काठमाडौं । नेपाली आकाशमा फेरि अर्को हवाई दुर्घटना भएको छ । १५ दिनको अन्तरालमा बुधबार एयर डाइनेस्टीको (९-एन-एजेडी) हेलिकप्टर दुर्घटनामा परेको हो । यसअघि साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । जसमा १८ जनाले ज्यान गुमाएका थिए । यो दुर्घटनासँगै नेपाली आकाशको सुरक्षालाई लिएर फेरि बहस सुरु भएको छ । जसमा एयरलाइन्स कम्पनी, चालक वा प्राविधिक गडबडीका कुरा रहेका छन् । नेपालमा हवाई सेवाको इतिहास हेर्न हो भने ७० वर्ष पुरानो रहेको छ । तर, यसको विकास र विश्वासले खासै फड्को मार्न सकेको देखिँदैन । हवाई यातायात भरपर्दाे र सुरक्षित मानिए पनि नेपाली आकाशमा पछिल्लो समयमा हवाई यात्रा असुरक्षित बन्दै गएको छ । पहाडी धरातलको उडान, मौसमी परिवर्तन, पर्याप्त सूचनाको लागि विमानस्थलमा आधुनिक उपकरणको अभाव र पुराना मोडेलका हवाई जहाजको कारणले पनि हवाई दुर्घटनाको घटनाहरू बढ्दै गएको जानकारहरू बताउँछन् । नेपाली आकाश असुरक्षित भएको भन्दै युरोपियन युनियनले २०१३ देखि नेपाल वायुसेना कम्पनीमाथि प्रतिबन्ध लगाउँदै आएको छ ।
उडेको तीन मिनेटमै दुर्घटना
बुधबार एयर डाइनेस्टीको (९-एन-एजेडी) हेलिकप्टर उडेको तीन मिनेटमै दुर्घटनामा परेको थियो । त्रिभुवन विमानस्थलबाट चार चिनियाँ यात्रु लिएर रसुवाको स्याफ्रुबेंसीका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको हो । दुर्घटनामा सवार पाँचै जनाको निधन भएको छ । उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको हेलिकप्टर शिवपुरी गाउँपालिका–७ सूर्यचौर डाँडा र गुर्जेभञ्ज्याङबीच (गुरुङगाउँको शिरान) मा दुर्घटना भएको थियो । मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल, चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहनुभएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला हुनुहुन्छ ।
उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाउनुभएको थियो भने चार चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो । एयर डाइनेस्टीको चार चिनियाँ पर्यटक छाडेर फेरि विदेशी नागरिक ल्याउने तालिका बनाएको थियो । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रूखमा ठोक्किएर आगो लाग्दै झरेको थियो । दुर्घटनामा परेको हेलिकप्टरका पाइलट मल्लको लाइसेन्स आधा जलेको अवस्थामा भेटिएको थियो । दुर्घटनापछि जलेको हेलिकप्टरमा सवार पाँच जनाको निधन भए पनि केही कागजपत्र भने सुरक्षित भेटिएका छन् । २०२३ साल असार १८ गते जन्मनुभएका पाइलट मल्ल ललितपुर महानगरपालिका-३ पुलचोक बस्दै आउनुभएको थियो ।
उक्त उडान हुँदा भिजिविलिटी पाँच किलोमिटर तथा सामान्य रहेको थियो । घटनाको खबर आउनेबित्तिकै खोजीमा अर्को हेलिकोप्टर पठाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रभु एयरको हेलिकोप्टर परिचालन गरिएको थियो ।
प्रारम्भिक आशंका खराब मौसम
खराब मौसमका कारण बुधवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको आशंका गरिएको छ । दुर्घटनास्थलको भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको जस्तो देखिएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले बताउनुभयो । उहाँका अनुसार दुर्घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । हेलिकप्टर कुनै पहाडमा ठोक्किएको नदेखिएको भन्दै उहाँले दुर्घटनास्थल बरु खोँचजस्तो ठाउँ रहेको बताउनुभयो । ‘कतिपयले जहाज पहाडमा ठोक्किएको भनेका छन् । तर, भौगोलिक अवस्था हेर्दा त्यस्तो होइन । कुहिरोका कारण जहाज तलबाट आएर दुर्घटना भएकोजस्तो हुनसक्छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार जहाज गुर्जे भञ्ज्याङबाट सूर्यचौर नपुग्दैको जंगलमा दुर्घटनाग्रस्त भएको छ ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा
नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएकाहरूको शव काठमाडौं ल्याइएको छ । ती शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । पोष्टमार्टमपछि शव परिवारजनको जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा हेलिकप्टरमा पूर्णतया जलेको अवस्थामा थियो भने यात्रुका सामानहरू संकलन गरिएको छ ।
यसअघि पनि दुर्घटनामा परेका थिए क्याप्टेन र हेलिकप्टर
बुधबार नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन अरुण मल्ल यसअघि पनि दुर्घटनामा परेको खुलेको छ । सो दुर्घटनामा भने उहाँ सामान्य घाइते मात्र हुनुभएको थियो । सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा २०७० साल असोज १० गते भएको दुर्घटनामा मल्लसहित यात्रु दावाग्याल्जेन शेर्पा घाइते हुनुभएको थियो । एयर डाइनेस्टीकै (९ एन-एइएक्स) कल साइन भएको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको थियो । बुधबार दुर्घटना भएको (एन-एजेडी हेलिकप्टर पनि यसअघि दुर्घटनामा परिसकेको हेलिकप्टर हो । २०७९ साल चैत २५ गते हृयाम्स अस्पतालमा अवतरणका क्रममा यो हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनाको क्रममा हेलिकप्टरको पुच्छरको भाग ठोक्किएको थियो । घटनामा कोही पनि घाइते नभए पनि हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियो ।
अन्नपूर्ण एयरको हेलिकप्टर आकस्मिक अवतरण
यता, काठमाडौंबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको नाइन एन-एनयु हेलिकप्टर बाँकेको राप्तीसोनारी गाउँपालिका-१ भम्कामा बुधबार आकस्मिक अवतरण गरिएको छ । नेपालगञ्जमा तेल भरेर बैतडी जान काठमाडौंबाट उडेको सो हेलिकप्टर नेपालगञ्ज नपुग्दै मौसम खराब भएको कारण अपराहृन ४ बजेर ४० मिनेटमा राप्ती सोनारी भम्कामा खेतमा आकस्मिक अवतरण गरेको सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गण हेडक्वार्टरका एसपी विमल डाँगीले जानकारी दिनुभयो । उहाँले हेलिकप्टरमा सवार भारतीय नागरिक र पाइलटसहित हेलिकप्टर पनि सुरक्षित रहेको जनाउँदै त्यहाँबाट हेलिकप्टरलाई राप्तीसोनारीकै कुसुमस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिएको बताउनुभयो ।
३९ हेलिकप्टर दुर्घटना, ९७ जनाको मृत्यु
नेपालमा ४२ वर्षको अवधिमा ३९ वटा हेलिकप्टर दुर्घटना भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यी दुर्घटनामा ९७ जनाले ज्यान गुमाएका छन् । नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ डिसेम्बर २७ मा भएको थियो । लाङटाङमा भएको नेपाली सेनाको भिभिआइपी हेलिकप्टर दुर्घटनामा ६ जनाको निधन भएको थियो । त्यसयता हेलिकप्टर दुर्घटना निरन्तर बढ्दै गएका छन् । सबैभन्दा धेरै मानवीय क्षति भने सन् २००६ मा ताप्लेजुङको घुन्सामा भएको श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा भएको थियो । २४ जनाको ज्यान जानेगरी भएको उक्त दुर्घटनामा तत्कालीन मन्त्री गोपाल राईसहित उच्च सरकारी अधिकारीहरूको निधन भएको थियो । गत वर्ष दुई वटा हेलिकप्टर दुर्घटना भएका थिए । २०८० वैशाख २१ गते संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने असार २६ गते मनाङ एयरको नाइन एन-एएमभी हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । सन् २००१ देखि २०२४ सम्मको अवधिमा मात्रै ३० वटा हेलिकप्टर दुर्घटना भएका छन् । २००० अघिका दुर्घटनामा १० जनाको मृत्यु भएकोमा त्यसयता ८७ जनाले ज्यान गुमाइसकेका छन् । सन् २००६ मा सबैभन्दा बढी पाँचवटा हेलिकप्टर दुर्घटना भएको तथ्यांक छ । नेपालमा भएकामध्ये १८ वटा दुर्घटनामा भने मानवीय क्षति भएको छैन ।
तीन सदस्यीय छानविन समिति गठन
बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानविन गर्न तीन सदस्यीय समिति गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानविन समिति गठन गर्ने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिनुभयो । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा छानविन समिति गठन गरिएको हो । समितिलाई प्रतिवेदन तयार गर्न तीस दिनको कार्यादेश दिइएको छ । दुर्घटना छानविन समितिको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच