यस वर्षको कक्षा बाह्रको अन्तिम परीक्षाको परीक्षाफल प्रकाशन भएको छ । यसपटक गतवर्षको भन्दा केही सुधार भएको पाइएको छ तर धेरै सुधार भएको भने होइन । पहिले पहिलेको भन्दा यस परिणामलाई नराम्रो भन्न मिल्दैन तर अर्कोतर्फ केही विद्वानहरूले किन सबै विद्यार्थीहरू उत्तीर्ण हुन सक्दैननन् भन्ने प्रश्न पनि उठाउने गरेका छन् । वर्तमान समयमा विद्यार्थी तथा अभिभावकहरूको ध्यान पढाइतिर भन्दा पनि विदेशमा गएर कुनै मुलुकमा काम गर्दै पढ्दै गर्ने कुनै मुलुकमा चाहिँ काम मात्र गरेर भए पनि कमाउनेतर्फ केन्द्रित हुने गरेको छ । यसले गर्दा पढाइ विद्यार्थी र अभिभावकको समेत प्राथमिकतामा पर्दैन ।
शैक्षिक संस्थाहरूमा विद्यालय तहमा विद्यार्थीहरू संख्यात्मक रूपमा जम्मा हुने गर्छन् र एसइई दिनेहरूको संख्या पाँच लाखको हाराहारीमा पुग्ने गर्छ । ती सबै पास हुँदैनन् तर जति पास हुन्छन् ती सबै कक्षा ११ मा भर्ना हुँदैनन् । सो संख्या घटेर जान्छ । उत्तीर्ण भएर आएकाको शैक्षिक गुणस्तर पनि कमजोर हुन्छ । बाहिरी जिल्लामा व्यापक मात्रामा चोर्ने–चोराउने प्रवृत्ति पहिल्यैदेखि विकसित बन्दै आएको छ । बरू यसपटक सुमना श्रेष्ठ शिक्षामन्त्री भएपछि उहाँले केही मात्रामा शिक्षा प्रणालीमा भएका विकृतिहरू हटाउने प्रयास गर्नुभयो र शिक्षक विद्यार्थीहरूमा मनोवैज्ञानिक रूपमा गैरजिम्मेवार हुनुहुँँदैन भन्ने भय सिर्जना गर्न सफल हुनुभयो ।
जसले गर्दा राजनीतिक संगठनको सदस्य भएर पढाउनभन्दा राजनीतिक पार्टीको झोला बोकेर हिँड्ने शिक्षकहरूले त्यस्तो संगठनको सदस्यता त्यागेर पढाउने कार्यतर्फ समय दिए । विद्यार्थीहरूमा पनि पढाइलाई नसुधारे पास गर्न सकिँदैन भन्ने मानसिकताको विकास भयो र पढाइमै संलग्नता बढाए । जसको परिणाम हो हालको सुधारिएको परीक्षाफल तर यो राम्रो रिजल्ट होइन । सयजनामा त्रिपन्नजना पास हुनुलाई कदापि राम्रो रिजल्ट हो भन्न मिल्दैन । अब हुने पूरक परीक्षाको रिजल्टपछि अरू केही प्रतिशत विद्यार्थीहरू उत्तीर्ण होलान् । त्यसले अरू दश–बीस प्रतिशत विद्यार्थी तानिएलान् तर बाँकी अनुत्तीर्ण विद्यार्थीहरूको संख्या पनि धेरै ठूलो रहन्छ । मकैका ठेट्ना जस्तो अवस्थामा रहेका ती अर्धशिक्षित विद्यार्थीहरू न यताका न उताका अवस्थामा पुग्छन् र तिनीहरू आफ्नो रोजाइ अनुसार श्रम गर्ने मुलुकहरू जान्छन् ।
आफ्नै देशमा बसेर केही गर्छु भन्नेहरूको संख्या अत्यन्त थोरैमात्र हुन्छ । परम्परागत रूपमा चल्दै आएको हाम्रो शिक्षा प्रणालीमा परिमार्जन गरी पश्चिमा शैलीको पठनपाठन भित्राएपछि बिस्तारै हाम्रो मौलिकता मेटिँदै गएको छ । हाम्रा आफ्ना भौगोलित अवस्थिति, पहाड, वनजंगल, जडिबुटी, खानी, जलस्रोत, संस्कार, संस्कृति, रोजगार, व्यवसायलाई भन्दा पश्चिमाहरूका यस्ता विषयहरू हाम्रो पठनपाठनको प्राथमिकतामा पर्न थालेपछि अन्ततः शिक्षा प्रणाली पश्चिमी शैलीकै बन्न पुगेको अवस्था छ जसले गर्दा हाम्रो मौलिकपन हराउँदै गएको छ । एसइईपछि कक्षा ११ मा निजी शिक्षणसंस्थाहरूमा विद्यार्थी भर्नाका लागि होडबाजी चल्ने गर्छ । ती शिक्षण संस्थाहरूले विद्यार्थीहरूको स्तर मापन नगरी जस्ता विद्यार्थी आए पनि तिनलाई भर्ना लिन्छन् ।
