काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकको पहिलो दिन बुधबार छलफलका लागि ११ वटा एजेण्डा पेस भएका छन् । केन्द्रीय समिति बैठकमा महासमिति बैठकबाट पारित प्रस्तावहरू, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान सम्बन्धमा, अनुशासनको कारबाहीका लागि भएका सिफारिश सम्बन्धमा र पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति सम्बन्धिका एजेण्डाहरू प्रस्तुत भएका छन् । पार्टी प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार बैठकमा पेस भएका एजेण्डामाथि आज (बिहीबार) देखि छलफल सुरु हुनेछ । यसैगरी, भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समितिलगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण प्रक्रिया सम्बन्धमा, जनसम्पर्क समिति सम्बन्धमा, नियमावली संशोधन प्रस्ताव सम्बन्धमा, नेपाली कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका-८१’ सम्बन्धमा, समसामयिक राजनीति र अन्य विविध विषयमा छलफल गर्नेगरी एजेण्डा बनाइएको छ । बुधबारको बैठकले नुवाकोटको सूर्यचौरमा पाँच जनाको मृत्यु हुनेगरी भएको हेलिकप्टर दुर्घटनाका सन्दर्भमा पनि दुःख व्यक्त गरेको छ । मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कांग्रेस बैठकले परिवारमा समवेदना प्रकट गरेको छ । कांग्रेसले दुर्घटनाको यथार्थ छानविन गर्न पनि माग गरेको छ ।
१०० दिने सांगठनिक अभियान चलाउने प्रस्ताव
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले १०० दिने सांगठनिक अभियान चलाउने प्रस्ताव गर्नुभएको छ । बुधबार सुरु भएको बैठकमा महामन्त्री थापाले भदौ १५ देखि मंसिर २५ सम्म सांगठनिक अभियान चलाउने प्रस्ताव दर्ता गराउनुभएको हो । त्यसका साथै महामन्त्री थापाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि भएको सहमतिमा पनि छलफल गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । अनुशासनको कारबाहीका लागि भएका सिफारिश, पार्टीका विभिन्न तहमा रिक्त स्थानमा पदपूर्ति, जनसम्पर्क समिति लगायतमा पनि छलफल गर्नुपर्ने उहाँको प्रस्ताव छ । भ्रातृ संघ, शुभेच्छुक संस्था, निर्देशन समितिलगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण, नवीकरण प्रक्रिया सम्बन्धमा पनि थापाले प्रस्ताव गर्नुभएको छ ।
महासमितिबाट पारित प्रतिवेदन अनुमोदन गर्दै
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकबाट पारित विभिन्न प्रतिवेदन अनुमोदन गर्दै छ । महासमितिबाट ६ महिनाअघि पारित नीति प्रतिवेदन, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन अनुमोदन गर्ने केन्द्रीय समिति बैठकको मुख्य एजेण्डा हो । २०८० फागुन ७ देखि १० सम्म ललितपुरको गोदावरीमा सम्पन्न महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव र अर्का महामन्त्री गगन थापाले सांगठानिक प्रस्ताव पेस गर्नुभएको थियो । ती प्रस्तावहरू त्यसबेला सँगै सत्ता सहकार्यमा रहेको माओवादी केन्द्रविरुद्ध प्रहार हुने किसिमका थिए । उपसभापति खड्काको नीति प्रस्तावमा जनयुद्धलाई अनाहकको हिंसाको संज्ञा दिइएको थियो । उहाँले जनयुद्धलाई अनाहकको हिंसा, विकासको बाधक, युवा पलायनको कारक र लोकतन्त्रको हरणका रूपमा अथ्र्याउनुभएको थियो । सत्ता सहकार्यमा रहेकै दलले जनयुद्धलाई अपमान गरेको भन्दै त्यसबेला माओवादी केन्द्र आक्रोशित भएको थियो । महामन्त्री थापाको प्रस्तावले त झन् राजनीति नै तरंगित बनाएको थियो । कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने महामन्त्रीको प्रस्तावले पार्टीभित्र र बाहिर तरंग ल्याएको थियो । माओवादीसँगको सहकार्यमा कुनै ब्रेक नलागोस् भन्ने चाहेको सभापति शेरबहादुर देउवा पक्षले महामन्त्री थापाको उक्त प्रस्तावलाई संशोधन गर्ने हदैसम्मको प्रयास गरेको थियो ।
तर, उक्त प्रस्ताव महासमितिमा पेस मात्रै भएन, जस्ताको त्यस्तै पारित नै भयो । महासमितिमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलनसमेत भएको थियो । ती परिदृश्यपछि बिच्किएको माओवादीले अन्ततः२१ फागुन २०८० मा कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग हात मिलायो । पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन परिवर्तन गर्नुको कारण त्यसैलाई देखाउनुभएको थियो । तर, अहिले कांग्रेस एमालेसँग सत्तामा छ । हालसँगै सत्तामा रहेका कांग्रेस-एमाले एक-अर्काका मुख्य प्रतिस्पर्धीसमेत हुन् । यी दुई दलबीच आगामी चुनाव एक्लाएक्लै लड्ने सहमति नै भइसकेको छ । कांग्रेस र एमालेलाई पालैपालो सत्ताका लागि प्रयोग गरेको माओवादी भने अहिले प्रतिपक्षीमा छ । यसरी आफू अनुकूलको परिस्थिति बनेपछि महासमितिबाट पारित ती प्रस्ताव तथा प्रतिवेदनहरूलाई अनुमोदन गर्न कांग्रेस जुटेको बताइएको छ । अरू नै विभिन्न कारणले महासमितिबाट पारित प्रतिवेदन अनुमोदनमा ढिलाइ भएको जिकिर गर्दै पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भन्नुभयो, ‘त्यो गहिराइमा गएर त्यो दृष्टिकोणबाट बैठक लम्ब्याइएको वा ढिलाइ गरिएको चाहिँ होइन । त्यसरी अर्थ लाउन मिल्छ, तर आशय त्यो होइन । विभिन्न परिस्थितिहरू विकसित हुँदै गए । सत्तामा भित्रिने/बाहरिने क्रम चल्यो । योसँगै केही कामहरू बाँकी थिए । जस्तो नीति प्रस्तावलाई अन्तिम रूप दिन, परिमार्जन गर्न बाँकी थियो । विभाग, समितिहरू बनाउन बाँकी थियो । भ्रातृ संस्थाका केही कामहरू पनि बाँकी थिए । त्यसो हुँदा बैठक बस्नेभन्दा भन्दै ढिला भएको हो ।’
उपसभापति धनराज गुरुङले राजनीतिक परिस्थिति बदलिएको र ढिलागरी प्रतिवेदनहरू अनुमोदन गर्न लागिएको भए पनि महासमितिको म्याण्डेट नै मुख्य भएको जिकिर गर्दै भन्नुभयो, ‘महासमितिले दिएको म्याण्डेटभित्र रहेर हामीले केन्द्रीय समितिमा थप गहन छलफल गर्छौं । त्यसकारण समय र परिस्थितिले के भन्छभन्दा पनि महासमिति के भन्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ । उसले जे भनेको छ त्योभन्दा बाहिर गएर निर्णय हुँदैन ।’ महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटक मात्र हुन पाउने उल्ल्ेख छ । यसैगरी, प्रदेशको हकमा पनि मुख्यमन्त्री बढीमा दुईपटक, मन्त्री तीनपटक र प्रदेश सांसद चारपटक हुन पाउने व्यवस्था गर्नुपर्ने महामन्त्री शर्माको प्रस्ताव छ । तर, कतिपय नेताहरू अझै पनि उक्त प्रस्तावको विपक्षमा देखिँदै आएका छन् ।
बंगलादेश घटनाबारे चाँडै दृष्टिकोण सार्वजनिक गर्ने
बंगलादेशमा भएको पछिल्लो राजनीतिक घटनाबारे नेपाली कांग्रेस चाँडै दृष्टिकोण सार्वजनिक गर्ने भएको छ । केन्द्रीय समितिको बैठकमा त्यसबारे चाँडै दृष्टिकोण सार्वजनिक गर्ने जानकारी दिँदै प्रवक्ता डा.प्रकाशशरण महतले भन्नुभयो, ‘बंगलादेशमा भएको राजनीतिक घटनाक्रम छ, त्यस विषयमा पनि छलफल भएको छ । त्यसबारे हाम्रो दृष्टिकोण चाँडै आउँछ ।’
राष्ट्रिय सहमतिको सरकार गठनको निर्णय अनुमोदन
नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय अनुमोदन गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले यसअघि केन्द्रीय कार्यसम्पादन समितिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि गरेको निर्णय अनुमोदन गरेको हो । बुधबारको बैठकपछि प्रवक्ता डा.महतले भन्नुभयो, ‘राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा कार्यसम्पादन समितिले गरेको निर्णय केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । महासमिति बैठकले गरेका प्रस्ताव परिमार्जनसहित केन्द्रीय समितिले अनुमोदन गर्ने निर्णय गरेको थियो । पदाधिकारीहरूले तयार गरेको परिमार्जन प्रस्ताव उपर बिहीबारदेखि छलफल हुन्छ ।’ कांग्रेसले नेकपा एमालेसँग गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा सात बुँदे सहमति गरेको थियो । उक्त सहमतिलाई कांग्रेसको केन्द्रीय सम्पादन समितिले पारित गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच