अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

प्रतिकात्मक तस्वीर

काठमाडाैं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेकाे छ ।

धनुषाकाे औरही गाउँपालिका-५ हरूसाहा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५३ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विदेह नगरपालिका-७ लवटोली बस्ने २५ वर्षीय रोशन मण्डल र २५ वर्षीय रंजित मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय औरही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी, मकवानपुरकाे थाहा नगरपालिका-३ सिखरकोट बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६ किलोग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सितामडी-९ बराह बस्ने ४५ वर्षीय सुदिर सिंह र सितामडी-८ बराही चिन्तामन बस्ने ६८ वर्षीया रेनु देवी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले ना.४ ख ४५६७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा १० किलोग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ भाबर बस्ने ३५ वर्षीय राम लामा र २८ वर्षीय बिक्रम गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४३११ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी इलामकाे सुर्योदय नगरपालिका-१० फिक्कल बजारस्थित कपडा पसल संचालन गरी बस्ने सोही नगरपालिका-९ रम्फोक घर भएकी २१ वर्षीया आनिशा राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कल र सशस्त्र प्रहरी बेस क्याम्प आईतबारेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

इलामकै सुर्योदय नगरपालिका-८ छिपिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित माईजोगमाई गाउँपालिका-२ शनिश्चरे बस्ने २५ वर्षीय समिर महतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर, प्रहरी चौकी फिक्कल र सशस्त्र प्रहरी बेस क्याम्प आईतबारेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, पर्साकाे वीरगंज महानगरपालिका-१६ स्थित वीरगंज भन्सार कार्यालय अगाडिबाट नियन्त्रित लागूऔषध ट्रोमा-५० लेखिएको ४ हजार ५ सय ४ ट्याबलेटसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी सकराहा ग्राम पंचायत-९ बस्ने ३५ वर्षीय धुरेन्द्र राम र उनकी श्रीमती ३२ वर्षीया मधु देवी रहेका छन् ।  प्रहरी चौकी इनरूवा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त टोलीले भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीलेले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?