युवाशक्ति कुनै पनि राष्ट्रको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । युवाजनशक्तिको संख्यात्मक र गुणात्मक विकासबाट मात्रै कुनै पनि राष्ट्रको विकास र समृद्धि सम्भव छ । हरेक राष्ट्रको प्रगतिमा युवाको योगदान नै प्रमुख रहेको हुन्छ । श्रमशील, नैतिकवान, सहनशील, क्षमतावान, दक्ष, शिक्षित, स्वस्थ तथा अनुभवी युवाजनशक्तिको अभावमा राष्ट्रको प्रगति सम्भव हुँदैन । त्यसैले युवाशक्तिलाई मानवीय पूँजीनिर्माणको अग्रस्थानमा राख्नुपर्दछ । सबल मानवीय पुँजी राष्ट्रिय पुँजी निर्माणको मेरुदण्ड हो ।
युवा अवस्थालाई विभिन्न मुलुकले फरक फरक तरिकाले परिभाषित गरेको पाइन्छ । युवाअवस्थालाई परिभाषित गर्ने विषयमा एक रूपता देखिँदैन । अधिकांश देशमा युवाको उमेर १५ देखि ३५ वर्षका बीचमा कायम गरिएको पाइन्छ । संयुक्त राष्ट्रसंघ र विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ उमेर समूहलाई युवा मानेको पाइन्छ । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवानीति, २०७२ ले १६ देखि ४० उमेर समूहलाई युवा मानेको पाइन्छ । ‘युथभिजन, २०२५’ ले १६ देखि २४ वर्ष र २५ देखि ४० वर्ष गरी दुई उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरेको छ ।
शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहलाई जनाउँदछ । यो जनसंख्याको सार्वधिक सक्रिय, ऊर्जावान र गतिशील समूह हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूलजनसंख्याको ४२ दशमलव ५६ प्रतिशत युवाजनशक्ति रहेको छ । नेपालमा क्रियाशील श्रमशक्तिसँग सम्बन्धित उमेर समूहको जनसंख्या उल्लेख्य हुनु राष्ट्रको विकास र समृद्धिका लागि राम्रो सूचक हो । तर, नेपालमा ठूलो जनसंख्या युवाको हुँदा पनि राज्यले जनसांख्यिक लाभ लिन सकिरहेको छैन । नेपालमा कृषि श्रमशक्तिको अभाव छ तर नेपाली युवाजनशक्ति खाडीमा आफ्नो श्रम बेच्न बाध्य छन् । कृषिप्रधान देश नेपालको परिचय अहिले युवा बेच्ने देशमा फेरिएको छ ।
युवाविकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको हो । राष्ट्रिय युवानीति तर्जुमा गरी युवाविकास र परिचालनका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । मन्त्रालय मातहत रहने गरी राष्ट्रिय युवा परिषद्को गठन गरिएको छ । युवाकार्यक्रम संयोजन गर्न÷गराउन राष्ट्रिय युवा परिषद ऐन, २०७२ जारी गरिएको छ । परिषद्लाई जिल्ला स्तरसम्म विस्तार गरिएको छ । ‘युथभिजन २०२५’ सहितको १० वर्षे रणनीतिक योजना निर्माण गरिएको छ ।
१५औं योजनाको आधारपत्रमा ‘युवाको जाँगर समृद्धिको आधार’ भन्ने मूल नाराका साथ युवालाई मुलुकको समृद्धिसँग जोडिएको छ । नेपालको संविधानमा राज्यको निर्देशक सिद्धान्तअन्तर्गत राष्ट्रिय विकासमा युवा अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने उल्लेख छ । युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार सचिवालय गठन गरिएको छ । सरकारको बजेट तथा कार्यक्रममा युवाका विषय समेटिने गरिएको छ । युवाका क्षेत्रमा नीतिगत काम धेरै भएका छन् । सरसर्ती हेर्दा हामीमाझ युवानीति, योजना र कार्यक्रम सबै छ तर कार्यान्वयन पक्ष एकदमै कमजोर रहेको छ । जसले गर्दा युवाको मुद्दा सम्बोधन हुन सकेको छैन ।
युवा नेतृत्व विकास र बेरोजगारी समस्या हल गर्न ल्याएका नीतिगत र संरचनागत संस्थाले नतिजामुखी परिणाम दिन सकेको छैन । विभिन्न तथ्यांक अनुसार वर्षेनी पाँच लाख युवा नेपालको श्रम बजारमा थपिन्छन् । तीमध्येका पाँच प्रतिशतले मात्रै रोजगारी पाउँछन् । बेरोजगारी, गुणस्तरीय र सीपयुक्त शिक्षाको अभाव, अदक्षता तथा अर्धदक्षता जस्ता समस्या अहिले पनि नेपाली युवाका समस्या रहेका छन् । राज्यले युवालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सकिरहेको छैन । अवसरको खोजीमा लाखौं नेपाली युवा भौंतारिरहेका छन् ।
विभिन्न तथ्यांक अनुसार वर्षेनी पाँच लाख युवा नेपालको श्रम बजारमा थपिन्छन् । तीमध्येका पाँच प्रतिशतले मात्रै रोजगारी पाउँछन् । बेरोजगारी, गुणस्तरीय र सीपयुक्त शिक्षाको अभाव, अदक्षता तथा अर्धदक्षता जस्ता समस्या अहिले पनि नेपाली युवाका समस्या रहेका छन् ।
नेपाल विश्व युवाविकास सूचकांकमा निकै पछाडि छ । दक्षिण एसियाका मुलुकहरूसँग तुलना गर्दा युवा विकास सूचकांकमा नेपाल दक्षिण एसियामा नै कमजोर छ । उल्लेख्य संख्यामा युवाहरू क्षेत्रीय, जातीय विभेद र बहिष्करणमा समेत परेका छन् । नेपाली युवाका साझा सवाल गुणस्तरीय, समयसापेक्ष र रोजगारमूलक शिक्षाको अभाव, स्वरोजगार बन्न व्यवसायी ऋणको कठिनाइ, सीप र प्रविधिको पहुँचबाट टाढा हुनु हो । जसले बेरोजगारी, अर्धबेरोजगारी र अति गरिबी निम्त्याएको छ । नेपालको सबै युवाजनशक्ति अहिले पनि आर्थिक उत्पादनसँग जोडिन सकेका छैनन् । अधिकांश युवाश्रमशक्ति अझै गुजारामुखी कृषिमा आश्रित छन् । सीमान्तकृत, अल्पसंख्यक, आदिवासी, अपांगता भएका युवामा बेरोजगारी दर झन् उच्च रहेको छ ।
बेरोजगारी नेपालको ठूलो समस्या हो । यसले बढाएको युवापलायन डरलाग्दो छ । नेपालमा रोजगारीको क्षेत्र विकास हुन सकिरहेको छैन । हाम्रा विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन् । शिक्षामा आमूल परिवर्तनको खाँचो छ तर यसले आकार ग्रहण गर्न सकिरहेको छैन । पढेलेखेकाले खेतीकिसानीलाई सानो काम मान्ने गरेका छन् । यस्ता कामलाई हेय दृष्टिले हेर्ने क्रम बढेको छ । नेपालको युवाजनशक्ति या त अरब देशमा रगत र पसिना बेच्न बाध्य छ या अमेरिका युरोपमा स्थायी बसोबास अनुमतिको खोजीमा कागजपत्र मिलाउन ब्यस्त छ ।
उल्लेख्य संख्यामा नेपाली युवाहरू अहिले अध्ययनका लागि पनि विदेश जान थालेका छन् तर अध्ययनपश्चात स्वदेश फर्किने क्रम घट्दै गएको छ । न्यूनपारिश्रमिक, श्रमको सम्मान गर्ने संस्कृतिको अभाव र युवामा राष्ट्रप्रतिको सकारात्मक सोचको क्षयीकरण जस्ता कारणले युवाजनशक्ति पलायन हुने क्रम झन् बढ्दै गएको छ । युवाजनशक्ति पलायनलाई रोक्न सक्नु नेपालका लागि ठूलो चुनौती हुन पुगेको छ । युवा पलायनले विप्रेषणको आकार बढाएको छ तर निकै सानो अंशमात्र उत्पादनको क्षेत्रमा प्रवाह भएको छ । विप्रेषणले नेपाली युवाको अवस्थामा सुधार गर्न सकिरहेको छैन ।
कृषि, पर्यटन र जलस्रोत नेपालको दीर्घकालीन विकासका आधारशिला हुन् । रोजगारीका लागि यी क्षेत्रहरू निकै सम्भावना भएका क्षेत्र हुन् । अनन्त कालसम्म अस्तित्वमा रहिरहने क्षेत्र पनि हुन् तर यी तीन क्षेत्रलाई राज्यले प्राथमिकीकरण र युवाहरूकै रोजाइमा पर्न सकेका छैनन् ।
नेपालमा अहिलेसम्म भएका सबै राजनीतिक परिवर्तनको अग्रमोर्चामा युवाहरू रहँदै आएका छन् तर परिवर्तनपछि युवाहरूले कहिल्यै भूमिका पाएनन् । राजनीतिक दलभित्र युवाको उपस्थिति तल्लो तहमा उत्साहजनक रहेको देखिन्छ । तर, नेतृत्व र नीतिनिर्माण तहमा युवाको उपस्थिति सन्तोषजनक देखिँदैन । एकाध युवाको प्रतिनिधित्व भए पनि त्यसमा सन्तुष्ट हुनसक्ने अवस्था छैन । युवाहरूको क्षमताप्रति राजनीतिक दलहरूले विश्वास गर्न सकेको अवस्था छैन । युवा भविष्यका कर्णधार हुन् भने वर्तमानका साझेदार पनि हुन् तर, नेपाली युवाहरूलाई भविष्यको नेतृत्वकर्ता भन्दै सधैं मूलधारबाट वञ्चित गराउँदै आएको छ । वर्तमानमा युवाको अस्तित्व स्वीकार्न सकिरहेको अवस्था छैन ।
देशलाई विकास र समृद्धितर्फ उन्मुख गर्ने काममा युवाको महत्वपूर्ण भूमिका रहन्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाली युवाको जनसांख्यिक तथ्यांक विकासका लागि वरदान सावित हुन सक्छ तर राज्यले युवाजनशक्तिलाई गुणात्मक रूपमा प्रयोग गर्न सकिरहेको छैन । कृषि, पर्यटन र जलस्रोत नेपालको दीर्घकालीन विकासका आधारशिला हुन् । रोजगारीका लागि यी क्षेत्रहरू निकै सम्भावना भएका क्षेत्र हुन् । अनन्त कालसम्म अस्तित्वमा रहिरहने क्षेत्र पनि हुन् तर यी तीन क्षेत्रलाई राज्यले प्राथमिकीकरण गर्न सकेको देखिँदैन न त युवाहरूकै रोजाइमा पर्न सकेको देखिन्छ ।
युवाजनशक्तिले राजनीतिक स्थिरता र दीर्घकालीन विकास खोजेका छन् भने राज्यले सक्षम, सबल, स्वावलम्बी, दक्ष, अनुभवी युवाजनशक्ति खोजेको छ तर मुलुकमा राजनीतिक स्थिरता कायम हुने कुनै संकेत देखिँदैन न त नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास युवामै देखिन्छ । यो नेपाल र नेपाली युवाको आजको वास्तविक अवस्था हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच