश्रमाः ।
दुष्टाशयं दम्भरुचिं पुनन्ति व्यथितेन्द्रियम् ।।’
यसैले जहाँ गए पनि पवित्रि भावनाको वरण अनिवार्य गर्नुपर्दछ भनिएको छ । पानीले शरीर पवित्र गर्दैमा वास्तविक स्नान हुन सक्दैन, जसको मन पूर्ण शुद्ध छ, ऊ तीर्थस्नान गरेको व्यक्ति हो । पूज्य व्यक्ति सबै तीर्थ समान हुन् । जसको सेवा गर्नाले, आदर सत्कार गर्नाले पवित्र भावनाको जागृत हुन्छ । यसैगरी तीर्थस्थलमा दिएको दान, पढिएको पाठ, गरिएको चिन्तन–मननबाट मानिसलाई यो लोकको भुक्तिका साथै परलोकमा पनि मुक्ति प्राप्त हुने कुरा शास्त्रमा फलश्रुति पाइन्छ ।
अन्यक्षेत्रमा भए गरेको पाप तीर्थक्षेत्रको दर्शनले नाश हुन्छन् तर तीर्थमा पाप गरिए वज्रसमान हुन्छ, पखाल्ने ठाउँ संसारमा कतै पाइँदैन भनी बताइएको छ :
‘तीर्थशौचमनर्थित्वमार्जवं सत्यमार्दवम् ।
अहिंसा सर्वभूतानामनृशंस्यं दमः शमः ।।’ (महाभारत, अनुशासन पर्व,१०८।३)
यसैले तीर्थ गर्नु पवित्र रहनु हो । मानसतीर्थमा सदा परमात्माको आश्रय लिएर नुहाउनुपर्छ । जो मन, वचन र कर्ममा संयम छ, जसका सबै क्रिया (कर्म) हरू निर्विकार छन्, त्यस्ता व्यक्तिले घरमै बसेर पनि तीर्थको फल पाउन सक्छन् भनिएको छ । तीर्थमा गएर पनि पवित्र भावनाको जागृत हुन सकेन भने त्यो तीर्थको कुनै अर्थ रहँदैन । पृथ्वीका कण–कणमा देवताको निवास छ । यसैले पृथीका हरेक स्थान तीर्थ समान हुन् । जसमा पनि स्थान विशेषको विशिष्ट महिमा पाइन्छ । यसमा पनि भारतवर्षका तीर्थलाई शास्त्रमा विशेष उल्लेख गरिएको छ । नेपाल पनि एक पवित्र तीर्थस्थल हो । पूर्वमेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म हरेक स्थानको विशेष महिमा पाइन्छ । मूलतः नेपाल देवभूमि रहेकाले पनि यहाँका नदी, पर्वत, ताल, गुफा विशेष स्थान तीर्थका रूपमा प्रसिद्ध छन् ।
तीर्थ गर्नु पवित्र रहनु हो । मानसतीर्थमा सदा परमात्माको आश्रय लिएर नुहाउनुपर्छ । जो मन, वचन र कर्ममा संयम छ, जसका सबै क्रिया (कर्म)हरू निर्विकार छन्, त्यस्ता व्यक्तिले घरमै बसेर पनि तीर्थको फल पाउन सक्छन् भनिएको छ ।
तीर्थयात्रा गर्नु मनमा पवित्र भावनाको जागृत गर्नु हो । जसबाट इह लोकको भुक्तिका साथै परलोमा पनि मुक्ति प्राप्त हुने शास्त्रीय वचन पाइन्छ । कायिक, वाचिक र मानसिक तीनै पक्षमा पवित्र रहेने व्यक्ति स्वयंमा तीर्थ हुन् । पूज्य व्यक्ति सबैका तीर्थ हुन् । गणेशजीले पनि मतापितालाई परिक्रमा गरी विश्वपरिक्रमाको फल प्राप्त गर्नुभएको कथा पुराणमा वर्णन भएको पाइन्छन् । समय अनुकूल तुल्याई स्थावर तीर्थको दर्शन, स्नान, दान आदि पुण्यकर्म गर्नु भन्ने शास्त्रीय सार पाइन्छ । यसैले इहलौकिक विषयवस्तुको समग्र ज्ञानका निम्ति, इह लोकमा भुक्तिका साथै परलोकमा मुक्तिका निम्ति पनि जीवनमा तीर्थ यात्रा गर्नु कल्याणकारी रहने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच