काठमाडौं । नेपालको राजनीतिमा पछिल्ला केही वर्षयता लोकप्रियतावाद हावी हुँदै गएको छ । राजनीतिमा व्यवहारिक र सैद्धान्तिकभन्दा पनि सस्तो लोकप्रियताले ठाउँ पाउँदै आएको छ । विशेष गरी २०७९ साल वैशाखमा भएको स्थानीय तह निर्वाचनपछि लोकप्रियता र स्टण्टबाज नागरिकबाट अनुमोदन हुँदै गएको छ ।
स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साह, धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित हर्क साङपाङ राई र धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित गोपाल हमाल यसका उदाहरण हुन् । स्वतन्त्र उम्मेदवारी दिएका यी तीनै जनाले कांग्रेस र एमाले जस्ता पुराना र स्थापित राजनीतिक दलका उम्मेद्वारलाई विस्थापित गरिदिएका थिए ।
लोकप्रियतावाद त्यत्तिमा रोकिन्न । सोही वर्ष मंसिरमा भएको निर्वाचनमा लोकप्रियतावाद र स्टण्टबाजी प्रतिनिधिसभा र प्रदेश सभामा पनि उत्तिकै देखियो । निर्वाचन हुनुभन्दा ६ महिनाअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित नतिजा ल्यायो । चुनावपछि बनेका हरेक सरकारका मन्त्रीहरू कामभन्दा बढी स्टण्टबाजमा रमाउने प्रवृत्ति देखिँदै आएको छ ।
मुलुकको राजनीतिमा सस्तो लोकप्रियता र स्टण्टबाजी हावी हुँदै गइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने कांग्रेस–एमालेको समीकरणले स्टण्टबाजीका रूपमा कुनै काम नगर्ने घोषणा गर्नुभएको छ । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेको समीकरणले कुनै भुलभुलैयामा, पपुलिष्ट हुने वा स्टण्टबाजीका रूपमा कुनै काम नगर्ने स्पष्ट पार्दै भन्नुभयो, ‘नेपाली कांगेस र नेकपा एमालेको यो समीकरणले संविधान संशोधनजस्तो कुरा गर्दा यो लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो संविधान संशोधन । त्यसकारण लोकतन्त्रका लागि यो कुनै भुलभुलैया वा कुनै अफवाहको भरमा वा कुनै अन्योलग्रस्त भएर अथवा पपुलिष्ट हुनका लागि अथवा कुनै स्टण्टबाजीको रूपमा यसले कुनै पनि काम गर्दैन, कुनै विचार पनि प्रस्तुत गर्दैन । कुनै अन्योल र भ्रम पनि चाल्दैन । स्टण्टबाजी पनि गर्दैन, कसैलाई झुक्याउने खेल पनि खेल्दैन ।’
लोकतन्त्रलाई सुदृढ र व्यावहारिक बनाउन संविधान संशोधन:ओली
प्रधानमन्त्री ओलीले संविधान संशोधनका विरुद्धमा भ्रम फैल्याउनेहरू मुलुकमा क्रियाशील रहेको आरोप लगाउनुभएको छ । कतिपयले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रूपमा प्रस्तुत गर्न खोजिएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कतिपयले अहिले पनि हाम्रोविरुद्ध भ्रम फिँजाउने कोसिस गरिरहेका छन् । हामीले संविधान संशोधन गर्नुपर्छ भन्यौँ । यो धार्मिक ग्रन्थ जस्तो वेद हो कि, बाइबल हो कि, कुरान हो कि ? जस्तो असंशोधनीय विश्वास मात्रै गर्नुपर्ने, फेर्न नपाइने ग्रन्थजस्तो गरेर व्याख्या गर्न खोज्ने ? संविधान एउटा देशको अग्रगतिका लागि, जनताको भलाइका लागि, सुशासन र विकासका लागि, सामाजिक उन्नति, प्रगतिका लागि, आफ्नो संस्कृति समयानुकूल विकासका लागि समयमा परिष्कृत हुँदै जाने र परिमार्जन हुने जाने दस्तावेज हो ।’
एमालेमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी
नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले पार्टीमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । आइतबार पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गलत विचार वा अभ्यासले पार्टीहरू सकिने बताउनुभयो । लामो समयदेखि भएको गुटबन्दी रोक्न नसक्दा एमाले विभाजन भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन् । पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीका कारण हो । हाम्रो पार्टीमा पनि लामोसमय गुटबन्दी थियो । त्यही कारण विभाजन पनि भयो । अब हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य हुन्न । आफूले पनि गुटबन्दी नगर्ने र गुटबन्दी गर्नेलाई छेउ पर्न पनि निदिने । डेमोक्रेसीका नाममा जब गुटबन्दी हुन्छ, पार्टी सकिन्छ ।’
०८४ को निर्वाचनमा कुनै दलको वैशाखी लिएर पार्टी सहभागी हुन नहुने स्पष्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली कांग्रेस र एमालेको सरकारलाई टिकाएर कसरी अघि लग्ने, मजबुत कसरी बनाउने ? राजनीतिक स्थायित्व भएन भनेर हामीले यो बनाएको हो । यसले अप्ठेरा परिस्थिति सिर्जना गर्छ । सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि दिन नसक्ने लगायतका कारणले हामीले कांग्रेस र एमालेको सरकार बनाऔँ भनेर सोचेका हौँ ।’
समावेशी चरित्रलाई बाधा नपर्ने गरी संविधान संशोधन गर्नुपर्छ : डा. शेखर
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई परिवर्तन नगरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । सानेपास्थित पार्टी कार्यालयमा पार्टीनिकट प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा कोइरालाले राजनीतिक स्थायित्वको लागि नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सरकार बनेकाले यसलाई मजबुत बनाउनुपर्ने समेत बताउनुभयो ।
मिश्रित निर्वाचन प्रणालीबाट कुनै पनि राजनीतिक दलको बहुमत नआउने उल्लेख गर्दै डा.कोइरालाले भन्नुभयो, राजनीतिक स्थायित्व भएन भनेर हामीले यो सरकार बनाएको हो । ६/६ महिनामा सरकार परिवर्तन हुने । अरू देशमा सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुँदैन । हामीकहाँ नीति पनि परिवर्तन हुन्छ । यो कुराहरूले गर्दा हामीले सोच्यौँ कांग्रेस र एमाले सम्मिलित सरकार बनाऔँ । र, निश्चित कुराहरूमा जाऔँ । राजनीतिक स्थायित्व दिनलाई संविधान संशोधन गर्ने हो कि भन्ने कुराहरू आयो ।’
एमालेका मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
नेकपा एमालेका मनोनीत पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आइतबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराउनुभएको हो । एमाले सचिवालयको साउन १७ को बैठकले गुरु बराललाई उपाध्यक्ष, लिलानाथ श्रेष्ठ र मुकुन्द न्यौपानेलाई स्याथी कमिटी सदस्य मनोनीत गरेको थियो ।
त्यस्तै, १७ नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । केन्द्रीय सदस्यमा मनोनीत हुने नेताहरूमा सुवास कर्माचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमल तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबेगु हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच