काठमाडौं । कोटा प्रणालीविरुद्ध विश्वविद्यालयका विद्यार्थीहरूले गरेको आन्दोलन सरकारविरुद्ध सोझिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाड्नुभएको छ । कर्फ्युका बीच सोमबार लाखौँको संख्यामा रहेका आन्दोलनकारीले ढाकामा लङमार्च गरेका थिए । उनीहरू आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाड्नुभएको हो । बंगलादेशको राजधानी ढाकाको स्थानीय समयअनुसार दिउँसो करिब साढे २ बजे उहाँ आफ्नी बहिनीसँगै सैनिक हेलिकप्टरमा भारततर्फ प्रस्थान गर्नुभएको हो । बिबिसी बंगला र ढाका ट्रिब्युनले स्रोतलाई हवाला दिँदै हसिना भारत छिरेको पुष्टि गरेका छन् ।
हसिनाले राजीनामा दिएलगत्तै बंगलादेशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताउनुभएको छ । प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै ‘समाधान’ हासिल हुने पनि बताउनुभयो । तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट भएको छैन । ‘हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ । हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौँ । हामीलाई विश्वास गर्नुहोस्,’ उहाँले भन्नुभयो ।
हसिनाले देश छाडेपछि उहाँले सेनालाई विश्वास गर्न देशवासीलाई आग्रह गर्नुभयो । ठूलो जनधनको क्षति भएको भन्दै उहाँले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको भन्दै आजसम्म एउटा ‘समाधान निस्किने’ अपेक्षा गरेको बताउनुभयो । यद्यपि, कसले अन्तरिम सरकारको नेतृत्व गर्छ ? भन्ने स्पष्ट हुन बाँकी छ ।
तर, बंगलादेशका सेना प्रमुखले विगत केही सातामा सयौँ जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले गरिरहेको ‘न्यायको माग’ सम्बोधन गरिने बताउनुभयो । उहाँले शान्ति सुव्यवस्था कायम सघाउन आग्रह गर्नुभएको छ । उहाँले द्वन्द्वबाट कसैलाई फाइदा नहुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । नयाँ सरकार गठनका लागि सेना प्रमुखले राजनीतिक दल र नागरिक समाजका अभियानकर्ताहरूसँग छलफल गरिरहेका छन् । सोमबार बिहानैदेखि ढाका विश्वविद्यालय, बंगलादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको थियो ।
अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा
सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए । टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्थ्यो । केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ । केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको देखिन्छ । प्रदर्शन गर्न सडकमा पुगेका मानिसहरूले हसिना सत्ताबाट बाहिरिएपछि हर्षोल्लास गरेका छन् । सोमबार प्रदर्शनकारीले गरेको ‘लङ मार्च’का क्रममा प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगा हानिएको थियो । आफू सुरक्षित नहुने देखेर उहाँले देश छाडेको आँकलन भइरहेको छ ।
कसरी चर्कियो आन्दोलन ?
बंगलादेशमा विद्यार्थीहरू सरकारी जागिरमा आरक्षणको विरोध गर्दै आन्दोलनमा उत्रिएका हुन् । पछिल्लोपटक उनीहरूको ‘एकसूत्रीय’ माग नै सरकारको राजीनामा रहेको बंगलादेशी सञ्चार माध्यमहरूले जनाएका छन् । आन्दोलनका क्रममा मृत्यु भएका दुई सयभन्दा बढी सहपाठीको न्यायका लागि भन्दै विद्यार्थीहरू पुनः सडकमा उत्रिएका थिए । आरक्षण र कोटा प्रणाली अदालतको आदेशले खारेज गरेपछि आन्दोलन केही समय मत्थर बनेको थियो ।
बंगलादेशको अदालतले ९३ प्रतिशत सरकारी जागिर खुला प्रतिस्पर्धाबाटै हुने आदेश दिएपछि आन्दोलन केही मत्थर बने पनि आइतबारदेखि पुनः प्रदर्शन चर्किएको हो । विद्यार्थीहरूले आइतबारदेखि देशभर ‘अवज्ञा आन्दोलन’ को घोषणा गरेका थिए । उनीहरूले सबै कलकारखाना र सार्वजनिक यातायातका साधन बन्द गर्न आग्रह गरेका थिए । प्रदर्शनमा २०० भन्दा बढी घाइते भएका छन् । प्रदर्शन चर्किएपछि ढाकामा इन्टरनेट सेवा बन्द गरिएको छ ।
आइतबार सिराजगञ्जस्थित एउटा प्रहरी चौकीमा आक्रमण हुँदा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको बंगलादेशको प्रहरी मुख्यालयले जनाएको छ ।
बंगलादेशमा जुलाईमा भएको हिंसात्मक प्रदर्शनमा दुई सयभन्दा बढीको मृत्यु भएको थियो । अधिकांश सुरक्षाकर्मीको गोलीबाट मारिएको पनि विद्यार्थी समूहको भनाइ छ । शेख हसिना सरकारले यसबीचमा १० हजारभन्दा बढीलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा विपक्षी दल बिएनपी समर्थक र आन्दोलनकारी विद्यार्थी रहेका छन् ।
‘मुक्ति बाहिनी’ को स्वतन्त्रता संग्रामपछि बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएको थियो । उक्त आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीले विभिन्न स्थानमा ¥याली गर्दै आएका थिए । जसअनुसार सरकारी जागिरमा ३० प्रतिशत आरक्षण र कोटा प्रणाली स्वतन्त्र संग्राममा लडेका शहीदहरूको परिवारले पाउँदै आएका थिए । जसलाई सन् २०१८ मा हसिना सरकारले खारेज गरेको थियो । तर, गत जुन महिनामा तल्लो अदालतले सरकारको उक्त निर्णय उल्टाएपछि विरोध प्रदर्शन सुरु भएको थियो । शनिबार प्रदर्शनकारीहरूले बंगलादेशको राजधानी ढाकाका मुख्य सडकहरू घेराबन्दी गरेका थिए ।
हालसम्म तीन सय जनाभन्दा बढीको मृत्यु
बंगलादेशमा हिंसा सुरु भएपछि हालसम्म कम्तीमा तीन सय जनाको मृत्यु भएको तथ्यांक समाचार संस्था एएफ्पीले सार्वजनिक गरेको छ । उक्त संख्या प्रहरी, सरकारी अधिकारी र अस्पतालमा कार्यरत चिकित्सकहरूबाट संकलित विवरणमा आधारित छ । एएफ्एपीका अनुसार आइतबार एकैदिन ९४ जनाको ज्यान गएको थियो ।
नेपाल फर्किन चाहनेलाई दूतावाससँग समन्वय गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भएपछि मात्रै यात्रा गर्नसमेत दूतावासले अनुरोध गरेको छ । नेपालीहरूसँग राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ ।
प्रहरी र सरकारविरोधी दशौँ हजार प्रदर्शनकारीबीच झडप हुँदा उक्त क्षति भएको थियो । आइतबार सिराजगञ्जस्थित एउटा प्रहरी चौकीमा आक्रमण हुँदा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको बंगलादेशको प्रहरी मुख्यालयले जनाएको छ । आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन । स्थिति नियन्त्रणमा लिन सरकारले आइतबार साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन कर्फ्यु घोषणा गरेको थियो ।
नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह
बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । बंगलादेशमा कोटाविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन अनुरोध गरेको हो । दूतावासका अनुसार त्यहाँ करिब ४०० नेपाली छन् । त्यहाँ अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किइसकेका छन् । बाँकी रहेकाहरूसँग दूतावासले निरन्तर सम्पर्क गरिरहेको जनाएको छ ।
नेपाल फर्किन चाहनेलाई दूतावाससँग समन्वय गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भएपछि मात्रै यात्रा गर्नसमेत दूतावासले अनुरोध गरेको छ । नेपालीहरूसँग राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ । आवश्यक समन्वयका लागि राजदूतावासका द्वितीय सचिव योजना बम्जनलाई ८८०१८८०६९१०१३ र रिया क्षेत्रीलाई ८८०१७४५४०७९५८ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच