छ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

प्रतिकात्मक तस्वीर

काठमाडौं । प्रहरीले छ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सुटकेसभित्र लुकाई-छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बुधबार पक्राउ परेका निजमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

गोङ्गबुँ र नरेफाँटबाट लागुऔषधसहित चार पक्राउ

यसैबीच, प्रहरीले काठमाडौंको गोङ्गबुँस्थित नयाँ बसपार्कबाट अवैध लागुऔषध खैरो हेरोइन १५ ग्राम पाँच सय मिलिग्राम, नगद रु ४० हजार र तीन थान मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ । सप्तरी राजविराज नगरपालिका-९ घर भएका २४ वर्षीय पवनकुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका-७ घर भएका २७ वर्षीय अनिल परियार पक्राउ परेका प्रहरीले जनाएको छ ।

काठमाडाैंको नरेफाँटबाट अवैध लागुऔषध खैरो हेरोइन छ सय ४० मिलिग्राम र मोबाइल दुई थानसहित दुईजना पक्राउ परेका छन् । सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका-६ घर भएका ३३ वर्षीय धर्मेन्द्र सिंह र सिराहा मिर्चैया नगरपालिका-५ घर भएका ३३ वर्षीय अनिल साहलाई निजहरुको डेराबाट लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?