पूरक परीक्षा दिएका र रिजल्ट हुन बाँकी विद्यार्थीहरूलाई समेत भर्ना गरेर पढाइँदै गर्ने गरिन्छ । संस्थापकहरू आपूm पढाउँदैनन् र शिक्षकहरूमाथि ती कमजोर विद्यार्थीको स्तर सुधार्नका लागि ठूलो दबाब सिर्जना गर्छन् । जसले गर्दा शिक्षकहरूलाई त्यस्ता विद्यार्थीहरूको स्तर सुधार्न कठोर परिश्रम गर्नुपर्ने हुन्छ । विद्यार्थीहरूको ध्यान भने यहाँको पढाइमा भन्दा विदेश जाने मनोकांक्षले तानिरहेको हुन्छ । जसले गर्दा राम्रो परिणाम आउन नसक्नुलाई स्वाभाविक मान्नुपर्छ । हालको परिणाम जे जस्तो आएको छ त्यो पनि यही विसम परिस्थितिमा आएको कारण यसलाई अत्यन्त राम्रो मान्नुपर्ने हुन्छ । अंकमा कपी परीक्षण गर्ने र अंक प्रणालीमै परीक्षाफल प्रकाशन गर्ने हाम्रो मौलिक शैलीमा लेटर ग्रेडिङ प्रणालीले पनि केही अलमल गराइरहेको छ तर यसले मात्र परीक्षाफलमा तात्विक फरक पारेको भने होइन ।
तीन लाख ९१ हजार परीक्षार्थीहरूमध्ये दुई लाख चार हजार विद्यार्थी ग्रेडिङमा पर्नु र बाँकी नपर्नुले अरूमा व्यापक निराशा छाउनु स्वाभाविक हो तर यसका लागि कारक बनेर आएका तत्वहरूको मानसिकता केलाएर हेर्दा विभिन्न पक्षको कमजोरी यसका लागि जिम्मेवार छ । विदेश जाने मानसिकता लिएर पढाइमा मिहिनेत नगर्ने विद्यार्थी, जसरी भए पनि कक्षामात्र चढाउने र आफ्ना छोराछोरीलाई विदेश पठाउने मानसितका लिने अभिभावक, विद्यार्थीको संख्या भेला पारेर आफ्नो शैक्षिक व्यापार गर्ने उद्देश्य सफल बनाउने सोचका संस्थापक, राम्रो वातावरण तयार नगरिदिने सरकार सबै यसका लागि जिम्मेवार छन् । आवश्यक रूपमा पर्याप्त ऐन कानुनको तर्जुमा नगरिदिने र भएका कानुनलाई समयसापेक्ष परिमार्जन वा संशोधानतर्फ ध्यान नदिने सरकार यसका लागि सबैभन्दा बढी जिम्मेवार छ ।
एक प्रकारले भन्ने हो भने नेपालको शैक्षिक क्षेत्र सरकारले सञ्चालन गर्न नसकेर निजी क्षेत्रलाई हस्तान्तरण गरेको अवस्था छ । निजी क्षेत्रले यसलाई आफ्नो अनुकूल हुनेगरी सञ्चालन गर्दै आएको छ । रोजगारमूलक शिक्षाले नेपालमा प्राथमिकता पाउन सकेको छैन । सैद्धान्तिक शिक्षामात्र पढाइँदै आएको छ । यस्ता अनेकौं कारण छन् जसले नेपालको शिक्षाको स्तर उकास्न सकिरहेको छैन । परीक्षणमूलक शिक्षा प्रणालीले निरन्तरता पाइरहेको छ । यसले गर्दा जुन–जुन पक्षबाट जे जस्ता कमीकमजोरी भइरहेका छन् ती क्षेत्रबाट यस्ता कमीकमजोरीलाई सुधार्ने ढंगले काम गर्ने हो भने हाम्रो शिक्षा प्रणालीमा सुधार गर्न सकिन्छ तर यसका लागि सबै तल्लीनतापूर्वक लाग्नु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच