सुर्खेत । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रूख कटानको अनुमति दिएपछि कोहलपुर-सुर्खेत १३२ केभिए प्रसारण लाइन विस्तारको काम तीव्र पारिएको छ । छ हजार रुख काट्न विभागको अनुमति प्राप्त भएपछि आयोजनाको काम रफ्तारमा अघि बढाइएको हो । साउन १६ गते विभागले रूख कटानको अनुमतिको पत्र दिएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । उहाँका अनुसार विद्युत् प्रसारण लाइनअन्तर्गत निकुञ्ज क्षेत्रमा पर्ने छ हजारभन्दा बढी रूख कटानको अनुमति प्राप्त भएपछि कामको प्रक्रिया सुरु भएको छ ।
यसअघि नै राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार आठ सय रूखमा छपान गरिएको थियो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख विद्युत् विस्तार क्षेत्रमा पर्ने भएकाले कटान गर्न लागिएको हो । उहाँले भन्नुभयो, ‘अहिले रूख कटान आदेशको पत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पेश गरिएको छ, अब निकुञ्जले रूख कटानको स्वीकृति दिएपछि मात्र कटान सुरु हुनेछ । यो अनुमतिसँगै विद्युत् विस्तारको काम रफ्तारमा अघि बढ्नेछ ।’
बाँके राष्ट्रिय निकुञ्जमा दुर्ई हजार नौ सय ९१ र बर्दिया राष्ट्रिय निकुञ्जमा तीन हजार तीन सय २० रूख कटानका लागि विभागले अनुमति दिएको हो । २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान आदेश दिएको थियो । सोही आदेशअनुरूप रूखमा छपान गरी कटानको प्रक्रिया अघि बढाइएको छ ।
रूखमा चिनो लगाएको करिब दुर्ई महिनापछि आयोजनाले रूख कटानका लागि स्वीकृति पाएको हो । हाल दुईवटा राष्ट्रिय निकुञ्जमा रूख कटान अनुमतिका लागि फाइल पेश गरिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख चौधरीका अनुसार हालसम्म विद्युत् प्रसारण लाइन विस्तारको ७० प्रतिशत काम सकिएको छ । जसअन्तर्गत १२५ वटा फाउण्डेसन निर्माण गरिएका छन् भने २५ किलोमिटर तार तान्ने काम सकिएको छ ।
त्यस्तै सुर्खेतको सुब्बाकुनामा सब-स्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ तर आयोजनास्थलमा जग्गा विवाद भने कायमै रहेको छ । विद्युत् लाइन विस्तार गर्दा बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा १ गाभर र वडा ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्नेछ ।
तर, उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । त्यहाँका स्थानीयले आयोजनाविरुद्ध उच्च अदालत बाँकेमा मुद्दासमेत दर्ता गरेका छन् । उक्त स्थानमा कुनै पनि काम हुन सकिरहेको छैन ।
प्रदेश सरकारको चासो
१३२ केभिए प्रसारण लाइन विस्तार योजनामा प्रदेश सरकारले चासो व्यक्त गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलले सरकारको नेतृत्व सम्हालेलगत्तै आयोजनाप्रति ध्यान दिन थाल्नुभएको हो । प्रदेश सरकारतर्फबाट मुख्यमन्त्री कँडेलले प्रसारण लाइन विस्तारको काम अघि बढाउन विभिन्न क्षेत्रसँग छलफलसमेत गर्नुभएको थियो । केही दिनअघि मात्र निकुञ्जभित्रको रूख कटान समस्याबारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगानासहितको टोलीसँग मुख्यमन्त्री कँडेलले छलफल गर्नुभएको थियो ।
उहाँले रूख कटान प्रक्रिया सहज बनाइदिन आग्रह गर्नुभएको थियो । विभागका निर्देशक ढुंगानाले छपानका लागि फाइल स्वीकृत गरिसकेको जानकारी दिँदै रूख कटान अनुमतिका लागि तत्कालै सहजीकरण गर्ने प्रतिबद्वता जनाउनुभएको थियो । सोहीअनुसार अब निकुञ्जभित्रको समस्या समाधान भएको छ । अन्य क्षेत्रमा देखिएको विवादबारे छलफल जारी छ । अब बाँकेको गाभरमा रहेको जग्गा विवादलगायतका समस्यामा केन्द्रित भई छिट्टै नै कर्णालीलाई १३२ केभिए प्रसारण लाइनमा जोड्न पहल गरिने मुख्यमन्त्री कँडेल बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच