कविता : नाग पञ्चमीको शुभकामना !

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 2 mins

सम्झना छ कि बिर्सियौ ?
सम्झेको छ भने
ठिकैछ
बिर्सियौ भने सम्झ
आज नाग पञ्चमी हो ।

छ कि चेत गुमायौ ?
गुम्यो भने पुनः सम्झ
आज नागको
पूजा गर्ने दिन हो
नाकको होइन ।
त्यसैले तिमीलाई
यति शुभकामना
मति सपारेनौ भने
तिम्रो नाक पुजिन्न
काटिन्छ ।

तिमीमा जिम्मेवारी छ
त्यो पूरा गर
ठूला सापका अघि
दायित्व बिर्सेर
गुँडुल्की नपर
गुँडुल्की पर्‍यौ भने
बुझ तिमीप्रतिको
आश भत्किन्छ
तिमीलाई शुभकामना
बुझ्ने यही हो
नबुझे तिम्रो
बास भत्कन्छ ।

पृथ्वी कसैको पेवा होइन
सबै प्राणीको साझा हो
सबैको समान हो
मत पाएका हौ
मस्ती गर्न लाइसेन्स
पाएका होइनौ
त्यसैले
तिमीलाई शुभकामना
मति सपार ।

जैविक विविधता जगेर्नामा
नागको भूमिका जे छ
समाजको त्यही विविधता
जोगाउने जिम्मेवारी तिम्रो हो
अनि नबिर्स
विविधतामा विखण्डन ल्याउने
अधिकार तिमीलाई छैन
मुलुकको विविधता
साझा सम्पत्ति हो
तिमीलाई शुभकामना
त्यही विविधता जोगाउ ।

तिमी कर्कट भएनौ
कर्कस भयौ
तिमी तक्षक भएनौ
भक्षक भयौ
तिमी कुलीर भएनौ
कुलङ्गार भयौ
तिमी बासुकी भएनौ
असुरी बन्यौ
तिमीलाई शुभकामना
पातकी नबन ।

पद्म, महापद्मको
त अपेक्षै रहेन
तिमीलाई यति शुभकामना
जनता र मुलुक नडस
जान सर्प विषालु हुन्छ
तिमीलाई शुभकामना
जुकाले झैँ चुस्ने
पिपासु नबन  ।

तिमी बस्ने सिंहासान
शंकाको आसन हो
सर्पको बासस्थान होइन
सत्तामा पुगेपछि
नरलाई छ्यान्कल नठान
तिमीलाई शुभकामना
सर्पको झैँ फडा फिँजाएर
अनाहकमा विषवमन गर्दै
नागरिक नमार ।

-धुलाबारी, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?