पहिले दैवी प्रकोप भनिने प्राकृतिक प्रकोपहरू हालका दिनहरूमा पनि थपिँदै गइरहेकै छन् । यस्ता प्रकोपहरू एकाएक हुने भएका कारण यिनको पूर्वस्वरूप सामान्यतया हुँदैनभन्दा फरक नपर्ला । तर, सबै खालका प्रकोपहरू एउटै प्रकृतिमा नहुने भएकाले कुनै दुर्घटनाको रूपमा एकाएक हुन पुग्ने खालका हुन्छन् भने कुनै व्यापक बनेर फैलिने खालको स्वरूपमा देखा पर्छन् । हालका दिनमा हैजाको प्रकोप विस्तार भइरहेको छ भनिएको छ । हैजा पानीजन्य वा खानाजन्य महामारी हो र यो सरुवा रोग पनि हो । एक व्यक्तिमा हैजाका लक्षणहरू देखापरेपछि उसको संसर्गमा रहने अरू मानिसमा सर्नसक्ने भएकाले यसबाट जोगिन सावधानी अपनाउनुको अर्को विकल्प रहँदैन ।
एक प्रकारको प्रकृति वा ऋतुजन्य खालका हुने गर्छन् । हिउँदको सुख्खा याममा हुने प्रकोपहरूमा आगलागी, डडेलो, हावाहुरीहरू हुन् जसले मानवीय तथा अन्य भौतिक क्षति गराउने गर्छ । हिउँदमा आगालागीमा परेर र हावाहुरीबाट केही मानिसहरूको मृत्यु हुन्छ तथा केही घाइते हुने गर्छन् । यसैगरी बर्खामा बाढी तथा पहिरोमा परेर र खोलामा बगेर पनि वर्षेनी धेरैको मृत्यु हुने गरेको पाइन्छ । भौतिक सम्पत्तिको हानी–नोक्सानी हुनाले धेरै मानिस घरबारविहीन बन्नजाने गर्छन् । साथै केही प्रकोपहरू रोग तथा महामारी बनेर देखा पर्छन् । इतिहासको कुनै काल खण्डमा देखापरेको प्लेग तथा बिफरहरू यस्तै भयानक स्वरूपमा प्रकट भएका थिए ।
प्लेग र बिफरबाट संसारमा ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको थियो । यस्ता महामारीबाट युरोपेली राष्ट्रहरूमा सबैभन्दा ठूलो मानवीय क्षति भएको थियो । त्यसबेला करिब दुईतिहाइ मानिसहरू मरेर एक तिहाइमात्र बाँकी रहेका थिए भनिन्छ र हालको जनसंख्या तिनकै सन्तानहरू हुन् भनिन्छ । अठारौं र उन्नाइसौं शताब्दीमा भएको यस्तो मानवीय क्षति बिसौं शताब्दीमा कम भएको भए तापनि बीसौं शताब्दीमा पनि हुँदै नभएका भने होइनन् । समय जति अगाडि बढिरहेको छ त्यही अनुसार विज्ञानले पनि अनेकौं नवीनतम् उन्नति र आविष्कारहरू गर्दै आएको छ । प्रकोपबाट बच्ने औषधि उपचार र रोकथामका उपाय अपनाइँदै आएका छन् ।
तर, जति नयाँ आविष्कारहरू भइरहेका छन् त्यसैगरी नयाँ–नयाँ रोग देखापरिरहेका छन् । पछिल्लो चरणको सबैभन्दा ठूलो महामारी कोरोनाका नाममा संसारव्यापी भएको थियो । यसले संसारभरिका लाखौं मानिसको ज्यान लिएको थियो । यो साम्य भएको केही वर्ष वितिसकेको छ तर अझै फाट्टफुट्ट रूपमा बाँकी नै रहेको छ भनेर चिकित्सकहरूले बताइरहेका छन् । औलो कालाजार, हैजाहरू नयाँ महामारी होइनन्, यी पुराना नै हुन् तर पहिले यी महामारीहरू पहिले ठूला महामारी मानिन्थे भने हालका दिनहरूमा यिनलाई सामान्य मानिँदै आएको छ । हैजा खाना वा पानीबाट फैलिने महामारी हो । गर्मी महिनामा यसले व्यापकता लिन्छ । हाल काठमाडौं उपत्यकामा हैजाका जीवाणुहरू भेटिएका छन् ।
हालसम्म २५ जना मानिस हैजाबाट प्रभावित बनिसकेका छन् । हैजा लाग्दा तारन्तार पातलो दिसा लागिरहने, बान्ता हुने, रिँगटा लाग्ने, वाकवाक लाग्ने, हात गोडाका मांसपेशीहरू बाउँडिने, छाला चाउरी पर्ने लगायत विभिन्न लक्षण देखा पर्छन् । चार–पाँच दशक पहिले गाउँघरमा हैजाको महामारी व्यापक रूपमा फैलिएर सिंगो गाउँहरू नै प्रभावित हुने गरेको पाइन्थ्यो । केही घरपरिवारहरू त सबै सखाप भएर अन्तिम संस्कारका कार्यमा सरिक हुने मानिसहरू समेत नपाइने गरेको थियो । सरकारको पहुँच गाउँगाउँसम्म पुग्ने गरेको थिएन । औषधोपचार र खाद्यान्नलगायत राहतसमेत प्रभावितसम्म पुग्न सक्दैनथ्यो तर हालको समय भने निकै फड्को मारेर अगाडि बढिसकेको छ । सरकारको पहुँच विस्तार भइसकेको छ ।
हालका दिनहरूमा त गाउँगाउँसम्म सिंहदरबार पु¥याइएको भन्ने गरिएको छ । यस अर्थमा गाउँ टोलसम्मका सानासाना सन्दर्भबाट समेत पालिका वा स्थानीय सरकार जानकार बन्ने गरेका छन् । यस्तो अवस्थामा कोही मानिस पनि अकाल मर्नुपर्दैन भन्ने आशा गर्न सकिन्छ । बर्खाको समयमा हैजाका जीवाणुहरू विगत वर्षहरूमा पनि देखिने गरेका थिए तर हैजाबाट कसैले मृत्यु वरण गर्नुपरेको छैन । यसलाई समयले गरेको उन्नतिका रूपमा हेर्नुपर्ने हुन्छ । यस वर्ष हैजा प्रभावितहरूको संख्या हेर्दा चाहिँ अलिक बढी प्रभाव देखिएको भन्न सकिन्छ तर प्रकोपको पहिचान सहज रूपमा हुने र उपचारको पहुँचबाट पहिले जसरी यसलाई भयानक मान्न छाडिएको भए तापनि यसबाट बच्न सतर्क हुनैपर्छ ।
रोगीहरूको संसर्गबाट टाढा रहने, सेवामा संलग्न हुनुपर्नेहरूले बढी सावधानी अपनाउने, पानी उमालेर पिउने, बासी खानेकुरा नखाने, बाहिरफेरो सावधानीपूर्वक मात्र हिँड्डुल गर्ने, सरसफाइमा ध्यान दिने, खाना खाने बेलामा साबुन पानीले हात धुने, दिसा गरिसकेपछि मिचीमिची हात धुनेलगायत सावधानी अपनाउनुपर्ने हुन्छ । सरकारले बर्खाको समयमा बर्खाजन्य रोग वा महामारीलाई ध्यान दिई यस्ता महामारीका लागि आवश्यक पर्ने औषधि तथा अन्य व्यवस्था गर्नु आवश्यक छ । यसतर्फ सरकार तथा सर्वसामान्यलगायत सबैको ध्यान पुग्नु जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच