काठमाडौं । नेपालमा बर्सेनि बाढी पहिरोले सयौँको ज्यान लिने गरेको छ । बाढीले बस्ती डुबान हुनु, सडक अवरुद्ध हुनु र अर्बौंको भौतिक नोक्सानी हुनु पनि नियमितजसो भइसकेको छ । बाढीपहिरो र डुबानबाट तराईदेखि पहाड र हिमाली क्षेत्रसम्म अछुतो रहँदैन । पछिल्लो समय काठमाडौं उपत्यकासमेत स–सानो पानीले जलमग्न हुन थालेको छ । उपत्यकाका बागमती, मनोहरा, धोबीखोला, विष्णुमतीलगायत नदीका तटीय बस्ती बर्सेनि डुबानमा पर्ने गरेका छन् । तटीय क्षेत्रभन्दा अलिपरका सडक तथा घरहरू पनि प्रभावित बन्ने गरेका छन् ।
सोमबार रातिदेखिको वर्षाले मंगलबार पुनः काठमाडौं जलमग्न बन्यो । एक साताकै बीचमा काठमाडौं बाढीले जलमग्न बनेको यो दोेस्रोपटक हो । पछिल्लो एक महिनामा मात्रै काठमाडौं उपत्यका तीनपटक ठूलो बाढीको चपेटामा परेको हो । १६ साउन र २ साउनमा आएको बाढीले पनि काठमाडौं जलमग्न बनेको थियो ।
मंगलबार पुनः मनोहरा र बागमतीमा आएको बाढीले ललितपुरको च्यासल, कुपण्डोल, सानेपा र काठमाडौंको थापाथली, टेकु, बल्खुलगायत क्षेत्रलाई डुबानमा परेका हुन् । बल्खुको तरकारी बजार, खोला किनारमा रहेका मोटरसाइकल ग्यारेज, सानाठूला खाजा पसल, उपभोग्य सामग्रीको गोदाम, नदी किनारमा ललितपुर र काठमाडौं महानगरपालिकाले बनाएका पार्कलगायत संरचना, ललितपुर महानगरको वडा नं १ को कार्यालय र स्वास्थ्य संस्था, नेकपा एमालेको कार्यालय, च्यासल खेलमैदान आदि ठाउँ पनि जलमग्न बने । एक हप्ताअघि (१६ साउन) आएको बाढीले पुर्याएको क्षतिबाट राम्ररी उठ्न नपाउँदै यी क्षेत्रमा अर्को पनि बाढी आउँदा सर्वसाधारण हैरान भएका हुन् ।
रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकाले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउने’ विपद् जोखिम प्राधिकरणले सूचना जारी गर्दै भनेको छ ।
यी क्षेत्र मात्रै होइन लैनचौरस्थित केशरमहल क्षेत्र पनि डुबानमा पर्याे । नारायणहिटीमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, नेपाल पञ्चाङ्ग निर्णायक समितिको कार्यालय, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र नेपाल प्रहरी नारायणहिटी सुरक्षा गुल्म पनि बाढीको चपेटामा परे । काठमाडौंका स्वयम्भू, सानो भर्याङ, ठूलो भर्याङ, लैनचौर, पुतलीसडक, माइतीघर, कोटेश्वरलगायत मुख्य सडक र सहायक सडकहरू डुबानमा परे ।
काठमाडौंका नदीका स्रोत हिमाल होइनन्, वरिपरिका पहाड र यसका जलाधार क्षेत्र हुन् । यी नदीहरूमा ‘आकस्मिक बाढी’ आउन थालेको छ । पछिल्लो दशकयता जल प्रणालीमा गरिएको व्यापक परिवर्तनले बाढीलाई झन् भीषण बन्दै गएको छ । साधारणतया अतिवृष्टिका कारण बाढी आउने गर्छ । तर, काठमाडौंमा मध्यमस्तरका वर्षा हुँदा पनि नदीहरूमा बाढी आउँछ र शहर बजार डुबानमा पर्न थालेको छ । काठमाडौंमा आउने बाढी मानव सिर्जित छन् ।
अव्यवस्थित विकास–निर्माण, अव्यवस्थित शहर विस्तार एवं जल विज्ञानको गम्भीरताप्रति बेवास्ताका कारण काठमाडौं बर्सेनि डुब्दै र उत्रँदै आएको विज्ञहरू बताउँछन् । काठमाडौं वरिपरि पहाडका भिरालो जग्गामा प्लटिङ गरिएका छन् । तटीय क्षेत्र अतिक्रमण गरेर भवन निर्माण गरिनाले पनि नदीको आयतन दिनानुदिन साँघुरिँदै गएको छ ।
बागलुङ, गुल्मी र काभ्रेमा गरी १३ जनाको मृत्यु
पहिरोमा परेर बागलुङ, गुल्मी र काभ्रेमा गरेर १३ जनाको ज्यान गएको छ । सोमबार रातिदेखि परेको वर्षापछि आएको पहिरो र बाढीमा परी तीन जिल्लाका १३ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा बागलुङका आठ, गुल्मीका चारजना र काभ्रेका एकजना रहेका छन् । मंगलबार बिहान खसेको पहिरोमा बागलुङको बडिगाड गाउँपालिका–९ बलघाँसमा १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको मृत्यु भएको हो । घरपछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पहिरोले पुरेको हो ।
त्यस्तै, वडा नं १० को आरुपाटा भन्ने स्थानमा खसेको पहिरोले स्थानीय जोगलाल बुढाको घर र गोठ पुरिँदा सात वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घरमा आएकी छिमेकी सञ्जु विककी ६ वर्षीया छोरीको पनि मृत्यु भएको छ । सोही घटनामा ५९ वर्षीया मैतीदेवी विकको पनि मृत्यु भएको हो । पहिरोमा परेर ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा विक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिंह बुढा गम्भीर घाइते हुनुहुन्छ ।
यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको छ । अविरल वर्षापछि मंगलबार आएको पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मुना विक र विष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् । मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो ।
यस्तै, काभ्रेको धुलिखेल नगरपालिका–५ खड्पु क्षेत्रमा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । बाढी आउँदा ढलको मकलबाट बग्नुभएकी ५० वर्षीया महिला मृत अवस्थामा फेला पर्नुभएको हो । मंगलबार बिहान १०ः४५ बजे धुलिखेल नगरपालिका– ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा रामेछाप खाडादेवी गाउँपालिका–३ घर भई हाल काभ्रे पनौति नगरपालिका–५ नैकिनटार बस्ने भगवती भागदास रहेको काभ्रे प्रहरीका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
२८ जिल्लामा रात्रिकालीन सवारी चलाउन रोक
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार प्रदेशमा रात्रिकालीन बस दुई दिन सञ्चालन नगर्न निर्देशन दिएको छ । प्राधिकरणले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै रात्रिकालीन बस सञ्चालन नगर्न निर्देशन दिएको हो । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । पछिल्ला केही दिन मनसुन फेरि सक्रिय हुन थालेको छ ।
‘रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकाले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउने’ विपद् जोखिम प्राधिकरणले सूचना जारी गर्दै भनेको छ । रात्रिकालीन बस नचलाउने जिल्लामा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम छन् । यस्तै, बागमती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखामा रात्रिकालीन बसन नचलाउन भनिएको छ । गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखामा रात्रिकालीन बस नचलाउन भनिएको हो ।
यसैगरी लुम्बिनीका कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिममा रात्रिकालीन बस नचलाउन भनिएको छ । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा रात्रिकालीन बस नचलाउने प्राधिकरणले निर्देशन दिएको छ । बाढी, पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा रातको समयमा राजमार्गहरू बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जोखिम देखिएका जिल्लाहरूमा रातिको समयमा अत्यावश्यक बाहेकका सार्वजनिक र निजी सवारीसाधन चलाउन निषेध गरिनेछ ।
सिमलताल माथिको पहाडी क्षेत्रमा हालसालै निर्माण भएको (सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ) सडक बनाउँदा भएको कमजोरीको कारण दुईवटा डिलक्स बस त्रिशूलीमा खसेको छानविन निष्कर्ष छ ।
बाढीपहिरो पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने
सरकारले प्राकृतिक विपद्मा घर गुमाएका नागरिकलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएका नागरिकलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
यसअघि भूकम्पबाट घर गुमाएकाहरूलाई मात्र अस्थायी आवासका लागि राहत रकम दिने निर्णय सरकारले गरेको थियो । तर, सोमबार बसेको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीबाट घर गुमाएकाहरूलाई पनि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने कार्यविधि स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।
छानविन समितिको निष्कर्ष– कमजोर सडकका कारण सिमलताल दुर्घटना
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो । सिमलताल माथिको पहाडी क्षेत्रमा हालसालै निर्माण भएको (सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ) सडक बनाउँदा भएको कमजोरीको कारण दुईवटा डिलक्स बस त्रिशूलीमा खसेको छानविन निष्कर्ष छ । कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको र इञ्जिनियरिङ डिजाइन बिनाको सडक बनाउँदा वर्षातमा त्यसको असर देखिएको कार्यदलको प्रतिवेदनमा उल्लेख गरेको छ ।
बगेको डेब्रिज प्रेसर चेक ड्याम र ग्याबिन वालले धान्न नसकेपछि बाढीसँगै आएको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेका दुईवटा बस धकेलेर त्रिशूलीमा खसालेको कार्यदलको निष्कर्ष छ ।
कार्यदलले सडक डिभिजन भरतपुरले डेब्रिज सफा गर्दा माथिल्लो साइडमा थुप्रिएको डेब्रिज बगेर सडकतिरै आउन सक्छ भन्नेमा ध्यान नदिएको उल्लेख गरेको छ ।
मृतक र बेपत्ताका परिवारलाई दुई लाख राहत दिन सिफारिश
सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई दुई लाखको दरले राहत दिन कार्यदलले सिफारिश गरेको छ । रिजाल नेतृत्वको कार्यदलले गृहमन्त्री लेखकलाई प्रतिवेदनमा बेपत्ता भएकाहरूको परिवारलाई पनि मृतकसरह राहत दिन सिफारिश गरिएको हो । विपद्पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड–०७७ असार परिवारको एकजना सदस्यको मृत्यु भएमा दुई लाख र सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा थप एक लाख रुपैयाँका दरले राहत दिने व्यवस्था छ । सनाखत भएका १९ जना र बेपत्ता ४० जना पीडितको घर ठेगानाको जिल्ला प्रशासन कार्यालयबाट राहत दिनुपर्ने कार्यदलले सिफारिश गरेको छ । त्यस्तै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सिफारिश गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच