म्याग्दी । वर्षौदेखि बाँझो रहेको नौ रोपनी बारीमा प्राङ्गारिक मल हाली हाते ट्याक्टरले जोतेर खन्न सजिो बताएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दिच्यामका मनबहादुर बूढाले चार दिन लगाएर बारीमा कोदो रोप्नुभयो ।
यस्तै मंगला गाउँपालिका ५ की विमला रोकाले विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गर्नुहुन्थयो । तर,यस वर्ष रु चार हजार खर्च गरेर खनजोत गरेपछि पाँच रोपनी बारीमा खेताला लगाएर कोदो रोपेको बताउनुभयो ।
पछिल्लो समय कोदोको माग ग्रामीण तथा सहरी क्षेत्रमा बढ्दै जान थालेपछि पश्चिम म्याग्दीका किसान कोदो खेतीप्रति आकर्षित भएका छन् । गाउँमा आयातित मदिरा भन्दा कोदोको मदिरा बढि रुचाइन थालेपछि उत्पादिन कोदो रु दुई सय ५० प्रतिपाथी गाउँमा नै खोसाखोस हुन थालेको छ । त्यसैगरी सहरमा कोदोको परिकारप्रति आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढ्न थालेपछि यहाँका किसान किसान कोदो खेतीमा आकर्षित भएका मालिका गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।
पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाका साथै उत्तरी म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा यस वर्ष कोदो खेती विस्तार गरिएको सम्वन्धित गाउपालिकाका जनप्रतिनिधिहरुले बताएका छन् ।
“मकै र गहुँको भन्दा कोदोको खोजी बढी हुन थालेको छ” मालिका गाउँपालिका वडा नं ६ का वडासदस्य समेत रहनुभएकी छरदेवी घर्तीले भन्नुभयो “अरु अन्न विक्री गर्न कठिन हुन्छ तर कोदो खोज्न ग्राहाकहरु घरघरमा नै आइपुग्छन् ।”
केही वर्षअघिसम्म घर अगाडीको भिरालो बारीमा वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका निस्कोट, रुम, देविस्थान, ओखरबोट,डाँडागाउँलगायतका धेरै गाउँमा गत वर्षदेखि कोदोखेती विस्तार गरिएको छ । पश्चिम म्याग्दीका बासिन्दाले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् ।
पछिल्लो समय गाउँबाट सहर गएका मानिसहरु समेत वर्खामा गाउँ फर्केर आफ्नो बारीमा कोदो रोप्ने गरेका स्थानीयले बताएका छन् । “सहरमा कोदोको माग उच्च छ,गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यस वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला (कृषि मजदुर) खोजी चारदिन लगाइ कोदो रोपेँ” मंगला गाउँपालिका २ का याममती रोकाले बताउनुभयो ।
पछिल्लो समय गाउँ घरमा पनि जाडोको समयमा कोदोको ढिंडो र रोटी खाने बानीको विकास हुँदै गएको स्थानीयले बताएका छन् ।
“बजारबाट ल्याएका चाउचाउ,विस्कुट,चिउरा,भुजा,नमकिन लगाएतका वस्तुहरुलाई खाजाको रुपमा प्रयोग गर्ने क्रम घट्दै गएको छ,गाउँलेहरुले पाएसम्म गाउँकै उत्पादनलाई खाजा र खानको रुपमा प्रयोग गर्न थालेका छन् र सवैको रोजाइमा कोदो पर्दैगएको छ” दरबाङको के.वि एकेडेमीका शिक्षक मीन सुनारले बताउनुभयो । उहाँका अनुसार उत्पादित कोदो बिक्री गर्नुका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खाने गरिन्छ ।
कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले सहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन ग्रामीण क्षेत्रका वयस्कका लागि दुर्लभ खाद्यवस्तु बन्दै गएको अवस्थामा यहाँका बासिन्दाले यसको व्यावसायिक खेती गरेर रैथाने बालीकोसमेत संरक्षणमा लागेको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरले बताउनुभयो ।
उहाँका अनुसार गत वर्ष मालिका गाउँपालिका वडा नं २ रुम गाउँमा मात्रै तीन सय रोपनीभन्दा बढी बारीमा व्यावसायिकरुपमा नै गरिएको कोदो खेती तीनसय मुरी भन्दा बढी कोदो उत्पादन भएको थियाृ । यहाँ उत्पादन भएको कोदोबाट घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गर्न सक्ने हो भने वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने स्थानीय टीका मगरले बताउनुभयो ।
विगतका वर्षमा गाउँघरमा कोदोको उत्पादन कम हुँदै जाँदा सहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्ने चलन भने बढ्दै गएको थियो । कोदोको भनेजति मूल्य पर्न थालेपछि गाउँका किसानहरु कोदो खेतीतर्फ आकर्षित भएका र यस वर्ष गाउँभरी नै कोदो खेतीगरिएको उहाँको भनाइ छ ।
म्याग्दीको सदरमुकाम बेनी, गलेश्वर,दरबाङ,सिंगा तातोपानी,भुरुङ तातोपानी लगाएतका बजार क्षेत्रका होटलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका होटल व्यवसायीहरुले बताएका छन् । त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरबास)मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ ।
एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव वास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइन्छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच