हाडहाडेका करिब चार सय घरमा खानेपानीका धारा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर-३, हाडहाडेका करिब चार सय घरमा खानेपानीका धारा जडान गरिएको छ । यस वडामा सञ्चालन भएको ठुलामुल लिफ्टिङ खानेपानी आयोजनाबाट व्यक्तिगत घरमा र सार्वजनिक संस्था गरी कुल ३९२ वटा धारा जडान गरिएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा निर्माण कार्य सुरु भएको यस खानेपानी आयोजना चार वर्षपछि सम्पन्नसँगै यहाँका ३८८ घरमा खानेपानी पुगेको छ । यहाँ हाडहाडेका मोटिखर्क, निन्यूखर्क, पाथ्थरपानी, अबुवा, सिर्बु, मोरमारेलगायतका टोलका नागरिक ठुलामुल लिफ्टिङ खानेपानी आयोजनाबाट लाभाम्बित भएको बताइएको छ ।

सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकीलगायतका संस्थाहरुमा पनि यसै आयोजनाको पानी जडान गरिएको छ । यस आयोजना सम्पन्न भएसँगै हाडहाडेमा कुल ५५९ घरमा धारा पुगेको छ । यसै आर्थिक वर्षमा हाडहाडेलाई ‘एक घर, एक धारा’ घोषणा गर्ने गरी आफु लागेको वडा अध्यक्ष पदमबहादुर विष्टले बताउनुभयो ।

आयोजनाको दीगो सञ्चालनको लागि उपभोक्ताहरुलाई आग्रह गर्नुहुँदै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफुहरुले निर्वाचनमा गरेको प्रतिवद्धता पुरा गर्न थालेको बताउनुभयो । सबैको घरमा खानेपानी पुगेसँगै अब पानीको उपयोग गरी आय-आर्जनतर्फ लाग्न जरुरी रहेको बताउनुभयो ।

नियमित रुपमा घरमा पानी आएपछि स्थानीयहरु निकै खुसी देखिएका छन् । चार करोड लागतमा यस ठुलामुल लिफ्टिङ खानेपानी आयोजनाको सम्पन्न भएको हो । गाउँपालिकाले वडा नम्बर-१ नयाँगाउँ, वडा नम्बर-४ जैसिथोक र वडा नम्बर-६ रजस्थल गरी तीन वडालाई ‘एक घर, एक धारा’ युक्त वडा घोषणा गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?