पत्रकार चेतन पन्तको निधन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । पत्रकार चेतन पन्तको निधन भएको छ । विगत २ वर्षदेखि अबुर्द रोगबाट पीडित पन्तको आइतबार राति भैरहवास्थित आफ्नै निवासमा निधन भएको हो ।

भैरहवाको दुर्गा कोलनीमा परिवारसहित बस्दै आएका ६६ वर्षीय पन्त उपचार गराएर घरमै स्वास्थ्यलाभ गरिरहेका थिए ।

३६ वर्ष पत्रकारिता क्षेत्रमा बिताएका पन्तले पत्रकारिताको माध्यमबाट विश्वभर लुम्बिनी र बौद्ध क्षेत्रहरु चिनाउन सन् २०१० मा बुद्धिस्ट साइट्स डटकम नामक वेबसाइट र चेतन पन्त नामक युट्युव च्यानलबाट आफ्नै लगानीमा वृत्तचित्र निर्माण गरी प्रसारण गर्दै आएका थिए । २०४५ सालदेखि पत्रकारितामा आबद्ध उनले नेपाल टेलिभिजन, इमेज टेलिभिजन, स्पेसटाइम नेटवर्क लगायतका सञ्चारमाध्यममा काम गरेका थिए ।

पछिल्लो एक दशकयता पन्त लुम्बिनीको प्रचार अभियान्ताका रुपमा सक्रिय थिए । पन्तले सञ्चालन गरेको वेबसाइटमा लुम्बिनी, कपिलवस्तु, रामग्रामलगायत भारतकासमेत बुद्ध र बुद्धको जीवनीसँग सम्बन्धित क्षेत्रहरुका वृत्तचित्रहरु नेपाली र अंग्रेजी भाषामा राखिएका छन् ।

पन्तले अमेरिकाकै सानफ्रान्सिको शहरको बे खाडी क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई लुम्बिनीका बारेमा प्रशिक्षण दिँदै आएका थिए । ‘जहाँ गए पनि, जहाँ बसे पनि लुम्बिनी र नेपाल चिनाउने मेरो एउटै उद्देश्य भन्ने नारा चलाएर पन्तले लुम्बिनी प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष आयोजना गर्दा अमेरिकामा त्यसको प्रचार प्रसारमा सक्रिय थिए । पिता नगेन्द्र प्रसाद पन्त र आमा इन्द्रकुमारी पन्तका ५ भाई छोरा र २ छोरीमध्ये उनी जेठा हुन् ।

पन्तका एक श्रीमती गंगा पन्त र दुई छोराहरु उमंग र उत्सव पन्त छन् । स्वर्गीय पन्तको भैरहवास्थित स्वर्गद्वारी घाटमा आजै अन्तेष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?