म्याग्दी । फलफूल र तरकारीजन्य उत्पादनलाई सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानहरु कोल्डस्टोर (शीत भण्डार) निर्माण भएपछि खुसी भएका छन् । म्याग्दीको बेनी नगरपालिका–४,सिंगा राजिकुलोमा तयार भएको कोल्डस्टोर (शीत भण्डार) संचालनमा आएपछि किसानहरुलाई सुविधा भएको हो ।
कोल्डस्टोरमा सुन्तलाको सफल परीक्षणपछि अहिले म्याग्दीका कृषकले आलु भण्डारण गरेका छन् । गतबर्ष सुन्तलाको सिजनमा करिब १५ सय केजी सुन्तला भण्डारण गरेका कृषकले पहिलो परीक्षणकालमा सन्तुष्ट भएका थिए । यसपटक आलुको सिजनमा सस्तोमा बजारमा बेच्नुभन्दा कोल्ड स्टोरमा राखेर बेमौसमा महँगो मूल्यमा बिक्री गर्ने गरी धमाधम भण्डारण गर्न थालेको बेनी नगरपालिकाका वडा नं ४ का वडाअध्यक्ष अण बहादुर खड्काले बताउनुभयो ।
“कोल्डस्टोर बनेपछि कृषकहरूमा खुसी छाएको छ,उहाँहरुले आफूले उत्पादन गरेका कृषि उपजलाई शीत भण्डारमा भण्डारण गरी उचित समयमा बजार पुर्याउन पाउनुभएको छ ” अध्यक्ष खड्काले भन्नुभयो । कोल्ड स्टोरमा राखेपछि निकाल्ने समयमा प्रति केजी १० रुपैयाँ शुल्क तिर्नुपर्छ । हाल कोल्डस्टोरमा सात हजार पाँचसय ५० केजी आलु भण्डारण गरिएको छ र थप तीन सय केजी आलु ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
कोल्डस्टोरमा विद्युत् आपूर्ति सहित अन्य संरचनाहरू समेत आधुनिक भएकाले परीक्षण सफल भएसँगै यसपटक म्याग्दीमा आलु उत्पादन गर्ने कृषि सहकारी, कृषकका साथै छिमेकी जिल्ला बागलुङबाट समेत भण्डारणका लागि माग गरिएको छ ।
कोल्डस्टोर करिब एक करोड ६० लाखमा निर्माण गरिएको थियो भने अन्य आवश्यक संरचनाहरु समेत थपिने बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । “कृषकलाई कोल्डस्टोर बरदान सावित हुन्छ,कृषकलाई प्रतिफल हुने गरी नगदे बालीलाई प्राथमिकता दिएका छौ” मेयर केसीले भन्नुभयो । म्याग्दी जिल्लामा सुन्तला र आलु् अत्यधिक उत्पादन हुने भएकाले सिजन बाहेक बेमौसममा विक्री वितरणका लागि सहज हुने स्थानीय बताउँछन् । कोल्ड स्टोरमा मौसम अनुसार आलु, तथा किवीका साथै अन्य नगदे बालीलाई समेत भण्डारण गर्न सकिन्छ ।
मौसमको समयमा कम मूल्य पर्ने र कोल्ड स्टोरमा राखेर बेमौसममा बिक्री गर्दा राम्रो मूल्य पर्ने हुँदा किसानलाई फाइदै फाइदा हुने भएकाले बेनी नगरपालिकाले कोल्ड स्टोरलाई बर्षैभरी प्रयोग हुने गरी तापक्रमलाई सन्तुलित बनाई राख्ने उपकरण र संरचना सहित बनाएको छ ।
नेपालमा हालसम्म कोल्डस्टोरलाई सेतो हात्ती भन्ने गरिएकोमा कृषकको फाइदा र नमुना रुपमा सञ्चालन गरी सिजनमा व्यापारीलाई बारीबाटै सस्तोमा बिक्री गर्ने कार्यको अन्त्य गर्ने बेनी नगरपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच