नमागिएको सल्लाह :
केही महिना अगाडिमात्र भएको चुनावी नाटक मञ्चनमा पार्टीका र प्रोक्सी स्वतन्त्र गरेर एकदर्जन सिटबाहेक सबै सिटमा अवामी लिगका उम्मेदवारलाई विजयी घोषणा गरिएको थियो । प्रचण्ड बहुमत हासिल गरेको भ्रममा रहेकी बंगलादेश अवामी लीगकी नेतृ प्रधानमन्त्री शेख हसीना वाजेदले पदबाट राजीनामा दिएर देश बाहिर पलायन हुनुपर्ने परिस्थितिको कल्पनासम्म गरेकी थिइनन् होला । झन् भारत जस्तो आफ्नो शासनलाई सघाउने राष्ट्रमा समेत शरणार्थी बन्न विवाद भइरहेको विषयले उनलाई विगतको कृत्यप्रति पश्चाताप भइरहेको हुनसक्छ ।
संयुक्त अधिराज्यमा भएका आफ्ना आफन्तका जान पनि बेलायतमा भइरहेको मुस्लिमविरोधी आन्दोलनका कारण उनलाई सहज भइरहेको छैन । संयुक्त राज्य अमेरिकाले समेत उनको भिसा रद्द गरिसकेको छ । आफ्नै देशका जनताको निसानामा परेको नेतालाई शरण दिएर अहिलेको अवस्थामा कुनै पनि देश आफ्नो देशमा समस्या निम्त्याउँन चाहँदैनन् । आश्रम लेडी उपनाम पाएकी हसिना जुलाई १, २०२४ बाट सुरु भएको विद्यार्थी आन्दोलन अगस्त चार आइतबार बिहानसम्म दमन गरेर आफूलाई शक्तिशाली महसुस गरिरहेकी थिइन् । तर, केही घण्टाको अन्तरालमै यत्रो ठूलो विश्वमा बास पाउने समस्या भएको छ । यसरी उनलाई बेहाल बनाउने काम निरस्त्र विद्यार्थीहरूले गरेका छन् ।
बंगलादेशमा चर्केको आन्दोलनको आगो
स्वतन्त्रता सेनानीका सन्तानलाई दिने आरक्षण तीस प्रतिशत र अन्य आरक्षणसमेत जोड्दा खुला प्रतिस्पर्धाबाट जागिर पाउने सिट ४४ प्रतिशतमा सीमित बन्न पुगेको थियो । आन्दोलनको सुरुवात यो आरक्षण घटाउनुपर्छ भन्नेबाट सुरु भएको थियो । यो आरक्षणको प्रतिशत पनि अदालती फैसलाका कारण बढ्ने निर्णय भएको थियो । सरकारसँग आन्दोलनको प्रत्यक्ष संलग्नता पनि थिएन । व्यापक दमन, धरपकड, लगातार परेको पानीले उब्जाएको समस्याका कारण आन्दोलन समाप्तितर्फ उन्मुख भएको अनुमान थियो ।
विश्वका धेरै सञ्चारमाध्यमले आन्दोलन मत्थर भएको भन्ने समाचार सम्प्रेषण गरिरहेका थिए । अगस्त ४ आइतबारका दिन पुनः आन्दोलन चर्कियो । आन्दोलनलाई दमन गरियो भनेर आश्वस्त बनेकी प्रधानमन्त्री हसीनाले त्यस दिन पनि चरम दमनको सहारा लिइन् ।
विश्वका धेरै सञ्चारमाध्यमहरूले आन्दोलन मत्थर भएको भन्ने समाचार सम्प्रेषण गरिरहेका थिए । अगस्त ४ आइतबारका दिन पुनः आन्दोलन चर्कियो । आन्दोलनलाई दमन गरियो भनेर आश्वस्त बनेकी प्रधानमन्त्री हसीनाले त्यस दिन पनि चरम दमनको सहारा लिइन् । त्यस दिन मात्र करीब एक सयजनाको ज्यान गयो । सेनाले यस घटनापछि बैठक बसेर दमन गर्न नसकिने निष्कर्ष निकाल्यो । पूर्वसेनाका कमाण्डरहरूले समेत दमनले समस्याको समाधान नहुने वक्तव्य प्रकाशित गर्न थाले । सेनामा पनि दमन नगर्न दबाब बढ्दै गयो । प्रधानमन्त्री शेख हसिनाका नातेदार सेनापतिले पनि हसीनाको सत्ता जोगाउन सक्ने अवस्था बनेन ।
हसीना अन्तिम समयसम्म बल प्रयोग गरेर सत्ता जोगाउने अडानमा थिइन् । सुरक्षा निकायले परिस्थिति नियन्त्रणबाहिर गएको भन्ने भनाइ पत्याइरहेकी थिइनन् । आइजीपीको प्रशंसा गरेर सेनालाई दबाबमा राख्ने प्रयास पनि असफल बन्यो । सेनाप्रमुखले उनकी बहिनीसँग कुरा गरेर ज्यान सुरक्षित गर्न सल्लाह दिइरहेका थिए । सेनाले हसीना पुत्र सजीव वाजेदसँग कुरा गराएर उनलाई देश छाड्न मनाइएको थियो । सेनाले नै ४५ मिनटको समय दिएर राजीनामा गरेर पलायन हुँन दबाब दिए भन्ने समाचारहरू पनि सार्वजनिक भइरहेका छन् । शेख हसीनाका सबै कृत्यका समर्थक भारतीय सत्ता नजिकका सञ्चारमाध्यमले त बंगलादेशमा सेनाले सफ्ट ‘कू’ गरेको भन्ने समाचारसमेत संप्रेषण गरेका थिए ।
त्यस्तो के भयो जसको कारण पन्ध्र वर्षदेखि जरा गाडेर मजबुत बनेको सत्ताको विशाल वृक्ष गल्र्यामगुर्लुम ढल्यो ? बेगम खालिदा जियाको प्रसंगमा थुतुनो र ...जोगाउँनुपर्छ भन्ने नेपाली उखान सार्थक भएको छ । स्वतन्त्रता सेनानीका सन्तानले आरक्षण नपाए राजाकार (स्वतन्त्रता आन्दोलनमा पाकिस्तानी सेनाको पक्षबाट लड्ने देशद्रोही) ले आरक्षण पाउने हो ? जस्ता अपमानजनक भाषाको प्रयोगले आन्दोलनमा प्रत्यक्ष रूपमा संलग्न नभएकाहरूलाई पनि उत्तेजित बनायो । आन्दोलनरत विद्यार्थीहरूसँग वार्ताको आहृवान गर्नुको साटो पटक-पटक आतंककारी भनेका कारण आन्दोलनमा गाउँगाउँबाट मानिसहरू जम्मा हुन थाले । यही निःशस्त्र समूहले प्रधानमन्त्री निवासतर्फ अगाडि बढेर प्रधानमन्त्री निवास कब्जा गर्यो । सेनाका ट्यांकर विद्यार्थीले कब्जा गरे । केही समय अगाडिसम्म गोली हान्ने सेना भिडको सहयोगी र सहजकर्ता बन्ने परिस्थिति बन्न पुग्दा बंगलादेशको राजनीतिले नाटकीय मोड लिन पुग्यो ।
राजनीतिमा वंशवाद र सुदखोर प्रवृत्ति
बंगलादेशको स्वतन्त्रताका नायक बंग बन्धु शेख मुजिव रहमानका सालिक ढालिए । देशभित्र र बाहिर आन्दोलनकारीहरूद्वारा कार्यालयमा प्रवेश गरेर शेख हसीना र उनका पिता मुजिव रहमानका तस्वीर हटाइए । अपमानपूर्वक च्यातिए, जलाइए । केही समय अगाडिसम्म पूजा गरिने व्यक्तिहरू घृणित वस्तुमा परिणत भए । कसरी यस्तो भयो ? यस प्रश्नतर्फ चर्चा गरौं । शेख हसिनाका पिताले बंगलादेशलाई स्वतन्त्रता दिलाए तर त्यसको सुद खान केही समयपछि संविधान संशोधन गरेर एकदलीय प्रणालीपट्टि देशलाई लान लागेको भनेर आलोचना खेपिरहेका छन् । सेनाले सत्ता कब्जा गर्दा उनको र उनका परिवारका सबैको हत्या गर्यो ।
