काठमाडौं । मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते भएको सम्झौताले राजनीतिक समीकरण फेरियो । उक्त समझदारीले एमाले र माओवादी बीचको सत्ता समीकरण मात्र टुटेन माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षको भूमिकामा धकेलिए ।
सात बुँदे सहमतिको जगमा कांग्रेस र एमाले मिलेर केन्द्रदेखि प्रदेशसम्म सरकार बनाएका छन् । केन्द्रमा नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको छ भने प्रदेशमा भागबण्डाको आधारमा दुई दलले प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् । दुई दलबीचको सहमतिको बुँदामध्ये संविधान संशोधनको विषयले मुलुकको राजनीतिमा बहस जारी छ ।
सत्तापक्ष राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्ने जिकिर गर्दै आएको छ भने नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलहरू दुई ठूला दल मिलेर संविधानले गरेको समावेशी र समानुपातिक व्यवस्था उल्ट्याउन लागेको आशंका गरिरहेका छन् । संविधान संशोधनको एजेण्डा सदनदेखि सडकसम्म निरन्तर बहसको विषय बनेको छ । संविधान संशोधनको सहमति सार्वजनिक भएपछि सत्ता र विपक्षी दलका नेताहरू आरोप–प्रत्यारोप सम्मको बिन्दुमा पुगेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि संविधान संशोधनको मुद्दाले प्राथमिकता पाएको छ । विपक्षी दल माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सुशासन र विकासमा देखिएको अक्षमताको भारी संविधानलाई नबोकाउन दुई ठूला दललाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता बस्नेतले कांग्रेस र एमालेले स्थिरता र विकासका नाममा मुलुकलाई अस्थिरतातिर धकेल्न खोजेको आरोपसमेत लगाउनुभयो ।
दुई दलले निर्वाचन प्रणालीमा संशोधन गरेर दुई दलीय प्रणाली तथा संघीयतामा संशोधन गरेर स्थानीय तह घटाउने, प्रदेशलाई कमजोर बनाउने र केन्द्रको अधिकार बढाउन खोजेको दाबी गर्दै उपमहासचिव बस्नेतले भन्नुभयो, ‘अहिले संविधान संशोधनका नाममा फेरि सहभागितामूलक लोकतन्त्रबाट फर्काएर फेरि अल्पमत र बहुमतको राज गर्न खोज्नुभएको छ, यसमा आपत्ति छ । यसलाई अग्रगमन भन्न सकिँदैन । तपाईंहरू संविधान संशोधनको एजेण्डामा जनअनुमोदित हुनुभएको हो ? सुशासन र विकासमा देखिएको अक्षमताको भारी संविधानलाई बोकाउन पाइँदैन । तपाईंहरूलाई संशोधन चाहिएको भए ०८४ को चुनावमा संविधान संशोधनको एजेण्डा लिएर जानुस्, जनअनुमोदित भएर आउनुस् । संविधान संशोधन प्रस्ताव अगाडि बढाउनुस् ।’
संविधान संशोधन मान्य नहुने रास्वपाको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आफू अनूकल संविधान संशोधन गर्ने सत्तारूढ गठबन्धनको सहमति मान्य नहुने चेतावनी दिनुभएको छ । संविधानको मूलभूत आशय समावेशितालाई अहिले राजनीतिक पार्टीहरूले नै लत्याइरहेका आरोप लगाउँदै प्रमुख सचेतक परियारले भन्नुभयो, ‘संविधान आफैँले काम गर्ने होइन । संविधान एउटा सामाजिक करार हो । त्योअनुसार राजनीतिक पार्टी र व्यवस्था चल्नुपर्छ । तर, राजनीतिक पार्टीहरू आज त्यो सामाजिक करारलाई मानिरहेका छैनन् । संविधानअनुसार काम नगर्ने, आफूअनुकूल संविधान संशोधन गर्न खोज्ने कदाचित मान्य हुने छैन ।’
माओवादीले माग्यो सार्वजनिक लेखा समितिको नेतृत्व
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको नेतृत्व माग गरेको छ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि प्रश्न उठाउँदै माओवादीका सांसद माधव सापकोटाले भन्नुभयो, ‘सार्वजनिक लेखा समितिका सभापतिले उपसमितिले दिएको स्पष्ट निर्णय कार्यान्वयन गराउनुपर्ने हो, तर सबै निर्णयहरूलाई लत्याएर अनावश्यक रूपमा निर्णय उल्ट्याउने उद्देश्यका साथ अनैतिक छलफल गरिराख्नु भएको छ । बक्यौता तिर्न बाँकी उद्योगीसँग उहाँले रहस्यमय भेट गर्नुभयो । भिभान्त होटेल कुनै सरकारी कार्यालय हो ? उहाँले होटेललाई कहिलेदेखि कार्यालय बनाउनुभयो ? संसदीय लेखा समिति विपक्षी दलको हुन्छ, यसले पारदर्शी काम गर्छ भने सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षलाई दिइयोस् ।’
सबै उपभोक्ताले विद्युत् महसुल तिर्न छोडौँ : चौधरी
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले बक्यौता नतिरी जोडिएको उद्योगहरूले तीन महिनाभित्र महसुल नबुझाएमा निर्देशन दिनेहरूको सम्पत्ति बेचेर उठाउनुपर्ने तर्क गर्नुभएको छ ।
प्रधानमन्त्रीको अवैधानिक ठाडो आदेशमा बक्यौता नतिर्ने उद्योगहरूमा विद्युत् जोडिएको प्रति असन्तुष्टि जनाउँदै प्रमुख सचेतक चौधरीले उद्योगबाट तीन महिनाभित्र बक्यौता महसुल नउठे आदेश दिने प्रधानमन्त्री, आदेश पालना गरेर सिफारिश गर्ने मन्त्री र कार्यान्वयन गर्ने समितिले जिम्मा लिनुपर्ने बताउनुभयो ।
उहाँले उद्योगको बक्यौता सरकारले नउठाए आजैदेखि सबै उपभोक्ताहरूलाई बक्यौता नर्तिन आग्रहसमेत गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले विद्युत्को बक्यौता उठाउन सरकारसँग माग गर्दै बक्यौता असुल नगरे मौन नबस्ने चेतावनी दिएको छ ।
निर्वाचन क्षेत्रमा ममाथि दुव्र्यवहार भयो : गौतम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुव्र्यवहार भएको दाबी गर्नुभएको छ । आइतबार निर्वाचन क्षेत्रमा वर्षाका कारण भएको क्षतिको अवलोकन गर्न जाँदा साँझपख केही युवाले बाटो छेकेर दुव्र्यवहार गरेको उहाँको जिकिर छ ।
साँझपख कागेश्वरी मनोहरा नगरपालिका–६ मनकामना टोलमा पुगेर फर्किँदा १५/२० जना युवाले आफूलाई घेरेर चर्को स्वरमा कराएको र फोहोर शब्दहरू बोलेको दाबी गर्नुभएकी सांसद गौतमले यसले आफूलाई सुरक्षा चुनौती भएको तर्क गर्दै भन्नुभयो, ‘तपाईंहरू बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने ? भनेर एकाएक घेरेर प्रश्न गर्न थाल्नुभयो । चक्रब्युह जस्तो रचियो, उहाँहरूले चर्को, चर्को स्वरमा तथानाम मुख छाडेर फोहोरी शब्दहरू प्रयोग गरेर मलाई घेर्नेक्रम सुरु भयो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच