दार्चुला कारागारमा क्षमता भन्दा बढी कैदी, खानेपानी र शाैचालयको समस्या

हिमालय टाइम्स
Read Time = 4 mins

-गणेश सिंह धामी

दार्चुला । जिल्ला कारागार दार्चुलामा क्षमता भन्दा बढी कैदी हुँदा बस्न तथा शाैचालय र खानेपानीको समस्या उत्पन्न भएको छ । कारागार कार्यालय दार्चुलाका जेलर केशवराज अवस्थीकाअनुसार २५ जना पुरुष र १५ जना महिलाको सिट क्षमता रहेको कारागारमा हाल ७२ जना कैदी तथा थुनुवा रहेका छन् । क्षमता अनुसारको शाैचालय, खानेपानी र बस्ने व्यवस्थापन गरिएकोमा क्षमता भन्दा बढी कैदी र थुनुवा भएपछि समस्या सिर्जना भएको उहाँको भनाई छ ।

सदरमुकाम खलंगामा रहेको कारागार कार्यालय दार्चुलामा २०८१ साउन ५ गतेको तथ्याङ्क अनुसार ५८ जना कैदी र १४ जना थुनुवा गरी ७२ जना कैदी र थुनुवा रहेका छन् । कारागार कार्यालयमा अहिले कर्तव्य ज्यान, अपराधिक उपद्रव र डाँका मुद्दामा २ जना, जबरजस्ती करणीमा १८ जना, ज्यान सम्बन्धि कसुर डाँका चोरी कसुरमा २ जना, ठगी मुद्दामा १ जना, नकवजनी चोरीमा ४ जना, डाँका चोरीमा १ जना, वन्यजन्तु ओसारपसारमा १ जना, सवारी ज्यानमा २ जना, लागुऔषध ओसारपसारमा ४ जना, जबरजस्तीकरणी बाल बिबाहमा १ जना, मानव बेचबिखनमा २ जना कैदी रहेका छन् ।

यस्तै कर्तव्य ज्यान जबरजस्तीकरणी डाँकामा १ जना, कर्तव्य ज्यानका १२ जना, बालबिबाह, करणी र ज्यान सम्बन्धि कसुरमा १ जना, जबरजस्तीकरणी उद्योगमा ४, ज्यान मार्ने उद्योगमा १ जना र अपहरण तथा शरिर बन्धक मुद्दामा १ जना गरी ५८ जना कैदी रहेको जेलर अवस्थीले जानकारी दिनुभयो ।

यसैगरी कारागार कार्यालयमा विभिन्न मुद्दामा १४ जना थुनुवा रहेका छन् । कारागारमा जबरजस्ती करणी मुद्दामा ४ जना, वन्यजन्तु ओसारपसारमा २ जना, सवारी ज्यानमा १ जना, कर्तव्य ज्यानमा ४ जना, शरिर बन्धक जबरजस्ती करणी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमा १ जना, ज्यान मार्ने उद्योगमा १ जना र कर्तव्य ज्यान र हातहतियार तथा खर खजनामा १ गरी १४ जना थुनुवा रहेको तथ्याङ्क छ ।

कारागारमा अहिले महिला कैदी तथा थुनुवा एक जना पनि नरहेको बताइएको छ । सिट क्षमता भन्दा बढी कैदी तथा थुनुवा भएपछि महिला कैदीहरुले बस्ने घरमा पुरुष कैदीहरुलाई राखिएको जेलर अवस्थीले बताउनुभयो ।

‘तत्कालको अवस्थामा जेनतेन समस्या सामाधान गरिएको छ, महिला कैदी आउने वित्तिकै व्यवस्थापनमा फेरी समस्या सिर्जना हुन्छ', उहाँले भन्नुभयो । वि.स.२०२२ सालमा निर्माण गरिएको कारागारको कम्पाउण्ड समेत निकै जिर्ण भइसकेको छ । कार्यालयको समेत समस्या हुदा हाल एउटा सानो कोठाबाट कार्यालय संचालन भइरहेको उहाँले बताउनुभयो । कार्यालय सानो कोठाबाट संचालन गर्दा कार्यसम्पादनमा समेत समस्या हुने गरेको जेलर अवस्थीको भनाईछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?