शेख हसिना र उनकी बहिनी रेहना देशबाहिर रहेका कारण जोगिएका थिए । भारतले शरण दिएर करिब ६ वर्ष भारतमा बसेर अवामी लिग गठन गरी सन् १९८१ मा बंगलादेश छिरेकी हसिनाले अर्की नेतृ बेगम खालिदा जियासँग सहकार्य गरेर भएको जनविद्रोहको कारण हुसैन महम्मद अर्सदको शासनको अन्त्य भएको थियो । सन् १९९६ देखि २००१ सम्म पाँच वर्ष र २००९ देखि निरन्तर १५ वर्ष गरी करिब दुई दशक सर्वोच्च कार्यकारी पद सम्हालेकी हसीनाले आफू र आफ्ना पिताको योगदानले दिलाएको विरासत धान्न सकिनन् । स्वतन्त्रता सेनानी भएको विषय अहंकारमा परिणत भयो । लगानी गरेर सुद खाने सुदखोर प्रवृत्ति उनमा देखियो । अस्पतालमा उपचार गराइरहेका नेहिद इस्लाम लगायतका प्रमुख विद्यार्थी नेतालाई बलजफ्ती अस्पतालबाट निकालेर पठाउने निन्दनीय अमानवीय प्रवृत्तिले हसिना शासनलाई विश्व जनमतको अगाडि घृणायोग्य बनायो ।
आन्दोलनको नेतृत्व गरिरहेका विद्यार्थी नेता इस्लामलाई अपहरणशैलीमा लगेर मरणासन्न हुनेगरी पिटेर पुलमुनि अचेत अवस्थामा फेला परेको घटनाका कारण आन्दोलन भुसको आगो झैँ सल्किरहेको थियो । उनीहरूप्रति सहानुभूति बढिरहेको थियो । राजनीतिक सफलता भनेको धाँधली र दमनबाट प्राप्त प्राविधिक बहुमत होइन । भूमिपुत्रहरूको मन जित्नु र जनभावना बुझ्न सक्नु राजनीतिक सफलता हो भन्ने सन्देश यस घटनाले दिएको छ । अब आवाज नभएकाहरूको आवाज बुझ्न सकिएन भने अकल्पनीय परिणाम आउँन सक्नेतर्फ यो घटनाले सचेत गराएको छ । हसीनाले आफूले प्राप्त गरेको सत्ता कति अन्यापूर्ण थियो भन्ने आत्ममन्थन गरेर फरक मत राख्नेहरूप्रति केही सहिष्णु बन्न सकेको भए उनले आजको दुर्दशा भोग्नुपर्ने अवस्था बन्ने थिएन ।
राजनीति, समाज सुधार र आदर्श हो भन्ने विषय विस्मृतिमा नगएको भए आफ्नो मातृभूमिमा बाँकी जीवन व्यतीत गर्न बेगम हसीनालाई कठिन हुने थिएन । त्यसो त हसिनाको पछिल्लो पन्ध्र वर्षे कार्यकालमा बंगलादेशको आर्थिक विकासले छलाङ मारेको छ । दुई करोडभन्दा बढी मानिस चरम गरिबीबाट मुक्त भएका छन् । गार्मेण्टको निर्यात व्यापारमा राम्रो प्रगति भएको छ । कूल गार्हस्थ उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । भारतसँग सुमधुर सम्बन्ध रहेको छ भने चीनसँग पनि सन्तुलित सम्बन्ध नै रहेको छ । भौतिक संरचनामा उल्लेखनीय प्रगति भएको छ । विश्व आर्थिक मञ्चमा बंगलादेशको हैसियत बढेको छ । आर्थिक रूपमा दक्षिणपूर्वी एशियाको बाघ उपमासमेत पाएको छ तर पनि बेगम हसीनाको बिदाइ बिर्सनलायक बन्न पुग्यो । के अहिलेको आन्दोलन उनीप्रतिको कृतघ्नता हो ?
भारतीय पक्षले बंगलादेशमा भएको हिन्दु अल्पसंख्यकहरूको दमनलाई प्राथमिकताका साथ प्रश्न उठाइरहेको छ । यी दुई देशबीचको सम्बन्ध बिग्रिने र बन्ने कारण पनि यही बन्न सक्दछ । नयाँ बन्ने अन्तरिम सरकारको पहिलो दायित्व मुलुकभित्र शान्ति बहाल गराउनु नै हुनेछ ।
अहिलेको आन्दोलनले स्पष्ट सन्देश दिएको छ- आर्थिक विकासका सूचक राम्रो भएर मात्र हुँदैन, जनताको जीवन यापनमा सहजता थपिनु पर्दछ । मानव भएर मानवीय भावनालाई तिलाञ्जलि दिँदा मानव हिंस्रक पशुतुल्य बन्ने रहेछ भन्ने गतिलो उदाहरण हसीना बनेकी छिन् । कुनै पनि सत्तालाई पतन गराउन ठूलो संगठन र शक्ति आवश्यक पर्दैन । यो सामाजिक सञ्जालको जमाना हो भन्ने सन्देश पनि यस घटनाले दिएको छ । भारतीय सत्ता नजिकका सञ्चारमाध्यमले बंगलादेशमा सत्ता पलटका पाँच किरदार भनेर पाकिस्तान, भारत, अमेरिका र आतंककारी समूहलगायतलाई लक्षित गर्न कोसिस गरे तापनि यो आन्दोलन युवा विद्यार्थीहरूले गरेको मौलिक आन्दोलन थियो । आन्दोलनमा व्यापक दमन भएपछि आन्दोलनप्रति मानवीय सहानुभूति र समर्थन ब्यापक बन्दै जानु आन्दोलनको स्वाभाविक प्रक्रिया नै हो । यद्यपि, धमिलो पानीमा माछा मार्नेहरू थिएनन् भन्ने चाहिँ होइन ।
बंगलादेशका आगामी दिन
निर्वाचित तानाशाह हसीनालाई युवा विद्यार्थीहरूले जीवनको कुर्वानी दिएर सत्ता विमुख बनाएका छन् । सैन्यबलको प्रयोग गरी सत्ताको चास्नीको स्वाद पाएको बंगलादेशको सेनाबाट बंगलादेशमा प्रजातन्त्र र मानवाधिकार जोगाउनु अर्को चुनौतीको काम हो । विद्यार्थीको अल्टिमेटमले संसद् विघटन भएको छ । नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर महम्मद यूनुसले अन्तरिम सरकारको नेतृत्व गर्ने आन्दोलनरत विद्यार्थी नेताको अनुरोधलाई राष्ट्रपति र सेनाका प्रमुखहरूले स्वीकार गरेका छन् । परिस्थिति सुखद् संक्रमणतिर बढेको अनुमान गरिँदैछ । प्रश्न छ- बंगलादेश हसीना कालको भन्दा खराब त बन्ने होइन । हसिनाकालमा अर्थतन्त्र लयमा थियो । भारतसँग सम्बन्ध सुमधुर थियो । अल्पसंख्यक धर्मावलम्बीहरू सुरक्षित थिए । कानुन पालनाको अवस्था राम्रो थियो ।
यस प्रश्नलाई आन्दोलनरत पक्षले गम्भीरतापूर्वक लिन जरुरी छ । मानिसमा आकांक्षा जगाएर आन्दोलित बनाउन जति सजिलो छ । जनताको जीवनस्तरमा सहजता थपिएको महसुस गराउँन त्यत्ति नै कठिन छ । प्रस्तावित अन्तरिम कार्यकारी प्रमुख युनुसलाई उमेर र शरीरले धेरै मिहिनेत गर्न दिँदैन । बुढेसकालको सहारा बनेको युनुसको लौरो दुःखीलाई भरोसा दिन र अन्याय गर्नेलाइ दण्ड दिन प्रयोग भयो भने जनअपेक्षा शान्त बन्न सक्दछ । विद्यार्थी नेताहरूको जोशमा होस् भर्ने दायित्व युनुसमाथि हुनेछ । तरुण विद्यार्थीहरूको जोसमा युनुसको होस्, बंगलादेश नेशनलिष्ट पार्टी लगायतका दलहरूको सहयोग, सेनाको संयमित र समन्वयकारी भूमिकाको सम्मिश्रणले मात्र बंगलादेशको वर्तमान गतिरोधलाई निकास दिन सक्नेछ ।
यो लेखलाई अन्तिम रूप दिँदासम्म बिहीबार बेलुका ८ बजे युनुसको नेतृत्वमा १५ सदस्यीय सल्लाहकार परिषद् गठन गर्ने भनिएको छ । पेरिसमा रहेका युनुस बिहीबार बंगलादेश आएर शपथ लिँदैछन् । उनले सबै पक्षलाई शान्त रहन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो हाम्रो सुन्दर देशमा राम्रा सम्भावनाहरू छन् । हामीले यसको रक्षा गर्नुपर्छ । हाम्रा लागि र हाम्रो नयाँ पिँढीका लागि एक अद्भूत् देश बनाउनुपर्दछ’ । यसो भनेर नयाँ नेता युनुसले उज्यालो भविष्यतर्फ जनतालाई आश्वस्त बनाउन प्रयत्न गरेका छन् तर बाटो त्यति सजिलो भने छैन । आफ्नो परम्परागत मित्रशक्तिको राजनीतिक पतन भएको कारण स्तब्ध बनेको छिमेकी भारतको सहयोग नयाँ बनेको अन्तरिम सरकारका लागि औपचारिकतामा सीमित बन्न सक्दछ ।
भारतीय सञ्चारमाध्यमले आन्दोलनरत पक्ष र सम्भावित अन्तरिम सरकार प्रमुखप्रति व्यक्त भनाइलाई नियाल्दा विषवमनको शृंखला सुरु भइसकेको छ । आफ्नो मुलुकमा अमनचैन कायम राखेर भारतलगायतका छिमेकीलाई सन्तुलनमा राख्दै निर्वाचनको माध्यमबाट सत्ता हस्तान्तरण गर्नु नयाँ सरकारको प्रमुख कार्यभार हुनेछ । भारतीय पक्षले बंगलादेशमा भएको हिन्दू अल्पसंख्यकहरूको दमनलाई प्राथमिकताका साथ प्रश्न उठाइरहेको छ । यी दुई देशबीचको सम्बन्ध बिग्रिने र बन्ने कारण पनि यही बन्न सक्दछ । नयाँ बन्ने अन्तरिम सरकारको पहिलो दायित्व मुलुकभित्र शान्ति बहाल गरेर सबै वर्ग र जातिलाई सुरक्षित महसुस गराउँदै आर्थिक गतिविधिलाई स्वाभाविक प्रक्रियामा चल्ने वातावरण बनाउनु नै हुनेछ ।
बंगलादेशको यो घटना नेपाल जस्तो देशका लागि पाठ सिकाइ हुनुपर्दछ । म्यानमारका शरणार्थी समस्याबाट पाठ सिकेर सीमा क्षेत्रमा कडाइ गर्न जरुरी छ । केही वर्षअगाडि श्रीलंकामा राजापाक्षे परिवारलाई आइपरेको आपत अहिले बंगलादेशको बंगबन्धु शेख मुजिवर रहमानका परिवारमा आइपुगेको छ । यो इन्टरनेट पुस्ता हो । न पत्याउने खोलाले बगाउन बेर लाग्दैन । जरा गाडेको सत्तालाई कायल बनाउने बंगलादेशका युवाको शक्ति अकल्पनीय छ । नेपालका युवाले त पटक-पटक आफ्नो सामथ्र्य देखाइसकेका छन् । अहिले पनि राजनीतिलाई अपराधीकरण र अपराधीलाई राजनीतीकरणमा तल्लिन देखिएका नेपालका मै हुँ भन्ने सबै नेताहरूमा यो घटना पाठ सिकाइ बन्न सकोस् । परिस्थिति खराब भयो भने कुनै पनि आपराधिक पृष्ठभूमिका वादशाहहरूले बचाउन सक्नेछैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच